जाजरकोटका विकट गाउँबस्तीका नागरिक गाँउका स्वास्थ्य संस्थामा सरकारले निःशुल्क रूपमा दिने औषधी अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन् । शिवालय गाउँपालिका-२, नेपागाउँका नागरिक एक घण्टा उकालो हिँडेर वडा कार्यालय नजिकको स्वास्थ्य संस्था जान नसक्ने भएपछि बाहिर जान बाध्य भएको हो ।
शिवालय गाउँपालिका–२ की तुलसरा बस्नेतले ज्वरो, रुघाखोकीले थला परेका बिरामी उकालोमा हिँडेर स्वास्थ्य संस्था पुग्न समस्या हुने भएपछि स्थानीय पसलबाट औषधी लिने गरेका छन् । गाउँका नागरिक बिरामी परेपछि औषधी उपचार गर्न स्थापना भएका स्वास्थ्य संस्थामा सरकारले निःशुल्क रूपमा पाउने व्यवस्था गरेका ९८ प्रकारका औषधी पाउन नसकेपछि समस्या हुने गरेको छ ।
उकालोमा हिँडेर गए पनि प्रयाप्त रूपमा औषधी नपाउने भएपछि मेडिकलबाट लिनु परेको छ । सरकारले निःशुल्क तोकेका औषधी प्रयाप्त मात्रामा नहुँदा बिरामी बाहिर जानु पर्ने बाध्यता छ । शिबालय गाउँपालिका वडा नम्वर २ की काशि घर्तिले शिबालय गाउँपालिकामा अस्पताल नहुदाँ जटिल तथा सामान्य विरामी नेपालगंन्ज, सुर्खेत जाने गरेका छन् ।
शिवालय गाउँपालिकाले नागरिक बिरामी परेपछि औषधी उपचारका लागि १० शैयाको अत्याधुनिक अस्पताल भवन निर्माण भएको छ । केही काम बाँकी रहेकाले ठेकेदारले स्थानीय सरकारलाई हस्तान्तर गरेपछि नागरिकलाई गाउँबस्तीबाट स्वास्थ्य सेवा दिने गरी काम भइरहेको शिवालय गाउँपालिकाका अध्यक्ष शेर बहादुर शाहीले बताउनु भयो । नागरिक बिरामी परेपछि बाहिर लानुपर्ने बाध्याता भएकाले गाउँपालिकाको प्रशासनिक केन्द्रमा अत्याधुनिक अस्पताल भवन निर्माण गरिएको छ । सो भवन सञ्चलनका लागि पहल भएको छ ।
विगतदेखि औषधी उपचारमा भोग्दै आएको समस्या केही समयपछि अन्त्य हुने अध्यक्ष शाहीले बताउनु भयो । शिबालय गाउँपालिका–५ का दानबहादुर शाहीले वडा नम्वर ५ र ६ का नागरिक बिरामी परेपछि स्ट्रेचर, नीजि सवारी साधनमा महङ्गो भाँडा तिरेर नेपालगञ्ज, सुर्खेत लिनुपर्ने बाध्यता भएको बताउनु भयो । गाउँमै सुविधा सम्पन्न अस्पताल नहुँदा नागरिक बिरामी परे साहुबाट कर्जा लिएर महङ्गो औषधी लिनु परेको उहाँले बताउनु भयो । सरकारले गाउँपालिकामा १० शैया, नगरपालिकामा १५ शैयाको अस्पताल अनिवार्य बनाउने नीति लागु गरेपछि सात ओटा स्थानीय तह मध्ये अत्याधुनिक भवन निर्माण भएको छ ।
स्थानीय सरकारले प्रक्रिया पुरा गरी छिट्टै अस्पताल सञ्चालनमा ल्याएपछि नागरिकलाई राहात हुने शिवालय गाउँपालिकाका अध्यक्ष शाहीले जानकारी दिनुभयो । सुविधा सम्पन्न स्वास्थ्य संस्था नहुँदा गरिव, विपन्न, दलित आर्थिक अवस्था कमजोर भएका व्यक्ति, सुत्केरी, गर्भवती महिला, ज्येष्ठ नागरिकलाई समस्या हुने गरेको उहाँको भनाइ छ । अधिकांश स्वास्थ्य संस्थामा भिडियो एक्सरे नहुँदा चेकजाँचका लागि जिल्ला वाहिर जानु पर्ने अवस्था छ ।