INSEC Online

📅 २०८३ जेष्ठ २१

सहरी स्वास्थ्य केन्द्र बन्द हुँदा सेवाग्राहीलाई सास्ती

बेनी नगरपालिका– ९ घतानको तोरीपानी शहरी स्वास्थ्य केन्द्र पछिल्लो दुई महिनादेखि बन्द हुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।

बेनी नगरपालिकाले तोरीपानी, ढोल्ठान तथा धुपीबोट क्षेत्रका बासिन्दाको सुविधाका लागि भनेर सुरु गरेको स्वास्थ्य केन्द्र पछिल्लो दुई महिनादेखि स्वास्थ्यकर्मी विहीन छ । स्थानीय युवा बाबुराम चोखालका अनुसार त्यस क्षेत्रका १ सय घर भन्दा धेरैका बासिन्दाहरुले प्रत्यक्ष सेवा पाउने उक्त केन्द्र बन्द हुँदा लामो समय पैदल यात्रा गरे अन्यत्र सेवा लिनु पर्ने बाध्यता रहेको छ । ग्रामीण भेकमा जेष्ठनागरिकहरु धेरै हुने र नजिकै भएको स्वास्थ्य केन्द्र बन्द हुँदा उहाँहरुलाई स्वास्थ्य सम्बन्धी सेवा लिनका लागि टाढा पुग्नु पर्ने बाध्यता सृजना भएको चोखालको भनाइ छ ।

thumbnail_Health office Closed Magdi-01

बेनी नगरपालिका– ९ का वडाध्यक्ष चक्रबहादुर केसीले स्वास्थ्य केन्द्र सञ्चालित होला भन्ने लागेको थियो तर सामाजिक सञ्जालमै बन्द भएको भन्दै सूचना आएपछि मात्रै आफूले थाहा पाएको बताउनु भयो । उहाँले भन्नुभयो– शहरी स्वास्थ्य केन्द्रमा अहेब तपेन्द्रबहादुर थापालाई खटाइएको भएपनि उहाँ घतान स्वास्थ्य चौकी नेप्टेचौरमै बसेर शहरी स्वास्थ्य केन्द्र नगएको कारण बन्द भएको रहेछ । अहेबले नै त्यहाँ सेवा दिनु पर्नेमा उहाँ नै नगएपछि स्वास्थ्य केन्द्र खुल्ने कुरै भएन अध्यक्ष केसीले भन्नुभयो । वडाध्यक्षले भन्नुभयो– बाबुराम चोखालले फेसबुकमा फोटो हालेर बन्द भएको भन्दै लेखेपछि आफूले सम्बन्धित क्षेत्रमा खटाइएको कर्मचारीलाई बुझ्दा उनी लामो समयदेखि केन्द्रमा नगएको र सेवा बन्द रहेको जानकारी पाएँ ।

thumbnail_Health office Closed Magdi-02

बेनी नगरपालिकाका सूचना अधिकारी युवराज थापाले शहरी स्वास्थ्य केन्द्रमा मङ्सिर भन्दा अगाडी करारका कर्मचारी मंगला गाउँपालिका– २ का लेखनाथ गौतमले काम गर्दा सेवा प्रवाह राम्रो भए पनि अहिले स्थायी दरबन्दीका तपेन्द्रबहादुर थापा आएपछि बन्द भएको रहेछ त्यो पनि ढिला गरी थाहा पाइयो । उहाँले भन्नुभयो– अबजति सक्यो चाँडो सेवा प्रवाहलाई नियमित गर्नका लागि कार्यालयले स्वास्थ्य शाखालाई निर्देशन दिएको कार्यालयले चाँडै सेवा दिनेमा आशावादी छौं ।

सोही स्थानमा रहेको पशु सेवा केन्द्र पनि प्राविधिक जनशक्तिकै कारण बन्द भएको सूचना अधिकारी थापाले बताउनुभयो । उहाँले भन्नुभयो मंसिर २ गते देखि तपेन्द्र शहरी स्वास्थ्य केन्द्रमा खटाइएको भए पनि करिब एक महिना मात्रै काम गरेर त्यहाँ नगएको देखियो भने पशु सेवा केन्द्रपनि झण्डै तीन महिना देखि बन्द रहेको छ ।

वडा अध्यक्ष केसीले चाँडै नै सर्वपक्षीय बैठक राखेर सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले स्वास्थ्य शाखा प्रमुख चन्दन सुवेदी सहितको टोली सम्बन्धीत स्थानमै पुगेर समस्या समाधानको प्रयास गरिने बताउनुभयो ।

अन्य

भिडियो