INSEC Online

📅 २०८३ जेष्ठ २१

उपचारमा अस्पतालले लापर्वाही गरेको भन्दै अदालतद्वारा १५ लाख क्षतिपूर्ति भराउन आदेश

सुर्खेत जिल्ला अदालतले ०८० चैत २९ गते कर्णाली प्रदेश अस्पतालमा मृत्यु हुनुभएकी २२ वर्षीय भिमा गुरुङ बलामीको उपचारमा अस्पतालले लापर्वाही गरेको ठहर गर्दै पीडित परिवारलाई १५ लाख रुपियाँ क्षतिपूर्ति दिन आदेश दिएको छ ।

घटनाको एक वर्षपछि ०८२ वैशाख ३ गते सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासबाट मृतकका पति र छोरीले प्रतिवादीहरूबाट १५ लाख रुपियाँ क्षतिपूर्ति भराइ पाउने अन्तिम फैसला आएको अदालतका सूचना अधिकारी उज्जलदेव रावलले जानकारी दिनुभयो ।

भिमाका ससुरा धनबहादुर मगरले उपचारका क्रममा भएको त्रुटी, हेलचेक्राईं र लापर्वाहीबाट नै मृत्यु भएको र क्षतिपूर्ति भराइ पाउँ भन्दै ०८१ वैशाख १७ गते प्रदेश अस्पताल, अस्पतालका तत्कालीन निर्देश डम्बर खड्का र उपचारमा संलग्न डाक्टर ललितजंग शाहीविरुद्ध अन्तरकालीन आदेशको माग गर्दै मुद्दा दायर गराउनुभएको थियो । ०८१ वैशाख २१ गते उक्त मुद्दा उपर सनुवाई गर्दै भिमाको शव परीक्षण (पोष्टमार्टम) फरेन्सिक मेडिसिनका विशेषज्ञबाट गर्न अदालतको आदेश थियो । पछि फरेन्सिक विशेषज्ञ डा. हरिहर बस्ती सुर्खेत आएर पोष्टमार्टमको नमुना सङ्कलन गरी नेपालगञ्ज मेडिकल कलेजमा पठाएका थिए । सोही रिपोर्टलाई अदालतले आधार मानेको छ । फैसलापछि भिमाका पति नवराज बलामीले चिकित्सकको लापर्वाहीले भएको घटनालाई अदालतले न्याय दिएको बताए । चिकित्सकले गरेको लापरवाहीका कारण मेरी पतिको ज्यान गयो । आठ महिनाकी छोरीलाई टुहुरो बनाइयो । हामीमाथि भएको अन्याय विरुद्ध हामी अदालतमा गयौँ। ढिलै भए पनि अदालतले न्याय दिएको छ’ – नवराजले भन्नुभयो ।

तल्लो पेट दुखेपछि ०८० चैत २६ गते दैलेखको आठबीस नगरपालिका-५, पिपलकोटकी २२ वर्षीया भिमा गुरुङ बलामी दैलेखबाट सुर्खेत जानुभएको थियो । आठ महिनाकी दुधे छोरी काखमा च्यापेर उपचारका लागि सुर्खेत स्थित एक मेडिकलमा जानुभयो । चेकजाँच गर्दा पाठेघरमा बच्चाको सालनाल रहेको भन्दै मेडिकलले कर्णाली प्रदेश अस्पतालमा रेफर गरेको थियो । चैत २७ गते प्रदेश अस्पतालमा पुगेर भिमाले चिकित्सकलाई देखाउनु भयो । चिकित्सकले पाठेघरमा सफा गर्न अप्रेसन गर्नुपर्ने भन्दै चैत २८ गते बोलाउनुभयो । रगत लगायत अप्रेसनमा चाहिने सामग्रीको बन्दोबस्त नवराजले गर्नुभयो । चिकित्सकको लापर्वाहीले बिरामीको मृत्यु भएको नवराजले बताउनुभएको थियो ।

अन्य

भिडियो