INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्णाली प्रदेशः शिक्षक आन्दोलनका कारण विद्यार्थीहरूको पठनपाठन प्रभावित !

शिाक्षक आन्दोलनका कारण कर्णाली प्रदेशका अधिकांश विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको छ । कर्णाली प्रदेश अन्तर्गतका जिल्लामा रहेका संस्थागत विद्यालयहरूमा वैशाख ३ गतेबाटै पठनपाठन सुरु भइसकेको छ भने सामुदायिक विद्यालयहरू भने आन्दोलनका कारण बन्द अवस्थामा छ । सरकारले वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको तयारी गरे पनि शिक्षक आन्दोलन केन्द्रित हुँदा भर्ना अभियान प्रभावित बनेको हो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासङ्घको नेतृत्वमा गत चैत २० गतेदेखि शिक्षकले सडक आन्दोलन गरिरहेका छन् ।

Photo21042025Jajarkot

इन्सेक डोल्पा जिल्ला प्रतिनिधि पूर्ण सार्कीका अनुसार डोल्पाका १२ हजार ७ सय जना विद्यार्थी पठनपाठनबाट प्रभावित भएका छन् । चैत्र २० गतेदेखि सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरू विभिन्न माग राख्दै काठमाडौँमा आन्दोलनरत छन् । सरकारलाई सङ्घीय शिक्षा ऐन जारी गर्न दबाब दिन डोल्पा जिल्ला लगाएत ७७ जिल्लाका शिक्षक कर्मचारीहरू काठमाडौँमा आन्दोलनमा उत्रेका छन् । डोल्पाका सामुदायिक विद्यालयमा सम्पूर्ण शैक्षिक गतिविधि ठप्प गरी आन्दोलनमा केन्द्रित भएको नेपाल शिक्षक महासङ्घका अध्यक्ष बालकृण डाँगीले जानकारी दिनुभयो । शिक्षक कर्मचारीका माग सहित पुरानो शिक्षा ऐन २०२८ लाई सम्मान पूर्वक खारेज गरी नयाँ सङ्घीय शिक्षा ऐन जारी नभएसम्म डोल्पामा कार्यरत शिक्षक कर्मचारी निरन्तर आन्दोलनमा सहभागी हुने अध्यक्ष डाँगीले बताउनु भयो । सबै शिक्षक कार्मचारीहरूलाई माग सम्बोधन नहुञ्जेलसम्म आन्दोलनमा केन्द्रित हुन निर्देशन गरिसकेको उहाँले बताउनु भयो । शिक्षकहरू आन्दोलनमा काठमाडौँमा केन्द्रित हुँदा डोल्पाका १ सय १६ ओटा सामुदायिक विद्यालयमा पठनपाठन तथा शैक्षिक गतिविधि ठप्प भएको छ । यस्तै १ सय ११ ओटा बाल विकास सहजकर्ता पनि आफ्नो माग सहित आन्दोलनमा जाँदा शैक्षिक गतिविधि ठप्प भएको छ । शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख हर्षप्रसाद चौलागाईँका अनुसार डोल्पामा दरबन्दी, स्थानीय तह, प्रदेश र सङ्घीय अनुदान गरी जम्मा १ सय ७४ जना शिक्षकहरू रहेका छन् । विभिन्न माग सहित सङ्घीय शिक्षा ऐन लागु गर्न सरकारलाई दबाब दिन काठमाडौँमा केन्द्रित हुँदा डोल्पाका १२ हजार ७ सय ४२ जना बालबालिकाको पठनपाठनमा प्रभावित भएको छ ।

इन्सेक मुगु जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार नेपाल शिक्षक महासङ्घको अनिश्चितकालीन शैक्षिक हड्तालको कारण जिल्लाको नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ । नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना अभियान ०८२ वैशाख २ गतेदेखि सुरु भए पनि शिक्षकहरूको आन्दोलनका कारण सुरु हुन सकेको छैन । भर्ना अभियान सञ्चालन नहुँदा जिल्लाका बालबालिकाहरू भर्ना हुन र निःशुल्क वितरण हुने पाठ्य पुस्तक वितरण हुनबाट वञ्चित हुन पुगेका छन् । लामो समयसम्म शिक्षकहरूले आफ्नो अधिकार खोज्दै गर्दा बालबालिका स्वतन्त्र पूर्वक पठन पाठन गर्न अधिकारबाट वञ्चित हुन पुगी बालबालिकाको शैक्षिक अधिकार हनन् भएको सरोकारवालाहरूको गुनासो रहेको छ ।

इन्सेक हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार शिक्षक अन्दोलनका कारण विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । नयाँ शैक्षिक सत्र गत फागुन २ गतेबाट सुरु भएको हुम्लामा १९ दिनदेखि पठनपाठन ठप्प भएको हो । काठमाडौँ केन्द्रित नेपाल शिक्षक महासङ्घको आन्दोलनलाई समर्थन गर्दै हुम्लाका शिक्षकले जिल्लामा आन्दोलन जारी राख्दै आएका कारण विद्यालयहरूमा पठनपाठन ठप्प भएको छ । जिल्लामा शिक्षकले आन्दोलन गर्दा जिल्लाभर पठनपाठन ठप्प भएको नेपाल शिक्षक सङ्घका केन्द्रीय उपमहासचिव कालीबहादुर शाहीले बताउनु भयो । सरकारले समयमै महासङ्घले राख्दै आएका माग सम्बोधन नगरेका कारण जिल्लामा पठनपाठन बन्द भएको उहाँले बताउनु भयो । गत चैत २० गतेदेखि हुम्ला जिल्लाका शिक्षकले आन्दोलन गर्दा पनि सरकारले शिक्षकका माग पूरा गर्ने कुनै छाँट नदेखाएको भन्दै हुम्लाका शिक्षकले आन्दोलन जारी राख्दै आएका छन् । दैनिक दिन र्‍यालीसँगै शिक्षा विकास तथा समन्वय इकाइमा पुगेर धर्ना गर्दै आएका छन् । चैत २० गतेबाट हुम्लाका शिक्षकले लगातार आन्दोलन गर्दै आएका हुन् । सडकमार्ग चैत २५ गतेबाट बन्द भएको छ भने हवाईमार्ग नियमित नभएकाले काठमाडौँ जान नपाएको भन्दै शिक्षकले आन्दोलन गरेर समर्थन गरिरहेको बताएका छन् । शिक्षक आन्दोलितका कारण जिल्लाका १ सय १८ आधारभूत र २८ माध्यमिक विद्यालयका २० हजार भन्दा बढी विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख योगेश आले मगरले बताउनु भयो ।

इन्सेक जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार जिल्लामा शैक्षिक सत्र अगावै सामुदायिक तथा निजी विद्यालयका लागि पाठ्यपुस्तक आइपुगे पनि शिक्षकको आन्दोलनका कारण विद्यार्थीहरूको पठनपाठनमा प्रभावित भएको छ । शैक्षिक सत्र अगाबैबाट विद्यार्थी भर्ना अभियानलाई सरकारदेखि विद्यालय तहसम्म निकै प्राथमिकताका साथ हेर्ने गरिए पनि आन्दोलनका कारण पुरा हुन सकेको छैन । अहिले सबैतिर सुनसान छ । निजी विद्यालयहरूले भर्ना र कक्षा समेत सञ्चालन गरिसकेका छन् । कक्षा कोठामा पढ्ने विद्यार्थी शिक्षक आन्दोलनका कारण सडकहरूमा भौँतारिनुपर्ने अवस्थामा रहेको अभिभावकहरूको गुनासो छ ।

इन्सेक कालिकोट जिल्ला प्रतिनिधि कालिबहादुर मल्लका अनुसार शिक्षकहरूको आन्दोलनका कारण जिल्लामा विद्यालय भर्ना अभियान प्रभावित भएको छ । भर्ना अभियानका कुनै पनि औपचारिक कार्यक्रम हुन सकेका छैनन् भने सामुदायिक विद्यालयमा नयाँ विद्यार्थी भर्नाका लागि घरदैलो कार्यक्रम हुन नसकेको स्थानीय अभिभावक बताउँछन् । शिक्षक आन्दोलनले भर्ना कार्यक्रममा समस्या परे पनि विद्यालयहरूले भर्नाका लागि अनौपचारिक रूपमा गतिविधि गरिरहेका छन् ।

इन्सेक दैलेख जिल्ला प्रतिनिधि अमरबहादुर सुनारका अनुसार शिक्षा ऐनको माग राख्दै देशभरका शिक्षकहरूले काठमाडौँमा सञ्चालन गरेको आन्दोलनले दैलेख विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ । १ सय १२ माध्यमिक र ३ सय ५७ आधारभूत समेत ४ सय ६९ विद्यालयहरूमा विद्यार्थी भर्ना अभियान पूर्ण रूपमा ठप्प भएको शिक्षा विकास तथा समन्वय इकाइ दैलेखका कार्यालय प्रमुख रमेश मल्लले जानकारी दिनुभयो । ‘आन्दोलन केन्द्रमा चलिरहेको र प्रधानमन्त्री आग्रह नमानेको शिक्षकहरूलाई हामीले अनुरोध गरेर नहुने त्यसो भएर हामीले पनि विद्यार्थी अभियान चलाउन भनेको छैनौँ’ – कार्यालय प्रमुख मल्लले भन्नुभयो । शिक्षकहरूको माग पूरा गर्न सरकारले पहिले गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने र शिक्षा ऐन ल्याउन राखिएको मागबाट आफूहरू पछि नहट्ने नेपाल शिक्षक सङ्घका कर्णाली प्रदेश महासचिव कृष्ण थापाको टिप्पणी छ ।

Photo21042025Dailekh

इन्सेक जाजरकोट जिल्ला प्रतिनिधि बासुदेव शर्माका अनुसार शिक्षक आन्दोलका कारण विद्यालय सुनसान भएका छन् । शैक्षिक सत्र शुरु भएको एक हप्ता बितिसक्दा पनि विद्यालय बन्द भएपछि विद्यार्थी भर्ना र हातमा पाठ्यपुस्तक पाउनबाट बालबलिका वञ्चित भएका छन् । नयाँ शैक्षिक सत्रमा विद्यालय बन्द गरी आन्दोलनमा शिक्षा गएपछि भर्ना अभियान प्रभावित भएको छ । भेरी नगरपालिका–१३, भगवती माध्यामिक विद्यालयका छात्रा युनिका न्यौपानेले काडमाडौँमा शिक्षकको आन्दोलन, विद्यालयको कोठामा पाठ्यपुस्तक, विद्यार्थी भर्ना हुनबाट वञ्चित भएपछि नयाँ शैक्षिक सत्रको भर्ना अभियानले सार्थकता पाउन नसकेपछि विद्यार्थी समस्यामा परेको बताउनु भयो । समयमा पुगेका पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्न नसक्दा पठनपाठनमा ढिलाइ भएको छ । भगवती माधयामिक विद्यालयकी छात्रा सत्यदेवी खत्रीले नयाँ शैक्षिक सत्र शुरु भएको एक हप्तासम्म विद्यालयको ढोका बन्द भएपछि भर्ना अभियानसगै पढाई प्रभावित हुने बताउनु भयो । सरकारले गरिब, दलित, विपन्न, सिमान्तकृत, जोखिममा परेका बालबालिकाले शिक्षा पाउन भनि सञ्चालन भएका सामुदायिक विद्यालयको लापर्वाही नीजी विद्यालयका सञ्चालनको दौडधुप बढेको छ । सामुदायिक विद्यालयले भर्ना अभियानलाई अघि नबढाएपछि नीजी विद्यालयका सञ्चालन बालबालिका माग्दै घरदैलो गर्न थालेका छन् । सामुदायिक विद्यालयले भर्ना अभियानलाई चासो नदिएपछि विद्यार्थी भर्ना दर घट्ने अनुमाण गरिएको छ । विद्यालयले भर्ना अभियानलाई बेवास्ता गरेकाले आन्दोलनबाट फर्किएका सामुदायिक विद्यालयका शिक्षकले विद्यार्थी नपाउने अवस्था आएको छ ।

इन्सेक रुकुम पश्चिम जिल्ला प्रतिनिधि बासुदेव शर्माका अनुसार शिक्षकका आन्दोलनले पढाइ प्रभावित भएको छ । शैक्षिक सत्र शुरु भएको एक हप्ता वितेपनी रुकुम पश्चिमा सामुदायिक विद्यालय सञ्चालन नहुँदा विद्यार्थीले सास्ती पाएका छन् । वैशाख २ गतेदेखि वैशाख १५ गतेसम्म विद्यार्थी भर्ना र हात हातामा पाठ्यपुस्तक पाउनबाट बालबलिका वञ्चित भएका छन् । गत चैत २० गतेदेखि आन्दोलनमा शिक्षक गएपछि विद्यालयको ढोला नखुलेका कारण विद्यार्थी भर्ना अभियान प्रभावित हुनुका साथै समयमा पाठयपुस्तक नपाएपछि विद्यालय जानबाट विद्यार्थी वञ्चित भएका छन् । विद्यालय नखुलेका कारण बालबालिका भर्ना अभियान अलपत्र परेपछि विद्यालयमा पाठ्यपुस्तक थन्किएका छन् । वैशाख दोस्रो हप्तासम्म भर्ना अभियानसँगै विद्यार्थीले पाठयपुस्तक पाउने समयमा अनिश्चितकालकोे शिक्षकको आन्दोलनका कारण विद्यालय बन्द भएपछि विद्यार्थीको मर्कामा परेका छन् । आठबीसकोट नगरपालिका–८ का हरिप्रसाद रिजालले शिक्षकको आन्दोलनले सामुदायिक विद्यालय बन्द हुँदा विद्यार्थीलाई पठनपाठनमा समस्या भएको बताउनु भयो ।

इन्सेक सल्यान जिल्ला प्रतिनिधि जगतदल जनाला विकका अनुसार शिक्षकहरूको आन्दोलनले सल्यानमा विद्यार्थी भर्ना अभियान ठप्प भएको छ । जिल्लाभरका ४ सय ४३ भन्दा बढी सामुदायिक विद्यालय रहेकोमा अधिकांशमा हालसम्म नयाँ भर्ना हुन सकेका छैनन् । यसले गर्दा करिब ६५ हजार विद्यार्थी अझै पनि विद्यालय प्रवेश पर्खिरहेका छन् । सरकारले नयाँ शैक्षिक सत्रको प्रारम्भसँगै देशभर भर्ना अभियान सुरु गर्ने योजना अघि सारे पनि शिक्षकहरु सङ्गठित भएर आन्दोलनमा उत्रिएपछि सल्यानमा पनि अभियान प्रभावित भएको हो । अहिले विद्यालय औपचारिक रूपमा खुलेका छन । तर, शिक्षकहरूको उपस्थिति न्यून भएकाले भर्ना अभियान र शिक्षण सिकाइ प्रक्रिया अघि बढ्न सकेको छैन । कतिपय ठाउँमा प्रधानाध्यापक तथा केही शिक्षक विद्यालयमा देखिए पनि विद्यार्थीलाई भर्ना गराउने, वर्ग विभाजन गर्ने, कक्षा सञ्चालन गर्ने जस्ता काम रोकिएको छ । शिक्षक महासङ्घले भने शिक्षकहरूको माग सम्वोधन नहुँदा सम्म विद्यालय नखोल्न आग्रह गरेको छ । भर्ना अभियान ठप्प भएपछि अभिभावक पनि अन्योलमा परेका छन् । कतिपय विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूले विद्यार्थी भर्ना अभियान अघि बढाउन इच्छुक देखिन्छन्, तर उनीहरू पनि दोधारमा छन् । सल्यान सदरमुकाममा रहेको त्रिभुवन जन माध्यामिक विद्यायलका प्रधानाध्यापक माधव जिसीले शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना रोकिएको छ । अभिभावकहरूले आफ्ना बालबालिकालाई भर्ना गर्न र विद्यार्थीहरू भर्ना हुन आइरहेको तर केही शिक्षक आन्दोलनमा भएका कारण समस्या भएको छ ।

Photo21042025Salyan

सिद्धकुमाख गाउँपालिका–३ मा रहेको निराजन माध्यामिक विद्यालयका प्रधानाध्यापक धर्मराज घर्तीले अहिले विद्यार्थी भर्नाभन्दा पनि शिक्षकहरू आन्दोलन केन्द्रित भएकाले तत्काल भर्ना अभियान रोकिएको बताउनु भयो । उहाँका अनुसार आफूहरू पनि आन्दोलनमा सरिक हुन काठमाडौँ जान लागेको बताउनु भयो । ‘विद्यार्थी भर्ना गर्न मन छ । विद्यालय खोल्न चाहेको छु । तर शिक्षकका माग सम्बोधन गर्न सरकार तयार छैन । शिक्षक महासङ्घले विद्यालय बन्द गरेर आन्दोलनमा साथ दिन भनेको छ । यस वर्ष झन् हाम्रो विद्यालयमा सस्थागत विद्यालयका बालबालिका भर्ना हुन आउँदै थिए । हाम्रा माग सरकारले सुन्दैन । यस्तो तरिकाले त सामुदायिक विद्यालयका विद्यार्थी समेत संस्थागत तिर जाने देखियो’ – उहाँले भन्नुभयो । प्रधानाध्यापक र शिक्षकहरू काममा फर्कने कि आन्दोलनमा जाने भन्ने दोधारमा परेको उहाँले बताउनु भयो । विद्यालय नखुलेपछि बालबालिका सडक र खेतबारीतिर डुलिरहेका छन् । शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै आन्दोलन चर्काएका छन् । उनीहरू आन्दोलनरत शिक्षक महासङ्घको नेतृत्वमा छन् । कतिपयले विद्यालय बन्द गरी र्‍यालीमा समेत सहभागी भइरहेका छन् । स्थानीय तहले भने भर्ना अभियानलाई सफल भनाएर पठनपाठन सञ्चालन गर्न आग्रह गरेको छ । शारदा नगरपालिकाले शैक्षिक भेला बोलाएर विद्यार्थीहरूको भविष्यमा खेलवाड नगरी भर्ना अभियान छिटो सक्न आग्रह गरेको छ । नगर प्रमुख प्रकाश भण्डारीले शिक्षालाई गुणस्तरीय र विश्वसनीय बनाउने दिशामा नगर सरकार प्रतिबद्ध रहेको र अझ उत्साहका साथ काम गरिरहेकाले सबैको सहकार्य अपरिहार्य रहेको बताउनु भयो । उहाँले बिद्यार्थी भर्ना सँगै शैक्षिक गतिविधिलाई अगाडी बढाउन आग्रह गर्नुभयो । दार्मा गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रमोद बिष्टका अनुसार भर्ना अभियान सञ्चालनका लागि कार्यक्रम बनाएका तर शिक्षकहरू आन्दोलनमा भएका कारण भर्ना अभियान सफल हुन नसकेको बताउनु भयो । अभियान सफल नभए पनि विद्यार्थीहरू विद्यालयमा आएर भर्ना भइरहेको बताउनु भयो । उहाँका अनुसार सबै विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको समेत बताउनु भयो ।

इन्सेक सुर्खेत जिल्ला प्रतिनिधि जगतदल जनाला विकका अनुसार सामुदायिक विद्यालयमा यस वर्षको नयाँ विद्यार्थी भर्ना अभियान प्रभावित बनेको छ । सरकारले शैक्षिक सत्र २०८२ को भर्ना अभियान सञ्चालन गर्न स्थानीय तह र देशभरका विद्यालयलाई परिपत्र गरेको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै १३ दिनदेखि आन्दोलनरत शिक्षकका कारण विद्यार्थी भर्ना अभियान प्रभावित बनेको हो । आन्दोलनका कारण विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरणलगायत शैक्षिक गतिविधिहरू पूर्ण रूपमा ठप्प बनेका छन् । विगतका वर्षमा अभियानअन्तर्गत बालबालिकाहरूलाई विद्यालय पठाउन आह्वान गर्दै सन्देश प्रसारणदेखि घरदैलो अभियानसम्म सञ्चालन गर्नेसम्मका कार्ययोजना बनाइएको हुन्थ्यो । सोही बमोजिम विद्यालयहरूले विद्यार्थी भर्नालाई अभियानकै रूपमा सञ्चालन गर्ने गरेका थिए । विद्यालय शिक्षा ऐन ल्याउन माग राख्दै शिक्षकहरू काठमाडौंको माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा आन्दोलन गरिरहेका छन् । शिक्षक आन्दोलनका कारण कर्णालीमा पनि भर्ना अभियानलगायतका शैक्षिक गतिविधि ठप्प छन् । भर्ना अभियानको समयमा विद्यार्थी तथा अभिभावकको निकै भिड हुने सुर्खेतको जन नमुना माध्यमिक विद्यालय यतिबेला सुनसान छ । जन मावि मात्रै होइन, वीरेन्द्रनगरका कुनै पनि विद्यालयमा शैक्षिक गतिविधि भएका छैनन् । शिक्षक आन्दोलनका कारण भर्ना अभियान तथा पाठ्यक्रम वितरणलगायतका गतिविधि ठप्प रहेको जन नमुना माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइरालाले जानकारी दिनुभयो । शिक्षकहरू विद्यालयमा नफर्केसम्म शैक्षिक गतिविधि प्रभावित हुने स्थिति बनेको उहााले बताउनु भयो । वीरेन्द्रनगरमा विद्यार्थीको बढी चाप हुने अन्य विद्यालयको पनि हालत उस्तै छ । सुर्खेतको बराहताल गाउँपालिका–८ को भट्टेघारीमा रहेको भैरव आधारभूत विद्यालयमा पनि भर्ना अभियान सुरु भएको छैन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर हमालका अनुसार आन्दोलनका कारण शिक्षकहरू विद्यालयमा नआएपछि भर्ना अभियान प्रभावित बनेको छ ।

यस्तै, बराहताल गाउँपालिका–४ स्थित भेरी माध्यमिक विद्यालयले सूचना जारी गर्दै भर्ना अभियान सञ्चालन नहुने बताएको छ । विद्यालय बन्द भएपछि सामुदायिक विद्यालयका पाठ्यपुस्तक वीरेन्द्रनगरमै थन्किएका छन् । सामुदायिक विद्यालयका पाठ्यपुस्तक बिक्री गर्दै आएको वीरेन्द्रनगर स्थित आफ्नो पुस्तक पसलका व्यवस्थापक तिलक सुवेदीले अधिकांश विद्यालयले पाठ्यपुस्तक खरिद नगरेको बताउनु भयो । सामुदायिक विद्यालयका पाठ्यपुस्तक छपाइदेखि वितरणसम्मको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका अनुसार कर्णालीका १० ओटै जिल्लामा ७० प्रतिशतभन्दमा बढी पुस्तक पुगिसकेका छन् । यद्यपि, विद्यालयहरूले जिल्लास्थित बिक्रेताबाट खरिद नगर्दा पाठ्यपुस्तक गोदाममै थन्किएका छन् । शिक्षकका माग सम्बोधन गर्न सरकारले पटक–पटक प्रतिबद्धता जनाए पनि शिक्षकहरू विद्यालय फर्कन तयार भएका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकका माग आगामी बजेट अधिवेशनबाट पूरा हुने बताउँदै भर्ना अभियानलाई सफल बनाउन आग्रह गरे पनि शिक्षकहरूले मानेका छैनन् । जसका कारण सामुदायिक विद्यालयको साख गिर्ने जोखिम बढेको जानकारहरू बताउँछन् । सामुदायिक विद्यालयमा भर्ना अभियान बन्द हुँदा नयाँ भर्ना हुने विद्यार्थीहरू निजी विद्यालय जानुपर्ने बाध्यता उत्पन्न भएको छ । शिक्षक आन्दोलनकै कारण ११ वैशाखबाट हुने कक्षा १२ को परीक्षा र कक्षा ८ को पुनर्योग पनि प्रभावित बन्ने देखिन्छ । शिक्षक आन्दोलनले भर्ना अभियानलाई त्यति असर नगर्ने तर एसईई र कक्षा १२ को परीक्षामा भने ठूलो असर पर्ने उहाँले बताउनु भयो । एसइइ र कक्षा १२ को परीक्षा विद्यार्थीको भाग्य र भविष्यसँग जोडिएकाले तत्काल शिक्षकका माग सम्बोधन हुने विश्वसनीय आधार सिर्जना गर्न सरकारले कदम चाल्नुपर्नेमा उहाँको जोड छ ।

Photo21042025Surkhet

अन्य

भिडियो