१७ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरी हत्या गरेको घटनालाई पञ्चायती बसी मिलापत्र गराउन खोजेको घटनाका फरार आरोपितहरू नवराजपुर गाउँपालिका-१ का वडा सदस्य ४६ वर्षीय नथुनी साह, ५५ वर्षीय रामकृपाल मण्डल, ४१ वर्षीय बिन्देश्वर साह र ४८ वर्षीय राजेन्द्र मण्डललाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८१ फागुन २३ गते गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, सिरहाका डिएसपी बिरेन्द्र कुमार पासवानले आरोपितहरूलाई अनुसन्धानको क्रममा अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरी हत्या गरेको घटनालाई पञ्चायती गरी मिलापत्र गराएको खुल्न आएकोले निजहरूलाई गिरफ्तार गरी फागुन २३ गते म्याद थप गराएको बताउनु भयो । त्यसैगरी, नवराजपुर गाउँपालिका-१ का ८४ वर्षीय चन्देश्वर मण्डल, ४५ वर्षीय रामबिनोद मण्डल र ४५ वर्षीय कमलेश दासलाई ०८१ फागुन ११ गते र १३ वर्षीय बालकलाई फागुन २१ गते गिरफ्तार गरेको बताउनु भयो । अन्य आरोपितहरूको खोजतलास भइरहेको डिएसपी पासवानले बताउनु भयो ।
मृतक बालिकालाई नवराजपुर गाउँपालिका-१ का १३ वर्षीय बालक, १८ वर्षीय चन्दन साह र १८ वर्षीय रामबिनय मण्डलले बलात्कार गरी हत्या गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा ०८१ फागुन ८ गते उजुरी दिनु भयो ।
पति रोजगारीको सिलसिलामा भारतको पन्जाबमा रहेको र घरमा आफू एक्लै रहेकोले घटनाको विषयमा गाउँकै केही भद्र भलादमीहरूलाई जानकारी गराउँदा उनीहरूले गाउँमै पञ्चायत बसी छलफल गरी पीडितलाई १ लाख ४० हजार रुपियाँ क्षतिपूर्ती दिने गरी मेलमिलाप गराउन खोजेको बालिकाकी आमाले बताउनु भयो । माघ ३० गते बेलुकी पतिको फोन आएको खबर आएपछि छोरीलाई घरमा एक्लै छोडेर फोन गर्न बजार गएकी थिइन् । बजारबाट फर्केर घरमा आउँदा घरको ढोका बन्द थियो । एक छिनसम्म छोरीलाई बोलाएँ । तर, कोठाभित्रबाट छोरीले कुनै प्रतिक्रिया नजनाएपछि घरभित्र पसेर हेर्दा छोरी झुण्डिएको अवस्थामा फेला परिन् । छोरीले आत्महत्या नगरी आरोपितहरूले हत्या गरी झुण्ड्याएको पीडित परिवारको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी बिरेन्द्र कुमार पासवानका अनुसार हत्या र बलात्कार साथै घटनालाई ढाक्छोप गर्न गाउँमा गाउँकै केही मानिसहरू पञ्चायत बसी छलफल गरी पीडित परिवारलाई क्षतिपूर्ति स्वरुप १ लाख ४० हजार रुपियाँ दिनु पर्ने भनी मिलापत्र गराउन खोजेको खुल्न आएको छ । घटनाका मुख्य आरोपितहरू सहित पञ्चायत बस्नेहरू उपर पनि अपहरण, शरीर बन्धक, बलात्कार गरी हत्या गरेको र पञ्चायतीद्वारा लेनदेन गरी मेलमिमलाप गर्न खोजेको अन्तर्गतको कसुरमा पुरक उजुरी लिएर अनुसन्धान सुरु गरेको डिएसपी पासवानले बताउनु भयो ।