कञ्चन गाउँपालिका–५, गरगरेका चुरामणी ढकाल अहिले ६४ वर्ष हुनुभयो । सामान्य परिवारका चुरामणी किसान हुनुहुन्थ्यो । गाई पाल्ने दुध बेच्ने र बिहानको समयमा बुटवलबाट निस्कने सबैजसो पत्रपत्रिका बाँड्ने काम गर्नुहुन्थ्यो । चुरामणीका दुई छोरा, पत्नी र ८४ वर्षकी सासुआमा सहित पाँच जनाको परिवार थियो । सबै राम्रै चलेको थियो । २०५८ साल माघ १० गते चुरामणीलाई बुटवल रामनगर व्यारेकबाट तत्कालिन शाही सेनाले समातेर विभिन्न यातना दियो । चुरामणी भन्नुहुन्छ – ‘तत्कालीन शाही सेनाले माओवादी भएको आरोप लगाउँदै अपहरण गरेर लग्यो । कुटपिट गरेर दुबै कानको जालि फुटाइदियो । पाइपले कुटपिट गरेर शरीरका विभिन्न भागमा चोट पुर्यायो । उत्तानो पारेर सुताएर वेहोस नहुनजेल कुट्यो ।’
अत्याधिक कुटपिट गरेका कारण चुरामणीका दुबै कानका जाली फुटेर अहिले कानले सुन्नुहुन्न । शरीरका विभिन्न भागमा यातना दिएका कारण अहिले पनि चुरामणीको पिसाव रोकिँदैन । पिसावसँगै रगत बग्छ । चुरामणी भन्नुहुन्छ – ‘पटक पटक मरेर बाँचेको मान्छे मान्छे हुँ, केही कसुर नगर्दा र आफ्नै गरेर खाँदा नि विभिन्न खालका यातनाहरु भोगेर छट्पटिएर बाँचेको छु ।’ तत्कालीन शाही सेनाले दिएको यातनाले गर्दा अहिले पनि आफू असक्त भएर बाँच्न परेको भन्दै मानवता हराएकाहरूले आफूलाई पिसाब फेर्दा करेन्ट लगाएर ढलाउने, कुममा पेस्तोल राखेर गोली पड्काइदिने, पानी खान माग्दा मुखमा पिसाब गरिदिने, हातखुट्टा बाँधेर भुइँमा भात छरिदिएर खान लगाउने जस्ता यातना दिएको उहाँले बताउनु भयो ।
तत्कालीन शाही सेनाले चुरामणीलाई मात्र होइन, चुरामणीका जेठो छोरा विश्वनाथ ढकाल १३ वर्ष र कान्छो छोरा विधुर ढकाल ११ वर्षलाई पनि २०६१ साल मङ्सिर ५ गते ढकालको घरबाटै शाही सेनाको गाडीमा हालेर लग्यो । गाडीमा राख्दा ए माओवादीका न्यायाधीश भन्दै लगेको घटनालाई स्मरण चुरामणीले गराउनु भयो । चुरामणी भन्नुहुन्छ – ‘कान्छो छोरा विधुर पढनलाई एकदमै ट्यालेन्ट थियो । गीत, गजल कविता लेख्ने गर्थ्यो । खुब चलाख छस् भन्दै कान्छो छोरा विधुरको टुप्पी उखेलिदिएछ । अहिलेसम्म पनि त्यो टुप्पी आउन सकेको छैन ।’ कुटपिट गरेर यातना दिएर अहिले पनि तर्सिरहन्छ । जेठो छोरा विश्वनाथको जिब्रो तानिदिएर अहिले पनि स्पष्ट बोल्न सक्दैनन् । उहाँले भन्नुभयो – ‘यसरी आफू र छोराहरूले के विगार गरेका थियौँ र ?’ उहाँले भक्कानिँदै सरकार यातना पीडित आफू र आफ्नो परिवारले कहिले न्याय पाउने भन्दै गुनासो गर्नुभयो ।
अहिलेसम्म चुरामणीले वार्षिक तीन महिनाको औषधी फ्रिमा खाएको बताउनु भयो । त्यो बाहेक अहिलेसम्म सरकारले केही नदिएको र छोराहरूको हकमा अहिलेसम्म केही पनि नपाएको उहाँको भनाइ छ । यातनाबाट पीडित चुरामणीको शरीरबाट गत ०८१ फागुन १८ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचारको क्रममा शरीरबाट गोली निकालिएको थियो । चुरामणीकी पत्नी सीता ढकाल भन्नुहुन्छ – ‘तत्कालीन शाही सेनाले रातको १२ बजे घरमा आएर ढोका खोल्न लगाउँथे । छोराहरूलाई पनि कहिले कता लगेर कुट्ने गर्थे । कहिले कता लगेर कुट्थे । खै न्याय कहिले पाइने हो ? घरमा कुकुर पालेका थियौँ । धेरै पटक कुकुरले बचाएको छ मलाई । लगातार घरमा आउँदा कुकुरलाई पाउरोटी लिएर खान दिएर पल्काएछन् । पछि कुकुर शाही सेना आउँदा पनि भुक्न छोड्यो ।’ पछि कुकुरलाई पनि सेनाले आफ्नो हातमा ल्याएर घरमा आउँदा भुक्नै छाडेको चुरामणीले बताउनु भयो ।
देशमा यति ठूलो राजनीतिक परिवर्तन भयो । राजतन्त्रको अन्त्य भयो । देशमा गणतन्त्र आए पनि आफू जस्ता द्वन्द्वपीडितको पीडालाई राज्यले सम्बोधन नगरेको देख्दा ढकाल परिवारलाई धेरै पीडा हुन्छ । देशमा विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पुगिसक्दा पनि न्याय नपाएकोले अब न्याय पाइएला भन्ने आश मरिसकेको चुरामणीले बताउनु भयो । द्वन्द्वपीडितको नाम बजाएर धेरै हाली मुवाली गरे । तर त्यही द्वन्द्वपीडित र यातना पीडित नागरिकलाई वास्ता गरिएन । यस्तो अवस्थामा कसरी न्याय पाइन्छ भनेर आश गर्नु उहाँले भन्नुभयो ।
सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता सम्बन्धी विधेयक ल्याएर प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित गरी राष्ट्रपतिबाट प्रमाणित समेत गरिसकेको छ । तथापी पीडितमैत्री न्याय हुन्छ की हुँदैन, यातना पीडितको पक्षमा न्याय सम्पादन हुन्छ भन्ने कुरामा पीडित परिवार अझै ढुक्क हुनुहुन्न । सरकारले विस्तृत शान्ति सम्झौता भएको यति लामो समय हुँदासम्म पनि न्याय दिन सकेन । आफू जस्ता घाइते अपाङ्गता भएका पीडितहरूको स्वास्थ्य उपचार र न्यायका विषयमा अहिलेसम्म केही हुन नसकेको उहाँको भनाइ छ । खाली पीडितको मामुरी लागेको घाउ कोट्याउने काम मात्र भएको छ । अहिले पनि पीडितमैत्री न्याय होला कि नहोला भन्नेमा ढुक्क हुनसक्ने अवस्था छैन । अब पनि आफूहरूले कहिलेसम्म द्वन्द्वपीडित र प्रभावित यातना पीडित भनेर बाँचिरहने हो यसको विषयमा सरकार संवेदनशिल हुनुपर्नेमा उहाँको माग छ ।