सशस्त्र द्वन्द्वको क्रममा सुरक्षाकर्मीको टोली गिरफ्तार गरी बेपत्ता पारिएका हरिबहादुर थारुको परिवारले २२ वर्षपछि ०८२ वैशाख ७ गते कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन् ।

हरिबहादुरका दाजु राधेश्याम थारुले साविक धधवार गाविस–८ हाल बारबर्दिया नगरपालिका-११, बेलभारका २० वर्षीय हरिबहादुर थारुलाई २०६० पुस २३ गते बाँके जिल्लाको साविक नेपालगञ्ज नगरपालिका-४, त्रिभुवन चोकबाट शाही नेपाली सेनाले लिएर बताउनु भयो । उहाँले भन्नुभयो – ‘भाइलाई सेनाले बाँकेकै राँझा एयरपोर्टमा रहेको आर्मी पोष्टमा लगेर राखेको थियो । त्यसपछि राँझामा रहेको आर्मी पोष्टबाट ०६० माघ २७ गते बर्दिया राष्ट्रिय निकुञ्जको पूर्वी चिसापानीमा रहेको आर्मी पोष्टमा लगेको भन्ने खबर पाएका थियौँ । भाइ २०५९ सालमा तत्कालीन विद्रोही नेकपा (माओवादी) पार्टीको पूर्णकालीन कार्यकर्ता भई राजनितिक गतिविधीमा संलग्न सक्रिय रहेको थियो । त्यसपछि बाँके बर्दियाका जिल्ला इन्चार्ज महेश्वर गहतराज (क. अथक) को अङ्गरक्षक हुँदै जनमुक्ति सेनाको सदस्यको भूमिकामा काम रहेको थिए । सोही क्रममा बाँकेको नेपालगञ्जमा ०६० पुस २३ गते तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरी बेपत्ता पारेको हो ।’
उहाँले जाडोको समय हल्का हुस्सु कुहिरो लागेको थियो । हरिबहादुर ०६० पुस २३ गते दिउँसो पार्टी कामको सिलसिलामा त्रिभुवन चोक नेपालगञ्ज पुगेका दिउँसो करिव १२ बजे एक्लै त्रिभुवनचोकमा साइकल लिएर हिँडिरहेको समयमा सेनाले राँझा आर्मी ब्यारेकको नेतृत्वको शाही नेपाली सेना र शसस्त्र प्रहरी बल रहेको संयुक्त सुरक्षा बलको, शसस्त्र प्रहरीको समूहले गिरफ्तार गरी राँझा स्थित शाही नेपाली सेनाको ब्यारेकमा लगेको बताउनु भयो । उहाँले भन्नुभयो – ‘ब्यारेकमा भाइलाई एक हप्तासम्म राखिएको थियो । त्यसपछि सम्पर्क बिहिन भएका भाइको हालसम्म अवस्था अज्ञात छ ।’
चौधरीले भन्नुभयो – ‘भाइ बेपत्ता पारिएपछि, मनोवैज्ञानिक प्रभावले हरेक चाडपर्व मनाउन कठिनाइ हुने गरेको छ । चाडपर्वहरूमा बेपत्ता भाइको यादले सताइरहन्छ । सरकारले बेपत्ताको अवस्था सार्वजनिक नगर्दा परिवारले धार्मिक संस्कार अनुसार काजक्रिया गर्न सकेका थिएनौँ । हामी सबै भाइ घर छुट्टिएका छौँ । काजक्रिया कसले गर्ने ? कसरी गर्ने ? भन्ने पनि समस्या भोग्यो । भाइ फर्किन्छ की भनेर २२ वर्षसम्म कुरेर बस्यौँ । न भाइ आफै आयो । नत सरकारले कुनै जवाफ दिएको छ । सरकारले सामाजिक न्याय र सहयोगका साथै आत्मसन्तुष्टिका लागि भए पनि अन्तिम संस्कार कार्यको लागि सहजीकरण र सहयोग गर्नुपर्थ्यो । तर वर्ष २२ पुग्दा पनि कुनै जवाफ पाउन सकेनौँ । अन्तत घर सल्लाह अनुसार भार्कोइ थारु संस्कार अनुसार कुशको शव बनाएर अन्तिम संस्कार गर्न बाध्य भयौँ ।’
सुरक्षाकर्मीले हरिरामलाई गिरफ्तार गरी बेपत्ता बनाएपछि परिवारले विभिन्न व्यक्ति र संस्थासँग बेपत्ता व्यक्तिलाई पत्ता लगाइदिन अनुरोध गरेको थियो । विभिन्न मितिमा मानव अधिकारवादी सङ्घसस्थाहरू इन्सेक, आइसीआरसी, राष्ट्रिय मानव अधिकार आयोगमा घटना दर्ता गरेका थिए । सरकारले अन्तरिम राहत हरिरामको परिवारले १० लाख रुपियाँ राहत प्राप्त गरेको छ । परिवारले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा ०७३ जेठ १५ गते उजुरी दिएको छ । बेपत्ता आयोगले पनि हालसम्म उजुरीको जवाफ दिन सकेको छैन ।



