दिनेश एफएम र दिनेश खबर डटकमकी समाचार निर्देशक आरजु हमाललाई ०८१ फागुन २५ गते दुर्व्यवहार गर्ने प्रहरी अधिकारीलाई कारबाही गर्न पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले माग गरेको छ ।
सूचना संकलन गर्न गएको समयमा पत्रकार हमाललाई दुव्र्यवहार गर्ने प्रहरी अधिकृतमाथि छानबिन गरी कारबाही गर्नु पर्ने मागराखि पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले ०८१ फागुन २७ गते विज्ञप्ति जारी गरेको छ ।
धनगढी उपमहानगरपलिका वडा नम्बर ८ स्थित नवनिर्मित सिटिहलको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आउनुभएको समयमा सुरक्षाका लागि खटिएका प्रहरी अधिकारीले समाचार पत्रकार हमाललाई दुर्व्यवहार गरेको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले विज्ञप्तिमा उल्लेख गरेको छ ।
पत्रकारले स्वतन्त्रतापूर्वक समाचार संकलन गर्न पाउने हक विपरित सुरक्षाकर्मीले दुव्र्यवहार गर्नु निन्दनीय र दुःखद भएकोले.घटनामा संलग्न प्रहरी अधिकृतमाथि छानविन गरी कानुनी कारबाहीको लागि सम्बन्धित निकायसँग जेडदार माग गर्दछौँ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
धनगढी उपमहानगरपलिका वडा नम्बर ८ स्थित सिटिहलको उद्घाटन समारोहमा सूचना संकलन गर्न गएको समयमा आफूमाथि प्रहरी अधिकारीले दुर्व्यवहार गरेको भन्दै घटनाको सत्यतथ्य छानविन गरी आवश्यक कारबाहीका लागि पहल गरी दिन पत्रकार हमालले राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, राष्ट्रिय महिला आयोग र नेपाल पत्रकार महासंघमा फागुन २६ गते निवेदन समेत दिनुभएको थियो ।
धनगढी उपमहानगरपलिका—८ स्थित सिटिहलको उद्घाटन गर्न सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओली आउनुभएको अवस्थामा पत्रकार हमालले जबरजस्ती प्रधानमन्त्रीको नजिक जान खोज्दा नजिक नजान आग्रह गर्दै रोकिएको भए पनि दुर्व्यवहार नगरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर दर्शन खड्काले बताउनु भयो ।
