INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार अभियोगमा १२ वर्ष कैद सजाय

१५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पाँचथर तुम्बेपा गाउँपालिका-५ कारबारीका ३१ वर्षीय नरकुमार कुरुङवाङलाई मोरङ जिल्ला अदालतले फागुन २१ गते १२ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले अभियुक्तलाई १२ वर्ष कैद सजाय र ५ लाख रुपियाँ जरिवाना हुने फैसला गरेको जिल्ला अदालत मोरङले जानकारी दिएको छ । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार जिल्ला अदालतका न्यायाधीश प्रकाश कोइरालाको इजलाशले आरोपित २०८० चैत २८ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।

आरोपितले बालिकालाई २०८० चैत ४ गते ललाइफकाइ विराटनगर महानगरपालिका -१५ रानीस्थित एक होटलमा पुर्याइ बलात्कार गरेको भन्दै साना हात नामक संस्थाले चैत ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । बालिकाको स्वास्थ्य परिक्षण चैत ५ गते नै कोशी अस्पताल विराटनगरमा भएको थियो ।

नेपाल-भारत सिमानास्थित रानी नाकाबाट साना हात नामक संस्थाको सहयोगमा प्रहरीले ०८० चैत ५ गते आरोपितलाई गिरफ्तार गरेको थियो । आरोपित विरुद्ध जिल्ला अदालत मोरङमा २०८० चैत २७ गते अभियोग पत्र दायर भएको थियो ।

अन्य

भिडियो