INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्णालीका ५५ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँच बाहिर !

कर्णाली प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रम लागु भएको आठ वर्षको अवधिमा ४५ प्रतिशत जनसङ्ख्या मात्र स्वास्थ्य बिमाको पहुँचमा छन् । ५५ प्रतिशत जनसङ्ख्या अझै पनि स्वास्थ्य बिमाको पहुँच बाहिर छ । स्वास्थ बिमा बोर्ड कर्णाली प्रदेश सुर्खेतका संयोजक महेशप्रसाद ठाकुरका अनुसार कर्णालीमा सबैभन्दा बढी जुम्लामा ८२ प्रतिशत नागरिक बिमामा आबद्ध छन् भने सबैभन्दा कम सल्यानका नागरिक बिमा कार्यक्रममा आबद्ध छन् । जुम्लामा १ लाख ८ हजार ९ सय २१ जनसङ्ख्यामा ९० हजार ४ सय ११ जना बढी बिमामा आबद्ध छन् ।

उपल्लो डोल्पाका तीन स्थानीय तह शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ गाउँपालिकामा बिमा कार्यक्रम नै लागू हुन नसकेको उहाँले बताउनु भयो । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीको जनसङ्ख्या १६ लाख ८८ हजार ४ सय १२ जनसङ्ख्या छ । जसमध्ये हालसम्म ४५ प्रतिशत नागरिक मात्र बिमामा आबद्ध भएको प्रदेश संयोजक ठाकुरले बताउनु भयो । आशा गरे जति सङ्ख्यामा नागरिकहरू स्वास्थ्य बिमाको पहुँचमा आउन नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो – ‘पहिलो सेवा पाउन तीन महिना लाग्ने गरेकोमा अबदेखि दुई महिनामा झारेको हुँदा पहुँचको अवस्था वृद्धि हुन्छ ।’

बिमामा कर्णाली प्रदेश अन्तर्गत स्वास्थ्य बिमा कार्यक्रमको सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको भुक्तानीको अवस्था निकै कम रहेको पाइएको छ । स्वास्थ्य बिमा बोर्ड कर्णाली प्रदेश कार्यालयका अनुसार चालु आर्थिक वर्ष (०८१/८२) को पाँचौँ भुक्तानी ०८१ फागुन १५ सम्ममा २० करोड ६७ लाख ८४ हजार ६ सय ६८ रुपियाँ मात्र भुक्तानी भएको छ । सबैभन्दा धेरै कर्णाली प्रदेश अस्पताल सुर्खेतले ७ करोड ४४ लाख ५६ हजार (३६.०१ प्रतिशत) भुक्तानी लिएको छ भने सबैभन्दा कम भुक्तानी कालीकोटको कुमालगाउँ प्राथमिक स्वास्थ्य केन्द्रले ३१ हजार रुपियाँ (०.०२ प्रतिशत) भुक्तानी लिएको छ ।

स्वास्थ्य बिमा बोर्डका अनुसार कर्णाली प्रदेशमा सबैभन्दा पहिले ०७४ भदौ १ गते पश्चिममा स्वास्थ्य बिमा कार्यक्रम शुभारम्भ भएको थियो । त्यसपछि क्रमशः सुर्खेतमा ०७४ मङ्सिर १ गते, रुकुम पश्चिममा ०७५ जेठ १ गते कालीकोटमा ०७५ भदौ १ गते, मुगु, हुम्ला र डोल्पामा ०७६ भदौ १ गते, दैलेखमा ०७७ जेठ १ गते र सल्यानमा ०७७ फागुन १ गते सेवा शुभारम्भ भएको थियो । स्वास्थ सेवा निर्देशनालय सुर्खेतका निर्देशक डा. रविन खड्काले स्वास्थ्य बीमा कार्यक्रमको पहुँचमा सबै कर्णालीबासी जोडिन थुप्रै चुनौती पनि रहेको उल्लेख गर्दै लक्ष्य पूरा गर्न सबै निकायले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनु भयो । भौगोलिक विकटता र सेवा प्रदायक स्वास्थ्य संस्थाको अभावका कारण कर्णालीवासीले चाहेर पनि सेवा उपभोग गर्न सकिरहेका छैनन् । त्यस्तै प्रदेशमा सुविधायुक्त स्वास्थ्य संस्थाहरू नहुनु र भएका संस्थाहरू पनि भौगोलिक विकटताका कारण नागरिकको पहुँचबाहिर हुँदा समस्या भएको छ ।

न्यून स्वास्थ्य बिमा सेवाप्रदायक संस्था

कर्णालीका ७ सय ८६ मध्ये ३६ ओटा स्वास्थ्य संस्थाले मात्र स्वास्थ्य बिमा कार्यक्रमको सेवा प्रदायकको रूपमा सेवा दिइरहेका छन् । यसमा स्वास्थ्य संस्थाको सबैभन्दा तल्लो संरचना आधारभूत स्वास्थ्य सेवा केन्द्रदेखि प्रदेश अस्पतालसम्म समावेश रहेका छन् । सङ्घीय सरकार मातहतको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि उल्लेखित सङ्ख्याभित्र समेटिएको छ । विवरण अनुसार सबैभन्दा धेरै सुर्खेतमा १ सय २७ स्वास्थ्य संस्था रहेका छन् । त्यसपछि क्रमश दैलेखमा १ सय १०, कालीकोटमा ९०, सल्यानमा ८९, जाजरकोटमा ८५, रूकुम पश्चिममा ७९, हुम्लामा ६४, मुगुमा ५९, जुम्लामा ५६ र डोल्पामा ३५ स्वास्थ्य संस्थाहरू रहेका छन् । प्रदेशमा यति धेरै सङ्ख्यामा स्वास्थ्य संस्थाहरू भए पनि स्वास्थ्य बिमा प्रदायक स्वास्थ्य संस्थाको सङ्ख्या भने निकै कम रहेको छ । स्वास्थ्य बिमा बोर्डका अनुसार कर्णालीका ३६ स्वास्थ्य संस्थामात्र स्वास्थ्य बिमा प्रदायक स्वास्थ्य संस्थामा सूचीकृत भएका छन् ।

शिशुको मृत्युदर २६ प्रतिशत

मन्त्रालयका स्वास्थ महाशाखा प्रमुख बृषबहादुर शाहीले सबैलाई बिमा कार्यक्रममा जोडिन अनुरोध गर्दै कर्णालीमा वार्षिक ३६ हजारभन्दा बढी जीवित जन्मिएका शिशुमध्ये २६ प्रतिशत शिशु मृत्युदर रहेको जानकारी दिनुभयो । एक लाख सुत्केरी आमामध्ये १ सय ७२ जनाको मातृ मृत्यु हुने गरेको उहाँले बताउनु भयो । उहाँका अनुसार कर्णालीमा ७६ प्रतिशतले नियमित गर्भ जाँच गर्दछन् भने ७२ प्रतिशतले सुरक्षित प्रसूति सेवा लिने गरेका छन् । ९० प्रतिशत स्वास्थ्य संस्थाले सुरक्षित प्रसूति सेवा दिने गरेका छन् ।

अन्य

भिडियो