११५ औँ अन्तराष्ट्रिय महिला दिवासको (८ मार्च) अवसरमा ०८१ फागुन २४ गते गौरीगंगा नगरपालिकाले इन्सेकलाई सम्मान स्वरुप प्रशंसा–पत्र प्रदान गरेको छ ।
मानव अधिकार तथा महिला सशक्तिकरणको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै गौरीगंगा नगरपालिकाका प्रमुख देविदत्त कडेलले इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खड्कराज जोशीलाई सम्मान स्वारुप प्रशंसा–पत्र प्रदान गरिएको हो ।
इन्सेकले विगत लामो समयदेखि गौरीगंगा नगरपालिकामा मानव अधिकार तथा महिला सशक्तिकरणको क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएकोले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा इन्सेकलाई सम्मान गरिएको गौरीगंगा नगरपालिकाका प्रमुख कडेलले बताउनु भयो ।

सोही अवसरमा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले समाजमा अहिले पनि बिभिन्न प्रकारका बिभेदहरु कायमै रहेको, महिला हिंसाका घटनाहरु बृद्धि हुँदैगएको तथ्यतथ्याङकले देखाएको र यस प्रकारका बिभेदहरुको अन्त्यका लागि निर्माण भएका कानुनहरुको प्रभावकारी कार्यान्वय गरी सचेतनाका कार्यक्रमलाई व्यपकता दिन आवश्यक रहेको बताउनु भयो ।
गौरीगंगा नगरपालिकाको आयोजना तथा इन्सेकलगायतका संघसस्थाहरुको सहयोग र समन्वयमा “सबै महिला र बालबालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण” मूल नाराका साथ आयोजित ११५ औँ अन्तराष्ट्रिय महिला दिवस समारोहमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ मा समावेश गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका तथ्यतथ्याङ्क र सुदूरपश्चिमको समर्ग मावन अधिकारको अवस्थाका बारेमा समेत इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक जोशीले प्रकाश पार्नुभएको थियो ।

लैङ्गिक हिंसाविरुद्धको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै यसअघि कैलारी गाउँपालिकाले इन्सेकलाई सम्मान स्वरुप प्रशंसा–पत्र प्रदान गरेको थियो ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, महिला अधिकारकर्मी, मानव अधिकारकर्मी, पत्रकार र स्थानीयहरुको सहभागिता रहेको थियो ।