INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य सेवा लिन ६ घण्टा हिँड्नु पर्ने लाहाछेवरबासीको बाध्यता

उमाकुण्ड गाउँपालिका–१ गुम्देलको लाहाछेवरका स्थानीयलाई स्वास्थ्य सेवा लिन ६ घण्टा हिँड्नु पर्ने बाध्यता रहेको छ । गाउँमा स्वास्थ्य संस्था नहुँदा हिमाली दुर्गम गाउँ लाहाछेवरका बासिन्दाले सामान्य बिरामी पर्दा पनि स्वास्थ्य संस्था जान घण्टौँ हिँड्नु पर्ने बाध्यता छ । सो स्थानका स्थानीयलाई गुम्देल स्वास्थ्य चौकी आउन जान ६ घण्टाभन्दा बढी हिँड्नु पर्छ ।

Photo1-Ramechhap-20811119

नुम्बुर हिमालको फेदीमा रहेको लाहाछेवरमा ३२ घर परिवारको बसोबास रहेको छ । यो गाउँ जिल्लाको उत्तरी चाइनासँगको अन्तिम बस्ती पनि हो । अधिकांश शेर्पा समुदायको बसोबास रहेको सो गाउँमा मानिसहरू ठूलै बिरामी परे भने बिमारीलाई हेलिकप्टरबाट काठमाडौँ लैजानुको विकल्प नभएको स्थानीय शिक्षक पोटराज घिमिरे बताउनुहुन्छ । ‘हेलिकप्टरमा बिरामी काठमाडौं लैजान कम्तीमा १ लाख ५० हजार रुपैँया लाग्छ’, उहाँले भन्नुभयो ।

गाउँमा सुविधा नभएपछि अधिकांश परिवारले गाउँ छाडिसके । गाउँ छाड्न नसकेकाहरूले गाउँ धानेर बसेका स्थानीय आङनुरि शेर्पाले बताउनु भयो ।

वडाध्यक्ष ङावातिण्डु शेर्पाका अनुसार अझै पनि सो वडामा बाह्रै महिना सहज रूपमा यातायात साधन चल्न सक्ने अवस्था छैन । लाहाछेवरमा वर्षामा यातायात साधन सञ्चालन गर्न निक्कै गाह्रो छ । जसले गर्दा अहिले पनि स्थानीयले नुन, तेल तथा खाद्यन्न ढुवानीमा समेत सास्ती बेहोर्नु परेको छ ।

अन्य

भिडियो