INSEC Online

📅 २०८३ जेष्ठ २१

जबरजस्ती यौन कार्यमा लगाएको घटनाका आरोपितहरु गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन कार्यमा लगाएको आरोपमा तमानखोला गाउँपालिका- १ की ४० वर्षीया सम्झना भन्ने प्रितिमा विक र मकवानपुर जिल्ला कैलाश गाउँपालिका- ९ स्थायी घर भएकी ३७ वर्षीया शान्ती भन्ने खिमकुमारी भोम्जनलाई ०८१ चैत २७ गते प्रहरीले गिरफ्तार गरेको छ ।

बागलुङको ढोरपाटन नगरपालिका- १ वुर्तिवाङमा बसन्त रेस्टुरेन्ट एन्ड सेकुवा कर्नर सञ्चालन गरेकी प्रितिमाले पछिल्लो चार वर्षदेखि बालिकालाई ललाइफकाइ यौन कार्यमा संलग्न गराएको आरोप लागेको छ ।

नाबालिकालाई चार वर्षदेखि होटलमा राखी ग्राहकसँग पैसा लिई जबरजस्ती यौन कार्यमा संलग्न गराई धन आर्जन गरेको सूचनाको आधारमा विक र भोम्जनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी विजय यादवले बताउनु भयो ।

डिएसपी यावदले पीडितको बयान र जाहेरी दरखास्त तथा वेश्यावृत्तिमा प्रयोग हुन सक्ने बरामद सबुत प्रमाणका आधारमा बागलुङ जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गत वेश्यावृत्तिमा लगाउन नहुने कसूरमा म्याद थप गरी थप अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।

बालिकाको चैत २८ गते धौलागिरी अस्पताल बागलुङमा स्वास्थ्य परीक्षण गरिएको छ ।

अन्य

भिडियो