खाँडाचक्र नपाका स्थानीय स्वस्थ्य सस्थाहरुमा दुइ महिनादेखि औषधिको अभाव हुँदा सेवाग्राहीलाई समस्या भएको छ । स्थानीय स्वास्थ्य संस्थामा सामान्य औषधी नहुँदा बिरामीहरू जिल्ला अस्पताल मान्मा, जुम्ला र सुर्खेत जान बाध्य भएका छन् ।
अस्पतालमा औषधी अभाव भएपछि सामन्य सिटामोल, जीवनजल पनि अभाव भएपछि ज्वरो, रुगा खोकी, पखालाका बिरामीहरू मर्कामा परेका छन् । औषधीको अभाव हुँदा सामान्य सिटामोल, जीवनजलको पनि अभाव भएपछि बिरामीलाई फिर्ता पठाउनु परिरहेको खाँडाचक्र नपा–९ मा रहेको स्वास्थ्य चौकी, पाँखाका हेल्थ असिस्टेन्ट तिलबहादुर मल्लले बताउनु भयो । मल्लका अनुसार ज्वरो, रुगाखोकी, पखाला लगएतका बिरामीहरूका लागि चाहिने दैनिक आवश्यक पर्ने औषधी अभाव रहेको छ ।
नगरपालिकामा प्रमुख प्रसासकीय अधिकृत नहुँदा महिनौँ भइसक्दा पनि औषधी खरिद हुन समस्या भइरहेको खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखा प्रमुख रबिन्द्र सेजुवालको भनाइ रहेको छ । ज्वोरोले सताएर स्वास्थ्य चौकी, पाँखा पुगेका पुगेका सोही नपा–८, दशलाकी ६४ वर्षीया धर्मा परियार औषधीको अभाव भएपछि हजारौँ खर्च गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला जान बाध्य हुनुपरेको बताउनुहुन्छ ।
राज्यले कर्णाली क्षेत्रको लागि निःशुल्क स्वास्थ्य सेवा भने पनि चर्काे मूल्य तिरेर सामान्य औषधी खरिद गरेर सेवन गर्नु परिरहेको छ । प्रत्येक स्थानीय तहमा २० लाख रुपियाँको हाराहारीमा औषधीका लागि बजेट गएको भए पनि खाँडाचक्र नपामा औषधी समेत खरिद गरेको छैन । कार्यालय प्रमुख नभएको भन्दै खाडाचक्र नपाले अहिलेसम्म औषधि खरिद गर्न टेण्डर गरेको छैन ।