सिगास गाउँपालिका–१ जुकेपानीस्थित आधारभूत स्वास्थ्य चौकीमा स्वास्थ्य चौकीमा विद्युत नहुँदा टर्च बालेर प्रसूतिलगायतका सेवा दिनु पर्ने बाध्यता छ । स्थानीय तहको पुनर्संरचनापछि जङ्गलमा निर्माण भएको यो आधारभूत स्वास्थ्य चौकी वरिपरि वस्ती नहुँदा दिउँसै पनि डर लाग्ने गरेको अनमी सबिना कार्कीले बताउनु भयो ।
पानीको धारा र बिजुलीबत्तीको अभावमा दुई कोठाको भुइँतले टिनको छानामूनि स्वास्थ्यकर्मीले विगत सात वर्षदेखि जर्किनमा पानी बोक्दै टर्च बालेर प्रसूतिलगायत अन्य सेवा दिँदै आएको अनमी कार्कीले बताउनु भयो ।
उहाँले भन्नुभयो– “स्वास्थ्य चौकीमा बत्ती र पानीको धारा छैन् । सोलार बिग्रेपछि टर्च बालेर स्वास्थ्य सेवा दिनु पर्ने बाध्यता छ ।” बिग्रेको सोलार देखाउँदै अनमी कार्कीले स्वास्थ्य चौकीको दयनीय अवस्था देखेर सेवाग्राही नै कम आउने गरेका छन् । गत वर्ष जम्मा तीन जना मात्रै प्रसूति सेवा लिन आए । दुई कोठाको भुइँतले टिनको भवनमा प्रसूति गराउने ठाउँ छैन् । ओपिडी सेवा लिने कोठासँगै जोडिएको प्रसूति कक्षको झ्याल ढोका बन्द गर्नु पर्ने अवस्था छ । उज्यालोको साधन छैन् । यस्तो अवस्थामा टर्च बाल्नु पर्ने हुन्छ ।”
पानीको धारा नहुँदा प्रसूति सेवा दिन जर्किनमा पानी बोकेर ल्याउने गरेको स्वास्थ्य चौकी इन्चार्ज नरेन्द्र ऐरीले बताउनु भयो ।
उहाँले भन्नुभयो– “पानी र बिजुलीको माग गरेका छौँ । बिजुली आउने आसामा स्वास्थ्य चौकीमा वाइरिङ गराएर तयार गरेको छु । बिजुलीका पोल र तार आए पनि बत्ती आएको छैन ।”

स्थानीय तहको पुनर्संरचनापछि पाँच रोपनी जग्गा उपलब्ध भएकाले वडा कार्यालय नजिकै आधारभूत स्वास्थ्य चौकी निर्माण गरिएको सिगास गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष रामचन्द्र ऐरीले बताउनु भयो ।
उहाँले भन्नुभयो– “भवन मुख्य समस्या हो । बिजुलीको तार र पोल तयार गरे पनि विद्युत कार्यालयले लाइन चार्ज गर्न ढिलो गरेको छ । बत्ती आए पानी तानेर पनि व्यवस्था गर्न सकिन्छ । पुनर्संरचनापछि नयाँ वडा बनेकाले गतिलो संरचना अभाव छ । बजेट कतैबाट आउँदैन । गाउँपालिकामा बजेट छैन् । प्रदेशसम्म पहुँच पुग्दैन । साह्रै समस्यामा छौँ ।”
स्थानीय प्रसूति सेवा केन्द्रमा गुणस्तरीय सेवा नपाउँदा यो वर्ष मात्रै वडाका २२ जना सुत्केरी स्वास्थ्य सेवा लिन छिमेकी जिल्ला डडेल्धुरा जान बाध्य भएको सिगास गाउँपालिका–१ का स्थानीय पवन चन्दले गुनासो गर्नु भयो । प्रसूति सेवा लिन डडेल्धुरा जानुपर्दा एम्बुलेन्सको एकतर्फी भाडा मात्रै १० हजार रुपियाँ तिर्नु परेको पीडा उहाँले सुनाउनु भयो ।
सिगास गाउँपालिका–१ को जुकेपानी आधारभूत स्वास्थ्य चौकी मात्र होइन् जयपृथ्वीमार्गमै रहेको दुदिलाखान सुरक्षित प्रसूति केन्द्रको अवस्था झन् दयनीय रहेको पाइएको छ । भाडाको जीर्ण घरमा सेवा दिनुपर्दा भत्किने डर भएको स्वास्थ्यकर्मी निर्मला सार्किले बताउनु भयो ।