आवासीय चिकित्सकलाई जीवन निर्वाह भत्तालगायतका माग राखि नेपाल चिकित्सक सङ्घले थालेको आन्दोलनलाई समर्थन गर्दै कोशी अस्पतालमा वैशाख १२ गतेदेखि आकस्मिक बाहेकका उपचार सेवा चिकित्सकहरूले बन्द गराएका छन् ।
जसका कारण वहिरङ सेवा लिन अस्पताल पुगेका बिरामी उपचारबाट वञ्चित भएका छन् ।

नेपाल चिकित्सक सङघ, कोशी शाखाले देशभरका आवासीय चिकित्सकहरूले गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै कोशी अस्पतालमा आकस्मिक बाहेकको उपचार ०८२ वैशाख १२ गतेदेखि बन्द गराएका हुन् ।
कोशी अस्पतालको बहिरङ्ग सेवा सञ्चालन कक्षमा ताला लगाएर उपचार बन्द पारेपछि उपचारका लागि अस्पताल पुगेका बिरामी र सर्वसाधारण उपचारबाट वञ्चित हुनु परेको छ ।
चिकित्सकहरूले कोशी अस्पतालको बहिरङ्ग सेवा ठप्प हुँदा उपचारका लागि अस्पताल पुगेका बिरामी उपचारबाट वञ्चित भएका छन् ।
आवासीय चिकित्सकलाई आठौं तहका चिकित्सक सरहको सेवा सुविधा अनुरूप निर्वाह भत्ता प्रदान गर्ने निर्णय निजी मेडिकल कलेजहरूमा समेत लागू गर्नुपर्ने, चिकित्सकहरूको कार्यसमय (ड्युटी आवर) सम्बन्धी स्पष्ट र व्यवहारिक मापदण्ड निर्माण गर्नुपर्ने र देशभरका चिकित्सकहरूको भावना सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने माग राखेको छ ।
नेपाल चिकित्सक सङ्घ, कोशी शाखाले ०८२ वैशाख ११ गते सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै तत्काल माग पूरा नगरे वैशाख १२ गतेबाट उपचार सेवा ठप्प पार्ने चेतावनी दिएको थियो ।
कोशी अस्पतालमा दैनिक १ हजार बढी बिरामीले बहिरङ्ग विभागबाट सेवा लिने गरेका छन् ।
नेपालको संविधानले धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हकका रूपमा व्याख्या एवम् व्यवस्था गरेको छ ।
सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ ।