राप्ती नगरपालिका भण्डारा नगर अस्पतालका स्वास्थ्यकर्मीले ०८२ वैशाख ७ गतेदेखि ओपिडी सेवा बन्द गर्दा सेवाग्राही मार्कामा परेका छन् । विगत सात महिना अघिदेखि तलब नपाएपछि स्वास्थ्यकर्मीहरूले ओपिडी सेवा बन्द गरेर आन्दोलनको सुरूवात गरेका हुन् ।
स्वास्थ्यकर्मीले वैशाख ३ गते राप्ती नगरपालिकाका मेयर शमशेर लामालाई ज्ञापन पत्र बुझाउँदा तलब नपाए वैशाख ७ गतेदेखि अस्पतालको सेवा ठप्प पार्ने जानकारी दिएका थिए ।
१० बेडको उक्त नगर अस्पतालको ओपिडीमा दैनिक १ सय ५० बढी बिरामीको उपचार हुँदै आएको छ । सो अस्पतालमा पाँच जना मेडिकल अफिसरसहित २५ जना स्वास्थ्यकर्मी कार्यरत छन् ।
आन्दोलित बनेका स्वास्थ्यकर्मीहरूले आकस्मिक सेवा, डेलिभरी, भिटामिन ए र जुकाको औषधि तथा भ्याक्सिन सेवालाई सुचारू राखेर ओपिडी सेवा बन्द गरेको अस्पतालका मेसु डा. विनोद रिजालले जानकारी दिनुभयो ।
राप्ती नगरपालिकामा जनप्रतिनिधिबीचको बेमेलका कारण लामो समयदेखि स्वास्थ्यकर्मीले तलब पाएका छैनन् ।
नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत आएको छोेटो समय बसेर सरूवा मागेरै जाने गरेको कारण पनि तलब नपाएका हुन् ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेले स्वास्थ्यकर्मीहरूसँग बसेर छलफलको माध्यमबाट समस्या समाधान गरिने बताउनु भयो ।