
जनकपुरधाम उपमहानगरपालिका-२३ बिन्धिका १५ वर्षीय बालक अंशु यादवको हत्या घटनाको विषयमा सत्य तथ्य बुझ्न इन्सेक र आयोगले स्थलगत अनुगमन गरेको छ । अनुगनको क्रममा टोलीले पीडित परिवारसँग भेट गरी घटनाको जानकारी लिएको थियो ।
मृतकका काका बब्लु यादवका अनुसार चैत २ गते होली पर्वको दिन टिसर्टको विषयमा विवाद हुँदा भतिज अंशु यादवलाई जनकपुरधाम उपमहानगरपालिका-२३ बिन्धिका २१ वर्षीय धर्मेन्द्र महतोले छुरा प्रहार गरी हत्या गरेको हो ।
हत्या घटनाको विरोध तथा आरोपित महतो र उक्त घटनामा संलग्न अन्य आरोपितहरूको गिरफ्तारीको माग गर्दै पीडित परीवार र स्थानीहरू ०८१ चैत १७ गते आन्दोलन गरेको यादवले अनुगमन टोलीलाई बताउनु भयो ।


त्यसैगरी, आरोपित महतोलाई चैत १७ गते प्रहरीले गिरफ्तार गरेको भए तापनि उनलाई सहयोग गर्ने सोही ठाउँका २३ वर्षीय राकेश महतो, ४० वर्षीय रामदहीन महतो, ५५ वर्षीय लक्षण महतो, २८ वर्षीय प्रमोद महतो, ४५ वर्षीय अशोक महतो र ६१ वर्षीय बौएलाल महतोलाई गिरफ्तार नगरेकोले आन्दोलन गर्नु परेको मृतकका आमाले बताउनु भयो । आरोपितहरूविरुद्ध चैत ७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएको उहाँले बताउनु भयो ।
अनुगमनको क्रममा इन्सेक र मानवअधिकारको संयुक्त टोलीले सोही वडाका वडाध्यक्ष राघवेन्द्र शाहसँग भेटघाट गरेको थियो । भेटघाटको क्रममा वडाध्यक्ष राघवेन्द्र शाहले घटनाको थप अनुसन्धान र पीडितलाई न्याय तथा दोषीहरूलाई गिरफ्तार गरी कारबाही प्रक्रिया आगाडि बढाउनका लागि प्रहरी प्रशासनसँग समन्वय गरिरहेको अनुगमन टोलीलाई जानकारी दिनु भयो । एक जना आरोपितलाई प्रहरीले चैत १७ गते गिरफ्तार गरेको र अन्य आरोपितहरू फरार रहेको भए तापनि निजहरूको परिवारजनले वडा कार्यालयबाट पाउने सम्पूर्ण सेवा सुविधाहरू रोक्का गरिएको वडाध्यक्ष शाहले जानकारी दिनु भयो । उहाँले भन्नु भयो जबसम्म आरोपितहरूलाई उनीहरूको परिवारले प्रहरीको जिम्मा लगाउँदैन तबसम्मको लागि वडा कार्यालयले उनीहरूलाई सेवाबाट वञ्चित गर्ने छ ।
अनुगमन टोलीमा राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेश कार्यालयका मानव अधिकार अधिकृत राहुल ठाकुर, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयका संयोजक राजु पासवान, प्रलेख अधिकृत मोहनकुमार चौधरी, इन्सेक धनुषा प्रतिनिधि सन्तोषकुमार यादव र पत्रकारहरूको सहभागी थियो ।