गौमुखी गाँउपालिका-७, नारिकोटका २ सय ५० घरपरिवारमा खानेपानीको समस्या भएको छ । वर्षौँदेखि रहेको बस्तीमा सरकारले खानेपानीको व्यवस्था नर्गदा सबै घरधुरीका नागरिकहरू बस्ती भन्दा तल रहेको साउने खोलाको कुवाबाट पानी बोकी प्रयोग गर्दै आएका छन् ।
गाउँमा जनप्रतिनिधिहरूलाई खानेपानीको समस्याको बारेमा कुरा गरे पनि जनताले सजिलैसँग पानी खाने वातावरण नभएको गौमुखी गाँउपालिका-७, नारिकोटका स्थानीय ५८ वर्षीय तेजबहादुर पुरीले गुनासो गर्नुभयो । खोल्सामा कुवा बनाई पानी खाने गरेको र वर्षाको समयमा धमिलो भल पसी खान नमिल्ने उहाँको भनाइ छ । अन्य समयमा गाइ बस्तुले फोहोर गर्ने र गर्मीको समयमा सुख्खा रहने हुँदा गाउँमा खानेपानीको दुख भएको स्थानीय ४९ वर्षीया रमा पुरीले बताउनु भयो ।
खानेपानीको सुविधा नहुँदा प्रत्यक वर्ष वर्षातको समयमा पानी परी कुवा धमिलो हुने र कुवाको छेउमा रहेका फोहरहरू पानीले बगाइ कुवमा मिसाउने हुँदा आफूहरूले दुषित पानी पिउन बाध्य भएको उहाँले बताउनु भयो । दुषित पानी पिउँदा नागरिकमा रुघाखोकी, ज्वरो र पखला जस्ता रोगहरूले सताइरहेको उहाँको भनाइ छ । खानेपानीको मुल नभएको उक्त वडामा लिफ्ट मार्फत खानेपानी पुर्याउन ०७६ सालमा सात करोड ३३ लाख ५३ हजार रुपियाँको लागतमा लिफ्ट खानेपानी आयोजना सञ्चालन भएको र ४ सय ५१ घरधुरीमा खानेपानी पुर्याउने उक्त योजना अहिलेसम्म पुरा हुन सकेको छैन ।
योजनाका लागि ६ करोड ३० लाख ६ हजार रुपियाँ बजेट आवश्यक भए पनि यो वर्ष १० लाख रुपियाँ बजेट विनियोजन भएको गौमुखी गाँउपालिका-७ का वडा अध्यक्ष कोमल पुरीले बताउनु भयो । ‘पानीको मुल नभएको वडा भएकाले लिफ्ट योजना थालिएको थियो । योजना अधुरो हुँदा जनता समस्यामा छन्’ – उहाँले भन्नुभयो । छिटो योजना सम्पन्न गरी खानेपानी समस्याको समाधान गर्न आफूहरू लागि परेको वडा अध्यक्ष पुरीले बताउनु भयो ।