जिल्ला अस्पतालमा भाइरल सङ्क्रमणका बिरामीको चाप बढेपछि उपचारमा समस्या भएको छ ।
जिल्लाका विभिन्न क्षेत्रमा भाइरल ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको चाप जिल्ला अस्पतालमा बढेको छ ।
बिरामीको चाप असामान्य रूपले वृद्धि भएपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । जसका कारण जिल्लाको प्रमुख स्वास्थ्य केन्द्र फाप्लु अस्पतालको सेवा प्रवाहमा कठिनाइ भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्ला अस्पताल, फाप्लुमा दैनिक एक दर्जनभन्दा बढी भाइरल सङ्क्रमणका बिरामी उपचारका लागि आउन थालेपछि अस्पतालमा वेड अभाव भएको जिल्ला अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले बताउनु भयो ।
१५ वेड क्षमताको अस्पतालमा अहिले दैनिक ५० जनाभन्दा बढी बिरामी भर्ना गरेर उपचार गराउनु पर्ने अवस्थामा रहेकाले वेड अभाव भएको अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाको भनाइ छ ।
एक सातायता भाइरल ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको चाप बढेपछि अस्पतालमा वेड अभाव भएको छ ।
अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले भन्नुभयो- अस्पतालका सबै वेड भरिएका छन्, जसका कारण सुत्केरी कक्षका बेडसमेत अन्य बिरामीलाई उपचार दिन प्रयोग गर्नु परेको अवस्था छ । “अस्पतालमा भर्ना भएका अधिकतम बिरामी भाइरल सङ्क्रमणकै छन् । जनशक्ति कम छ, तर बिरामीको चाप अत्यधिक छ ।
अस्पतालमा आउने अधिकांश बिरामी गम्भीर अवस्थाका भएको चिकित्सकको भनाइ छ । डाक्टरहरूका अनुसार ज्वरो, दम, निमोनिया र श्वासप्रश्वास समस्याले ग्रसित बिरामीलाई अक्सिजन नै दिनुपर्ने अवस्था छ । “अस्पतालका सबै बेड भरिएका छन । सुत्केरी कक्षका बेडमा समेत अन्य बिरामी राखेर उपचार गराइरहेका छौँ । यदि बिरामीको सङ्ख्या अझै बढे, हामीलाई भुइँमा राखेर उपचार गर्नुपर्ने अवस्था आउन सक्छ”, अस्पतालका डाक्टर रामबाबु जोशीले भन्नु भयो ।
भाइरल सङ्क्रमणबाट प्रभावित हुनेमा सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा रहेको अस्पताल प्रशासनले जनाएको छ ।
बालबालिकालाई विशेष सावधानी अपनाउन आग्रह गर्दै स्वास्थ्य समस्याबाट जोगिन पर्याप्त पानी पिउने, भीडभाडबाट टाढा रहने, मास्क लगाउने र व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने सुझाव चिकित्सकले दिएका छन् ।
दुर्गम क्षेत्र भएकाले स्वास्थ्यकर्मी सीमित हुनु, तर बिरामीको चाप अत्यधिक हुँदा उपचार प्रभावकारी रूपमा दिन कठिन भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालकी डाक्टर श्रेया पङ्गेनीले भाइरल ज्वरो एकअर्काबाट सजिलै फैलिने भएकाले सावधानी अपनाउनुपर्ने आवश्यकता भएको बताउनु भयो ।
जिल्ला अस्पताल फाप्लुको सुविधासम्पन्न भवन तयार भएपनि जनशक्ति अभावमा स्वास्थ्य सेवा प्रभावकारी हुन सकेको छैन् ।
हिमाली जिल्लाको अस्पताल भएकाले जनशक्ति कम रहे पनि बिरामीको चाप धेरै हुने भएकाले उपचारमा स्वास्थ्य उपकरण, औषधि तथा जनशक्तिको पनि अभाव झेल्नुपरेको अस्पताल प्रशासनले जनाएको छ ।