INSEC Online

📅 २०८३ जेष्ठ २१

अदालतको फैसलापछि पनि जन्मदर्ता बनाउन समस्या !

मालारानी गाउँपालिका-८, राँगामारे बस्ने ४० वर्षीय खेतबहादुर घर्तिमगर र अपाङ्गता हुनुभएकी ३७ वर्षीया महिलाबिचमा हुन पुगेको अवैद सम्बन्धबाट जन्मिनुभएकी बालिकाको अदालतको फैसलापछि पनि जन्मदर्ता बनाउन समस्या भएको छ ।

वडा कार्यालयमा बालिकाको जन्मदर्ता बनाउन पटकपटक जाँदा पनि जन्मदर्ता गरिदिन वडाले चासो नदिएको पीडितले बताउनु भयो । सहारा विहिन अपाङ्गता हुनुभएकी महिलाले ०८० माघ २५ गते आफ्नो गर्भमा रहेको बालिकालाई जन्म दिनुभएको थियो । खेतबहादुर घर्तिले घरमा कोही नभएको र पीडित सुतेको अवस्थामा बलात्कार गरेर गर्भधारण गराएको भन्दै ०८० पुस १४ गते आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । आरोपितलाई प्रहरीले पुस १५ गते गिरफ्तार गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ मङ्सिर २६ गतेको इजलासले बलात्कार गरेको कसुर ठहर गर्दै ७ लाख रुपियाँ जरिबाना सहित जन्मकैद सजायको फैसला भएको कागजात लिएर मालारानी गाउँपालिका-८ को वडा कार्यालयमा बालिकाको आफन्त जन्मदर्ता गराइदिन फागुन ८ गते जानुभएको थियो । वडा सचिवले कागज पत्र छोडेर जान र अध्ययन गरेर वडाध्यक्षसँग सल्लाह गरेपछि दर्ता गराउँला भन्नुभएको पीडितले बताउनु भयो ।

मालारानी गाउँपालिका-६ का वडा सचिव आविष्कार खनालले अदालतको फैसलाका कागज पत्र बालिकाको संरक्षक पीडितले ल्याउनु भएको बताउनु भयो । उहाँले भन्नुभयो – ‘कागज पत्र अध्ययन गर्न भ्याएको छैन । अध्ययन गरेपछि आवश्यक सल्लाहा लिएर दर्ता गरिदिन्छौँ । बालिकाको जन्मदर्ता बनाउन खास समस्या छैन ।’ मालारानी गाउँपालिका-६ का वडाध्यक्ष नरेन्द्र बस्नेतले जन्मदर्ता बनाउने काम वडा सचिवको भएको बताउनु भयो ।

अन्य

भिडियो