INSEC Online

📅 २०८३ जेष्ठ २१

लिमिका आठ जना किशोरी एचपिभी खोपबाट वञ्चित

नाम्खा गाउँपालिका–६ स्थित लिमिका किशोरीहरू एचपिभी खोप लगाउनबाट वञ्चित भएका छन् । नेपाल सरकारको निति अनुसार देशैभरका १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपिभी) खोप अभियान सञ्चालन गरे पनि दुर्गम हुम्लाको लिमि गाउँका आठ जना किशोरीहरू खोप लगाउनबाट वञ्चित भएको स्थानीय स्याम्जोर तामाङले गुनासो गर्नुभयो ।

हुम्लामा फागुन १८ गतेदेखि सञ्चालन भएर चैत पहिलो सातामा सम्पन्न हुने गरी खोप अभियान सञ्चालन गरे पनि नाम्खाको लिमिमा एक महिना बितिसक्दा समेत खोप अभियान सञ्चालन नभएको स्थानीय तामाङले गुनासो गर्नु भएको हो ।

लिमीका लागि भ्याक्सिन भने गाउँपालिका स्वास्थ्य शाखाले कार्यालयबाट बुझेर लगि सकेको छ । उक्त विद्यालयमा कक्षा ६ देखि आठसम्म अध्ययन गर्ने किशोरीहरू आठ जना रहेको र विद्यालय बाहिरका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरू लिमीमा नरहेको विद्यालयका शिक्षक विकल तामाङले बताउनु भयो ।

स्वास्थ्य सेवा कार्यालयका खोप कार्यक्रमका प्रतिनिधि प्रेम पाण्डेले भ्याक्सिन ढुवानी गर्न नसकिने भएको कारण लिमीमा भने सुरु नभएको स्वीकार गर्नुभयो । लिमी जाने दुवै नाका बन्द रहेका कारण स्वास्थ्यकर्मी लिमी मै भएको भए पनि भ्याक्सिन ढुवानी गर्न नसकिएको अवस्था रहेकोले खोप अभियान सञ्चालन गर्न नसकिएको पाण्डेले बताउनु भयो ।

लिमी जाने दुई ओटा नाका ४ हजार ६ सय ७० मिटर अग्लो नारा र ५ हजार मिटर अग्लो न्यालु लेकमा हिमपातका कारण बन्द भएपछि भ्याक्सिन पुर्‍याउन नसकिने अवस्था आउँदा खोप अभियान प्रभावित भएको पाण्डेको भनाइ छ ।

अन्य

भिडियो