INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला सदरमुकाममा खानेपानीको अभाव हुँदा स्थानीयलाई समस्या !

जिल्ला सदरमुकाम रहेको खडाचक्र नगरपालिका–१, मान्म बजारमा खानेपानीको अभाव हुँदा स्थानीयलाई समस्या भएको छ । खानेपानीको समस्या भएपछि मान्म बजारमा होटल व्यवसाय सञ्चालन गर्ने लगाएत अन्य नागरिक प्रत्यक्ष मारमा परेका हुन् ।

लामो समयदेखि खडेरीको समयमा मुहानबाट पानी कम आउने र पानी वितरण प्रणालीमा पनि एकरूपता नहुँदा पानीको चरम अभाव झेल्नु परिरहेको स्थानीय मञ्जु नेपालीले बताउनु भयो । उहाँले खानेपानी उपभोक्ता समितिको वितरण प्रणालीमा लापर्वाहीले पानीको अभाव भएको उल्लेख गर्नुभयो । धारामा नियमित पानी नआउँदा सदरमुकाममै पिउने पानीको हाहाकार भएको उहाँको भनाइ छ ।

मान्म बजार क्षेत्रमा पिउने पानीको सङ्कट गहिरिँदा पहुँचवालाले खानेपानीको ट्याङ्कीबाट सिधै पाइप जडान गरी घरघरमा पानी लगेका छन् । सर्वसाधारणको धारामा भने एक महिनादेखि पानी नआउँदा दुई किलोमिटर टाढाबाट बोकेर गुजारा गर्नुपरिहेको छ ।

यस विषयमा खाँडाचक्र नगरपालिकाका नगर प्रमुख कमलबहादुर शाहीले मान्म बजारमा खानेपानीको जिम्मा खाँडाचक्र नगरपालिका-१ र खानेपानी समितिलाई दिएको हुनाले समस्याका बारेमा बुझेर बजारबासीलाई तत्काल पानीको व्यवस्थापन गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाउनु भयो ।

अन्य

भिडियो