INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्माणाधीन अस्पताल भवन अलपत्र

नेपाल सरकारले सबै स्थानीय तहमा अस्पताल बनाउने कार्ययोजना अनुरुप थालिएको म्याग्दीको मंगला गाउँपालिकाको निर्माणानीन अस्पताल भवन अलपत्र भएको छ । निर्माणको जिम्मा लिएको ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण अस्पताल भवन निर्माणको कार्य अगाडी बढ्न सकेको छैन । २०७९ असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने भवनको दुई पटक म्याद थप्दा पनि भौतिक प्रगति १७ प्रतिशत मात्रै भएको छ । अघिल्लो वर्षको फागुनसम्म १० प्रतिशत मात्रै काम भएको भवनको एक वर्षको अवधिमा सात प्रतिशत मात्रै थप काम भएको छ ।

Photo-2025-03-17 Magdi

पश्चिम म्याग्दीको मंगला गाउँपालिकाका साथै बेनी नगरपालिका तथा मालिका गाउँपालिकाको पनि निश्चित क्षेत्रले सेवा लिन सक्ने गरी अस्पताल भवन निर्माणमा ढिलाई हुँदा सर्वसाधारणहरुले सास्ती खेप्नु परेको छ । अस्पताल बनेपछि गाउँमै सेवा लिने आशा थियो तर भवन निर्माण कहिले हुने टुङ्गो नहुँदा सर्वसाधारण निराश बनेको स्थानीय युवा चिरञ्जीवी शर्माले बताउनु भयो ।

भवन निर्माणको जिम्मा लिएको ठेकेदारलाई पटक पटक ताकेता गर्दा पनि काम तर्फ ध्यान नदिएको गाउँपालिकाका इन्जिनियर अरुण पौडेलले जानकारी दिनुभयो ।

ठेकेदारले समयमा भवन निर्माणको काम अगाडी नबढाउँदा सङ्घीय सरकारबाट प्राप्त हुने बजेट प्राप्त गर्न कठिनाई हुनुका साथै ठेकेदारलाई काममा लगाउन ठूलो सङ्घर्ष गर्नुपर्ने अवस्था सिर्जना भएको मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनु भयो । योजनाको कार्यसम्पादन प्रगति प्रतिवेदनका आधारमा मात्र बजेट प्राप्त हुने हो । तर ठेकेदारले काम नगर्दा बजेट आउने कुरा पनि भएन उहाँले भन्नुभयो ।

सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पतालन संचालन गर्ने योजना अनुसार २०७७ पुस १५ गते मंगला गाउँपालिका–५ स्थित हाँडेभिरमा अस्पताल भवनको शिलान्यास गरिएको थियो । अस्पताल भवन निर्माणका लागि गाउँपालिकाले ओमबुद्ध इन्टरनेशनल कन्सट्रक्शन काठमाडौंसँग २०७८ असारमा ९ करोड ११ लाख रुपियाँमा ठेक्का सम्झौता गरेकोे थियो ।

अन्य

भिडियो