INSEC Online

📅 २०८३ जेष्ठ २२

अस्पतालको बोर्ड तोडफोड गरेको घटनाका आरोपित गिरफ्तार

हेटौँडा अस्पतालको बोर्ड तोडफोड गरेको आरोपमा प्रहरीले ०८२ वैशाख ४ गते ६ जनालाई गिरफ्तार गरेको छ । केही व्यक्तिहरू अस्पताल परिसरमा आई ०८१ चैत ३१ गते बिहान साढे १० बजे अस्पतालको बोर्ड तोडफोड गर्नुका साथै हेटौँडा अस्पतालको बोर्डमा भएको मदन भण्डारी प्रतिष्ठानको नाम समेत मेटाएको भन्दै अस्पताल प्रशासनले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

Photo Makawanpur-20820105

प्रहरीले खोजी गरिरहेका ६ जना ०८२ वैशाख ४ गते आफैं प्रहरीको सम्पर्कमा आएका थिए। जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा आएका हेटौँडा उपमहानगरपालिका–५ का ४० वर्षीय विशालराज महत, वडा नं ४ का ५० वर्षीय सुनिल गिरी,  वडा नं ७ का ४० वर्षीय सफल अधिकारी,  मकवानपुरगढी–५ का ३८ वर्षीय राजकुमार घिमिरे, ३२ वर्षीय अस्मित अधिकारी र ३५ वर्षिय समुन्द्र दाहाललाई प्रहरीले गिरफ्तार गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेको डिएसपी श्यामु अर्यालले बताउनु भयो ।

घटनमा संलग्न भएको आरोपमा गिरफ्तार भएका विशाल, राजकुमार, अस्मित र समुन्द्र राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य हुन् भने सुनिल गिरी नेपाल तरुण दल हेटौँडा उपमहानगर समितिको अध्यक्ष हुन् । यस्तै सफल अधिकारी नेकपा एकीकृत समाजवादी हेटौँडा उपमहानगर कमिटीको सचिव हुन् ।

यसअघि प्रहरीले अस्पतालमा तोडफोड गर्न जाँदा प्रयोग भएको म्याजिक भ्यान पनि वैशाख २ गते नियन्त्रणमा लिएको थियो ।

साविक जिल्ला अस्पतालको रूपमा सञ्चालित हेटौँडा अस्पताल सङ्घीयता कार्यान्वयनमा आएपछि बागमती प्रदेश सरकार अन्तर्गतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत राख्ने निर्णय भएको थियो ।

प्रतिष्ठान मातहत रहने गरी हेटौँडा अस्पताललाई आगामी दिनमा शिक्षण अस्पतालको रूपमा विकसित गर्ने योजनासहित भौतिक पूर्वाधार विकास,  सेवा विस्तार लगायतको कार्य भइरहँदा हेटौँडा अस्पताल र प्रतिष्ठानलाई अलग गर्नुपर्ने भन्दै केही राजनीतिक दल, भातृ सङ्गठनसहित विभिन्न समूहले बेला–बेलामा आवाज उठाउँदै आएका छन् ।

सोही समूहद्वारा अस्पतालको बोर्डमा उल्लेख भएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मदन भण्डारी मेटाउने काम भएको थियो ।

सरकारी सम्पत्तिमा बलजफती गरी तोडफोड गर्ने तथा नाम मेटाउने कार्य गरेको भन्दै गरफ्तार गरिएकाहरूलाई सार्वजनिक अपराधमा मुद्दा अघि बढाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अन्य

भिडियो