INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाकी पीडितद्वारा आत्महत्या गरेको घटनाको इन्सेकद्वारा अनुगमन

Photo 202504120 Siraha (4)

नरहा गाउँपालिका-१ घर भई माइती गाउँ नवराजपुर गाउँपालिका-३ मा बस्ने १८ वर्षीया बलात्कार प्रयास घटनाकी पीडित आन्नदी कुमारी सदायले ०८२ वैशाख २ गते घरमै आत्महत्या गरेको घटनाको इन्सेक र अधिकारकर्मीहरूको टोलीले ०८२ वैशाख ६ गते अनुगमन गरेको छ ।

इन्सेक मधेश प्रदेश कार्यालयका संयोजक राजु पासवान, इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियार, महिला मानव अधिकार रक्षक सञ्जालकी राष्ट्रिय अध्यक्ष श्यामकुमारी साह र दलित महिला संघ धनुषाका संयोजक सिजेन्द्र सदा लगायतको संयुक्त टोलीले स्थलगत अनुगमन गरेको हो ।

Photo 202504120 Siraha (6)

अनुगमनको क्रममा टोलीले मृतक आन्नदीका बुबा जोगेन्द्र सदा, आमा बिल्टौन सदा, दिदी र भाउजुहरूसँग भेटघाट गरी घटनाबारे जानकारी लिएका थिए । मृतकका बुबा जोगेन्द्र सदाले नवरजापुर गाउँपालिका-३ का २५ वर्षीय सन्जिप यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले ०८१ पुस ९ गते दिदीको घर जाँदा बाटोमा घेरा हालि बलात्कार प्रयास गरेको बताउनु भयो । बाटोबाटै रुदै घरमा आई घटनाबारे जानकारी गराएपछि तत्काल वडा अध्यक्षकोमा गएपछि उहाँले प्रहरीमा जान भन्नु भयो । हामी इलाका प्रहरी कार्यालय महेशपुर पतारमा सोही दिन गएर उजुरी दिएको जोगेन्द्र सदा बताउनु भयो । प्रहरीले उजुरी लिएर म बोलाउछु अनी आउनु भनेर पठाए । हामी घरमा आयौं प्रहरीले नबोलाए पछि पुनः पतार प्रहरीमा गयौँ । प्रहरीले मुद्दा दर्ता भएको चिट दिएर पठाउनु भयो । घर नपुग्दै प्रहरीले कार्यालय बोलाएर चिट च्याति दिए र हप्काएर पठाएको मृतकका बुबाले बताउनु भयो । फागुन २२ गते पालिकामा भएको एउटा कार्यक्रममा उपस्थित संघ संस्थाका पदाधिकारीहरूलाई घटनाबारे जानकारी गराए र न्यायका लागि पहल गरिदिनुहुन अनुरोध गरेपछि उहाँहरूको पहलमा सोही दिन प्रहरीले मुद्दा दर्ता गरे तापनि आरोपितहरूलाई गिरफ्तार नगरेको जोगेन्द्रले बताउनु भयो । साथै मुद्दा फिर्ता लिन आरोपित पक्षबाट आएको दबाब र लाजले छोरीले आत्महत्या गरेको उहाँ बताउनु भयो ।

अनुगमनको क्रममा टोलीले इलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्स्पेक्टर रविनराज मैनालीसँग भेटघाट गरी घटनाको बारेमा जानकारी दिएका थिए । इन्स्पेक्टर मैनालीले घटनाको जानकारी ०८१ पुस ९ गते बेलुका भएको र प्रकृया पुरा गर्दै गर्दा रात परेकोले बिहान स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल सिरहा पठाएको बताउनु भयो ।

त्यसैगरी, स्वास्थ्य परीक्षणको प्रतिवेदन नआएको र जिल्ला प्रहरी कार्यालय, सिरहाका एसपी रमेश पण्डितले पीडित र आरोपित पक्षबीच विवाद भएकोले आरोपित पक्ष म कहाँ आएकोले पीडित पक्षलाई पनि म कहाँ पठाइ दिनु बुझेर अनि मात्र पीडितको उजुरी दर्ता गर्न आदेश दिएपछि केही दिन रोकिएको उहाँले अनुगमन टोलीलाई जानकारी दिनु भयो । साथै पीडितको स्वास्थ्य परीक्षणको प्रतिवेदन आएपछि उजुरी दर्ता गरेको इन्स्पेक्टर मैनालीले बताउनु भयो । आरोपितहरुलाई खोज तलास गरी रहे पनि आरोपितहरु फरार रहेकोले गिरफ्तार गर्न नसकेको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी अन्नतराम शर्माका अनुसार प्रहरीले उजुरी आउनासाथ मेडिकल गराएर अनुसंधान प्रकृया शुरु गरेको थियो । आरोपितहरु भारतमा भएकोले समयमा गिरफ्तार गर्न नसकेको बताउनु हुँदै प्रकृया पुरा गरेर भारतबाट ल्याउन पहल गर्छु एसपी शर्माले बताउनु भयो ।

सोही क्रममा नवराजपुर गाउँपालिकाका अध्यक्ष शिवउदगार यादवले यस पालिकामा मानव अधिकार उल्लङ्घनका घटनाहरू बारम्बार भएकोले उपस्थित संघ संस्थाका पदाधिकारीहरू र मानव अधिकारकर्मीहरू जनचेतना मूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नु भयो ।

इन्सेक मधेश प्रदेशका संयोजक राजु पासवानले प्रहरीले समयमै घटनाको जानकारी पाएर पनि अनुसन्धान नगरी माथिल्लो निकायको आदेशमा दर्ता प्रकृया रोकी गाउँमै भएको बेला पनि आरोपितहरूलाई गिरफ्तार गर्न नसक्नुका कारण पीडित सदायले आत्महत्या गरेको देखिन्छ । दलित, गरीब तथा विपन्न समुदायका महिलाहरूको मुद्दामा प्रहरी प्रशासन सजग नभएको र दबाबमा मात्र काम गर्ने प्रवृतीले दण्डहिनता बढेको बताउनु भयो ।

महिला मानवअधिकार रक्षक सञ्जालकी राष्ट्रिय अध्यक्ष श्याम कुमारी साहले दलितहरूको मुद्दामा राजनीति हुने, प्रहरी माथि दबाब हुने र प्रहरीले दबाब थेग्न नसकेर मुद्दाहरू कमजोर बनाउने प्रवृती बढेको बताउनु भयो । समाजले पनि घटनाहरूलाई मिलाउन, लुकाउन लागि परेकोले महिला तथा बालबालिकाहरू माथि हुने यौनजन्य हिंसाहरू बढी रहेको साहले बताउनु भयो । प्रहरीले पनि प्रहरीमा आएका घटनाहरूलाई कसैको दबाव वा प्रभावमा नपरी निष्पक्ष अनुसन्धान गरी सत्य तथ्यको आधारमा दोषीलाई कारवाहीको प्रकृयामा ल्याउनु पर्ने बताउनु भयो ।
Photo 202504120 Siraha (2)

Photo 202504120 Siraha (3)

अन्य

भिडियो