बाल सुधारगृह, विराटनगरबाट फागुन २५ गते १४ जनालाई बाँके जिल्लाको डुडुवा गाउँपालिका-६ नौबस्तास्थित जयेन्दु बाल सुधारगृहमा स्थानान्तरण गरिएको छ ।
बाल सुधारगृह, विराटनगरका प्रमुख मिलन चौहानले १४ जनालाई ०८१ फागुन २६ गते स्थानान्तरण गरिएको बताउनु भयो । बाँकेको बाल सुधारगृहमा १८ वर्ष माथिकालाई राखिने भएका १८ वर्ष उमेर पुरा भएकाहरूलाई विराटनगरबाट बाँके पठाइएको प्रमुख चौहानले बताउनु भयो ।
बाल सुधारगृहमा भएका बालकबिच ०८१ फागुन २३ गते झडप भएपछि १८ वर्ष उमेर पुरा भएकाहरूलाई बाँके पठाइएको प्रमुख चौहानले बताउनु भयो । विराटनगर महानगरपालिका-३ स्थित सुधारगृहभित्र फागुन २३ गते भएको झडपमा तीन जना घाइते भएका थिए । घाइते सबै २२ वर्षका उमेर पुरा भएकाहरू भएको प्रमुख चौहानले बताउनु भयो । घाइते हुनेमा दुई जना पाँचथरका र एक जना सुनसरीका छन् । घाइतेको कोशी अस्पतालमा फागुन २३ गते उपचारपछि डिस्चार्ज गरिएको छ ।
बाल सुधारगृहभित्र ठूलाले सानालाई हेप्ने, बारम्बार विवाद र झगडा गर्ने समस्या थियो । सोही कारणले फागुन २३ गते झडप भएको प्रमुख चौहानले बताउनु भयो । १४ जनालाई स्थानान्तरण गरिसकेपछि तत्काललाई समस्या हल भएको प्रमुख चौहानको भनाइ छ ।
स्थानान्तरणका लागि बाल सुधारगृहले जिल्ला प्रशासन कार्यालय मोरङलाई सिफारिस गरेको थियो । सिफारिसका आधारमा प्रशासनले कारागार व्यवस्थापन विभागसँग अनुमति लिएर स्थानान्तरणको प्रक्रिया पुरा गरेको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले झडपका कारण अशान्त भएको सुधारगृहको अवस्था सामान्य भएको बताउनु भयो । ‘केहीलाई स्थानान्तरण गरिसकिएको छ । सुधारगृहको सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले अवस्था सामान्य भइसक्यो,’ यादवले भन्नु भयो ।
बाल सुधारगृह, विराटनगरको क्षमता ५० जनाको भएपनि हाल सुधारगृहमा २ सय ३० जनालाई राखिएको छ ।
बाल सुधारगृहमा १७ वर्ष मुनिका बालकलाई राख्नु पर्ने भएपनि बाल विज्याईँ कसुरमा पुर्पक्षका लागि बाल सुधारगृह आएका वा कैद भुक्तान भइ सकेपनि न्याय सम्पादनको प्रक्रिया विलम्व हुँदा १७ वर्ष उमेर नाघेकाहरूलाई समेत बाल सुधारगृह, विराटनगरमा राख्नु परेको सुधारगृह प्रशासनले जनाएको छ ।