INSEC Online

📅 २०८३ जेष्ठ २१

खानेपानी आयोजना अधुरो हुँदा नागरिकलाई समस्या !

चार वर्ष पहिला सुरु भएको खानेपानी योजना अधुरो हुँदा मल्लरानी गाउँपालिका-४ का अधिकांश नागरिकलाई खानेपानीको समस्या भएको छ ।

Photo11032025Pyuthan

मल्लरानी गाउँपालिका-४ मा ०७७/७८ देखि शुरु भएको झिमरुक पाण्डेडाँडा–बुढाचौर लिफ्ट खानेपानी आयोजना अझै निर्माण सम्पन्न भएको छैन । ३ करोड ६५ लाख ७४ हजार रुपियाँ लागतको उक्त योजना निर्माणमा हालसम्म ५३ लाख ८३ हजार रुपियाँ मात्र बजेट खर्च भएको छ । चालु आर्थिक वर्षमा २० लाख रुपियाँ बजेट विनियोजन भएको छ । योजना सम्पन्न गर्न अझै २ करोड ९१ लाख ९१ हजार रुपियाँ बजेट आवश्यक पर्छ ।

निर्माणधिन योजना समयमै पुरा नहुँदा बनेका संरचना जीर्ण हुँदै गएका छन भने उपभोक्ताले पानीका लागि दुःख पाइरहेका छन् । मल्लरानी गाउँपालिका–४, बुढाचौरमा १ सय ४६ घरधुरी लाभान्वित हुने गरी योजना सुचारु भएपछि अझैसम्म पानी पिउन नपाउँदा स्थानीय अहिले निराश बनेको मल्लरानी गाउँपालिका-४ का ४० वर्षीया आरती विकले बताउनु भयो । स्थानीय दामोदर पाण्डेले भन्नुभयो – ‘ट्याङ्की मात्र बनेको छ । पानी आउने कहिले हो ?’ वर्षौदेखिको पानीको दुःख हट्ला भनेर खुशी भए पनि चार वर्षसम्म योजना पुरा नहुँदा फेरी निराश हुनु परेको उहाँको गुनासो छ ।

लुम्बिनी प्रदेश सरकारबाट बजेट विनियोजन भइ काम सुरु गरिएको झिमरुक पाण्डेडाँडा–बुढाचौर लिफ्ट खानेपानी आयोजना काम जुन गतिमा सम्पन्न हुनुपर्ने हो सोही अनुसार नभएको मल्लरानी गाउँपालिका-४ का वडा अध्यक्ष कुमार श्रेष्ठले बताउनु भयो । उहाँले यस योजनालाई सम्पन्न गर्नको लागि रकम अभाव भएको खानेपानी योजना सम्पन्न गर्नको लागि वडा तथा गाउँपालिका लागिरहेको र केही मात्रामा बजेट पनि विनोयोजित भएकोले अब छिटै योजना सम्पन्न गर्न आफूहरू लागि परेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

करोड आवश्यक पर्ने योजनामा १०/२० लाख मात्र बजेट विनियोजन हुँदा योजना सम्पन्न गर्न समस्या भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख राजकिशोर मण्डलले बताउनु भयो । ‘मुख्य समस्या बजेटकै हो । बजेट अभावले गर्दा योजना पुरा हुन सकेको छैन’ – उहाँले भन्नुभयो । मन्त्रालयमा अवस्थाको जानकारी गराएको र आगामी आर्थिक वर्षमा सम्भव भए धेरै भन्दा धेरै योजना सम्पन्न गर्ने मन्त्रालयको योजना रहेको जानकारी आफूले पाएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्रमुख मण्डलले बताउनु भयो ।

अन्य

भिडियो