INSEC Online

📅 २०८३ जेष्ठ २१

सामूहिक बलात्कार घटनाका पीडितलाई बैकल्पिक संरक्षणका लागि उद्दार !

आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा परी गर्भवती भएकी १४ वर्षीया बालिकालाई इन्सेकको पहलमा बैकल्पिक स्यहारका उद्दार गरिएको छ ।

इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधिको समन्वयमा बाल हेल्पलाइन नेपाल १०९८, बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ को सहकार्यमा कपिलवस्तुकी पीडित बालिकालाई बैकल्पिक स्यहार र संरक्षणका लागि उद्दार गरी सुरक्षित आवास गृहमा राखिएको छ ।

पीडित बालिकालाई वाणगंगा नपा–२, कप्टैयाका २१ वर्षीय मोहन थारु र सोही ठाउँकै १५ वर्षीय बालकले डरधम्की दिइ पटक पटक बलात्कार गरेको र कसैलाई भने मारिदिने धम्की दिएकाले कसैलाई भन्न नसकेको पीडित पक्षले चैत १ गते थाहा पाएर इलाका प्रहरी कार्यालय, पिपरामा उजुरी दिनुभएको थियो ।

आरोपितले घटनाका विषयमा कसैलाई भने हजुरबुबा आमालाई नै मारिदिने भन्दै डरधम्की देखाएर बलात्कार गरेको डरले कसैलाई भन्न नसकेको बालिकाले इन्सेकसँगको कुराकानीमा बताउनु भयो । उहाँले फागुन २१ गते अचानक एक्ककासी पेट दुखेपछि अस्पतालमा जचाउँदा पेटमा २८ हप्ता नाघेको बच्चा रहेको डाक्टरले भनेपछि थाहा पाएको बताउनु भयो । डाक्टरका अनुसार अहिले बालिकाको पेटमा २९ हप्ता बढीको गर्भ रहेको छ ।

पीडित बालिकाका बुबा आमाको सात वर्ष अगाडि सम्बन्ध विच्चेद भएको, आमाले अर्को विवाह गरी गएको र बालिका चार वर्षको उमेरदेखि मावलीमा बस्दै आउनुभएको थियो । मावलीको अवस्था पनि एकदमै कमजोर भएकोले न्यायिक प्रकृयामा जान समस्या परेको भन्दै इलाका प्रहरी कार्यालयको सिफारिसमा इन्सेकको पीडित राहत कोष मार्फत चैत ८ गते प्रहरी र पीडितका हजुरबुबा आमाको रोहवरमा रकम हस्तान्तरण गरिएको थियो । घटनाका आरोपितद्धय अहिले जिल्ला कारागार कपिलवस्तुको हिरासत र बालक बालसुधार गृह भैरहवामा रहेका छन् ।

बालिकालाई न्यायिक प्रकृयामा जान र पीडित बालिकालाई बैकल्पिक स्यहारका लागि समन्वय गरिदिने वाणगंगा नगरपालिकाका उपप्रमुख रीता चौधरी, महिला विकास निरीक्षक शुशिला पन्थका र इलाका प्रहरी कार्यालय, पिपराको महत्त्वपूण सहयोग रहेको छ ।

अन्य

भिडियो