बाँके जिल्लाको डुडुवा गाउँपालिका–६, स्थित जयेन्दु बालसुधार गृहमा रहेका बालबन्दीहरू बीच झडप भएको भनिएको घटनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन टोली खटाएको छ ।
आयोगले ०८१ चैत १ गते रातिदेखि २ गते साँझसम्म भएको घटनाको प्रारम्भीक अनुगमनबाट झडपको कारण सुधार गृहमा राखिएका ६ जना बालकहरू घाइते भएको पाइएको विज्ञप्तिमा उल्लेख छ ।
सूधार गृहमा आगो लगाइएको र नियन्त्रणका लागि खटिएका प्रहरीमाथि इँटा प्रहार भएको लगायतका तथ्य प्राप्त भएको विज्ञप्तिमा जनाइएको छ ।
अनुगमनको क्रममा आयोगको टोलीले झडपमा संलग्न भनी गिरफ्तार परेका व्यक्तिहरूलाई राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षको समेत अनुगमन गरेको आयोगका उपसचिव एवम् सहायक प्रवक्ता श्यामबाबु काफ्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
