INSEC Online

📅 २०८३ जेष्ठ २१

गालामा पन्युले डामेको आरोपमा शिक्षिका गिरफ्तार

भिमाद नपा–६ भिमाद बजारस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत १० वर्षीय बालकलाई तातो पन्युले डामेको आरोपमा प्रहरीले सोही विद्यालयकी शिक्षिका ३४ वर्षीया सुष्मा श्रेष्ठलाई माघ ३० गते गिरफ्तार गरेको छ ।

उक्त विद्यालयमा लेखापालको रुपमा कार्यरत श्रेष्ठले माघ २९ गते कक्षा ४ का विद्यार्थीलाई पढाउने क्रममा हल्ला गरेको भन्दै पीडित बालकलाई पन्यु तताएर गालामा डामेको पीडित पक्षको आरोप छ ।

शिक्षिका श्रेष्ठले आफ्नो छोरालाई तातो पन्युले गालामा डामेको पीडित बालककी आमाले बताइन् । आरोपित शिक्षिकालाई कारवाहीको माग गर्दै पीडित पक्षले माघ ३० गते बिहान इलाका प्रहरी कार्यालय भिमादमा उजुरी दिएको छ ।

त्यसपश्चात आरोपित शिक्षिकालाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी वीरेन्द्रबहादुर शाहीले बताउनु भयो । उहाँले उक्त घटनाको थप अनुसन्धान गरी कारवाही गरिने बताउनु भयो ।

पीडित बालकको उपचार भिमादकै एक नीजि अस्पतालमा गरिएको छ । विद्यालयका सञ्चालक एवम् आरोपित लेखापालका बुबा कृष्णदेव श्रेष्ठले पढाउने क्रममा बच्चाहरुले हल्ला गरेको हुँदा सामान्य रुपमा सम्झाउने क्रममा उक्त घटना भएको बताएको पनि प्रहरीले जनायो ।

अन्य

भिडियो