पोखरा सहर माघ ३० गते देशभरकै सबैभन्दा प्रदूषित सहर बनेको छ । वातावरण विभागका अनुसार गण्डकी बोर्डिङ क्षेत्रको वायु गुणस्तर सूचकाङ्क १८७ एक्यूआई पुगेको छ ।
यो तथ्याङ्क देशैभरमा सबैभन्दा धेरै हो । पोखरापछि भरतपुरमा १७० एक्यूआईसहित दोस्रो स्थानमा रहेको छ भने ललिपुरको भैंसेपाटीको वायु प्रदूषण स्तर १५४ एक्यूआई मापन गरिएको छ ।
देशकै प्रदूषित सहर पोखरा बन्दा, पोखराको आकाश धुम्मिएको छ । माघ २९ गतेको भन्दा माघ ३० गते तापक्रमसमेत बढेको छ । तुवाँलोका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने यात्रुले समेत सास्ती पाएका छन् ।
केही दिनदेखि पोखराको आकाशमा नियमित उडान हुन नसकेको विमास्थल प्रशासनले जनाएको छ । हावामा प्रदूषणको मात्रा बढ्दा कुहिरो लाग्ने, हावाको चाप बढ्दा भिजिबिलिटी कम हुने समस्या देखिनुमा पोखराको प्रदूषण प्रमुख कारण रहेको बताइएको छ ।
योसँगै पोखरा महानगरपालिकाको फोहोर व्यवस्थापनमासमेत समस्या देखिएको छ । पाँच दिनदेखि फोहोर नउठ्दा मुख्य सडक तथा आवासीय क्षेत्रमा फोहोर थुप्रिन थालेको छ ।
पृथ्वीचोक, महेन्द्रपुल, अमरसिंहचोक र चिप्लेढुङ्गालगायत स्थानहरूमा दुर्गन्ध फैलन थालेको स्थानीयले बताएका छन् । महानगरले वडा नम्बर ३२ लामेआहाल क्षेत्रमा अस्थायी रूपमा फोहोर व्यवस्थापन गर्दै आएको थियो । तर, सम्झौता अवधि सकिएपछि स्थानीयले फोहोर विसर्जनमा रोक लगाएका छन् । यही कारण पोखरामा दुर्गन्ध फैलिएको हो ।
अन्तर्राष्ट्रिय वायु जाँच संस्था ‘आइक्युएयर’को तथ्याङ्कले पनि पोखरामा प्रदूषणको दर उच्च देखाएको छ । वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्युआई)मा मापन गरिन्छ । वायु गुणस्तर सूचकाङ्क जति कम भयो, उति राम्रो हो ।
आइक्युएयरले स्याटलाइटको माध्यमबाट संसारभरिका सहरहरुको हावाको गुणस्तर मापन गर्ने गरेको छ । पोखराको यो तथ्याङ्कले यहाँको हावा निकै अस्वस्थकर रहेको पुष्टि गर्छ ।
एक्युआई ५० सम्म हुनु राम्रो हो । ५० देखि १ सयसम्मलाई मध्यम मानिन्छ । एक्युआई १ सय ५० सम्म पुग्दा संवेदनशील ठानिन्छ भने २ सय सम्म पुगे अस्वस्थ हुन्छ । एक्युआई ३ सय पुग्नु जोखिमपूर्ण हो भने त्यसभन्दा माथि जानुचाहिँ घातक ठानिन्छ ।
वातावरण विभागले मङ्सिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने भएकाले विशेष सावधानी अपनाउन आग्रह समेत गरेको छ ।
बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास तथा मुटुका बिरामीहरू, गर्भवतीलाई प्रदूषणबाट बढी असर पर्ने भएकाले शतर्क रहन विभागले सुझाव दिएको छ ।
