म्याग्दी जिल्लाको पछिल्लो तथ्याङ्कको विश्लेष्ण गर्दा स्वास्थ्यकर्मीहरु नै स्वास्थ्य बीमा कार्यक्रममा नजोडिएको पाइएको छ ।
स्वास्थ्य बीमा बोर्ड म्याग्दीका प्रमुख उपेन्द्र बरालका अनुसार जिल्लामा रहेका ४७ प्रतिशत महिला स्वास्थ्य स्वयंसेवीकाहरु नै स्वास्थ्य बीमा कार्यक्रममा नजोडिएको हो । म्याग्दीमा रहेका ३ सय ७२ मध्ये १ सय ९८ जना मात्रै स्वास्थ्य बीमामा जोडिएका छन् । सरकारले समुदायस्तरमा खटिने महिला स्वास्थ्य स्वयंसेविकाको परिवारलाई निःशुल्क रुपमा स्वास्थ्य बीमाको सुविधा दिएको भए पनि अहिलेसम्म जिल्लामा खटिएका मध्ये ४७ प्रतिशत हाराहारीले सेवा प्रयोग नै गरेका छैनन् ।
म्याग्दीमा चालु आर्थिक वर्ष २०८१÷०८२ को हालसम्म १४ हजार ६ सय २४ परिवारका ४० हजार छ सय ४८ जनाले स्वास्थ्य बीमा गरेका छन् । म्याग्दीमा प्रदेश अस्पताल बेनी र आधारभूत अस्पताल दरबाङबाट स्वास्थ्य बीमा कार्यक्रमको सेवा लिन सकिन्छ । चालु आर्थिक वर्षको चैत २४ गते सम्मको तथ्याङ्क अनुसार जिल्लामा स्वास्थ्य बीमाको नवीकरण दर ७२ प्रतिशत छ । अति गरिब बीमित सङ्ख्या २२, ज्येष्ठ नागरिकहरु ६ हजार ३ सय ९६ जनाले सेवा लिइरहनु भएको छ । ९२ जना एचआइभी संक्रमितहरुले प्रदेश अस्पताल बेनीबाट नियमित औषधी सेवन गर्ने भए पनि ५३ जना संक्रमितहरुले स्वास्थ्य बीमाको सेवा प्रयोग गरिरहेका छन् । अति अशक्त अपाङ्गतर्फ बीमितको सङ्ख्या १ सय ५१ जना, कुष्ठरोग संक्रमित २ जना र जटिल खालको (एमडिआर) टिबी २ जनाले सेवा प्रयोग गरिरहेका छन् ।
आर्थिक अभावकै कारण उपचार सेवाबाट कुनै पनि बिरामी बञ्चित हुन नपर्ने प्रदेश अस्पताल बेनी म्याग्दीका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रविरञ्जन प्रधानले बताउनु भयो । पैसा नै नभएको कारणले गर्दा कसैले पनि बेनी अस्पतालबाट सेवा नपाउने हुँदैन उनीहरुलाई निःशुल्क रुपमा उपचार गर्ने प्रवन्ध मिलाउने गरिएको उहाँले बताउनु भयो ।
नेपालमा वि.सं. २०७२ सालमा सुदुरपश्चिमको कैलाली जिल्लाबाट स्वास्थ्य बीमा लागू गरिएको थियो । अहिले पाँच जनासम्मको परिवारले ३५ सय रुपैयाँ र पाँच जनाभन्दा बढी सदस्य भएका परिवारले प्रतिव्यक्ति थप ७ सय रुपियाँको दरले शुल्क तिरेर स्वास्थ्य बीमा गर्न सक्ने व्यवस्था रहेको छ ।