INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँमै पुगेर बिरामीको उपचार गर्दै स्वास्थ्यकर्मी !

गाउँमा भाइरलका बिरामी बढेसँगै जिल्लाका स्वास्थ्यकर्मी गाउँमै पुगेर उपचार गर्न थालेका छन् । जिल्लाको मालिकार्जुन र दुहुँ गाउँपालिकाका स्वास्थ्यकर्मीले गाउँबस्तीमै पुगेर उपचार तथा परामर्श सेवा दिन थालेका हुन् ।

मालिकार्जुन गाउँपालिका वडा नम्बर ५ का मल्तडीमा भाइरल ज्वरो फैलिएसँगै स्वास्थ्यकर्मी गाउँमै पुगेर उपचार सेवा दिन थालेका छन् । दलित समुदायको बाहुल्यता रहेको मल्तडीबस्तीमा पस्ती आधारभूत अस्पतालका डाक्टर निराजन बोहरा नेतृत्वको टोलीले स्वास्थ्य चेकजाँच र परामर्श देवा दिनुभएको हो ।

photo20250317daarchula (1)

मौसममा आएको परिवर्तनले अहिले बिरामी गाउँभरि बढेको पाइएपछि गाउँमै उपचार थालिएको पस्ती आधारभूत अस्पतालका जनस्वास्थ्य निरीक्षक रामसिह खत्रीले जानकारी दिनुभयो । ‘तीन चार दिनदेखि गाउँमा भाइरल फैलिएको खबर आएसँगै बस्तीमै उपचार गर्न गएका हौं,’ उहाँले भन्नुभयो, ‘गाउँभरिका १ सय २२ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ ।’ बिरामीहरुमा ज्वरो आउने, खोकी लाग्ने, हातखुट्टा दुख्नेलगायतका लक्षण देखिएको उहाँले बताउनु भयो । बिरामीहरुलाई गाउँमै उपचारसँगै औषधि वितरण गरिएको छ ।

वडामा डाडाकोट स्वास्थ्य चौकी भए पनि स्थानीय तहबाट विशेषज्ञसहितको उपचार गरिएको हो ।

यसैगरी दुहुँ गाउँपालिका वडा नम्बर २ ले गाउँमा एकसातादेखि भाइरल ज्वरो फैलिएको भन्दै बस्तीस्तरमै सेवा दिने भएको छ । हिकिला स्वास्थ्य चौकीले ०८१ चैत ७ गतेदेखि चैत १२ गतेसम्म सबै बस्तीमा पुगेर चेकजाँच, परामर्श सेवा तथा उपचार र औषधी वितरण गर्ने हिकिला स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक मोहनसिह धामीले जानकारी दिनु भयो ।

photo20250317daarchula (2)

अहिले जिल्लाका विभिन्न क्षेत्रमा भाइरल ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाँडापखाला, टाउँको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको चाँप जिल्ला अस्पतालमा समेत बढेको डाक्टर सञ्जीव श्रेष्ठले बताउनु भयो । उहाँले भन्नुभयो, ‘दिनहुँ भाइरलका बिरामी बढेका छन् । ठाउँ अभावमा उपचार गराउनै समस्या हुने अवस्था आएको छ ।’

जिल्ला अस्पताल, दार्चुलामा दैनिक दुई दर्जन भन्दा बढी भाइरल सङ्क्रमणका बिरामी उपचारका लागि आउने गरेका छन् ।

भाइरल सङ्क्रमणबाट प्रभावित हुनेमा सबै भन्दा बढी बालबालिका र वृद्धवृद्धा रहेको सम्बन्धित स्थानीय तहका स्वास्थ्य शाखाले जनाएका छन् । बालबालिकालाई विशेष सावधानी अपनाउन आग्रह गर्दै स्वास्थ्य समस्याबाट जोगिन प्रयाप्त मात्रामा पानी पिउने, भीडभाडबाट टाँढा रहने, मास्क लगाउने र व्यक्तिगत सरसफाइमा ध्यान दिनु पर्ने सुझाव चिकित्सकले दिनुभएको छ ।

अन्य

भिडियो