१४ वर्षीया बालिकालाई आर्थिक प्रलोभन देखाई बन्धक बनाएर बेचबिखन प्रयास गरेको कसुरमा तीन जनालाई जिल्ला अदालत कास्कीले दोषी ठहर गरेको छ ।
लमजुङ घर भई पोखरा महानगरपालिका-१६ बस्ने २२ वर्षीया सरु बिक, ३४ वर्षीया भगवती अधिकारी र ३१ वर्षीय चिनियाँ नागरिक जि मिङ चेनलाई मानव बेचबिखन तथा ओसारपसार अभियोगमा अदालतले दोषी ठहर गरेको हो ।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले माघ २९ गते उनीहरूलाई दोषी ठहर हुने फैसला गरेको हो । अदालतका सूचना अधिकारी सुरज अधिकारीले पूर्णपाठ आएपछि उनीहरु माथिको कैद भुक्तानीबारे जानकारी दिने बताउनु भयो ।
साउन २९ गते प्रहरीले उनीहरूलाई गिरफ्तार गरेको थियो । प्रहरी अनुसन्धान अनुसार विक र अधिकारीले आर्थिक लाभ लिई बालिकालाई चिनियाँ नागरिक चेनसँग विवाह गराइदिएका थिए ।
पीडित बालिकाले दिएको उजुरीमा साउन १३ गते ती दुई महिलाले आफूलाई फकाएर पोखराको विन्ध्यवासिनी मन्दिरमा विवाह गराएको उल्लेख गरेकी थिइन् । विवाहपछि उनीहरू लेकसाइडस्थित एक होटलमा गएका थिए । तर, सोही रात बालिका भागेर काठमाडौँ पुगेकी थिइन् ।
बालिकाले साउन २९ गते मात्र उजुरी दिएकी थिइन् । जसका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।