निर्वाचनमा बालबालिका प्रयोग गर्न नहुने आचारसंहिता जारी गरेको निर्वाचन आयोगले आफैँ बालबालिका प्रयोग गरी निर्वाचन प्रचारप्रसारका सामग्री टाँस्न तथा प्रचारमा प्रयोग गरेको पाइएको छ ।

मङ्सिर ९ गते बुद्धभूमि नपा-४ मा निर्वाचन सामग्रीसहित केही बालबालिकाहरू निर्वाचन आयोगका प्रचार सामग्रीहरू गाउँगाउँमा टाँस्दै हिँडेको पाइएको हो ।
आयोगले राजनीतिक दललाई आचारसंहिता पालना गर्न लगाउने तथा कारबाही समेत गर्ने तर आयोगका प्रचार सामग्रीसहित बालबालिका हिँडेको अवस्थामा बालबालिका भेटिएपछि इन्सेक प्रतिनिधिले सामग्री सहितको तस्विर लिएका थिए ।

निर्वाचन आयोगले मतदाता शिक्षाका लागि स्वयम्सेवक खटाएको भएपनि स्वयम्सेवकहरू भने हालसम्म गाउँमा नआएको बुड्ढी-४ का स्थानीयबासीले प्रतिक्रिया दिएका छन् ।
निर्वाचन प्रचारका काममा बालबालिका प्रयोग नगर्ने भन्ने निर्देशन दिने आयोग आफ्नै निर्देशन विपरीत हिँड्नु दुखद् भएको मानव अधिकारका लागि युवा सञ्जालका सहसचिव विवेक पौडेलले बताए ।
सो घटनाका बारेमा सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले निर्वाचन कार्यालयले प्रचारप्रसारमा बालबालिका प्रयोग गर्नु आफ्नै आचारसंहिता उल्लङ्घन भएको बताउँदै खबरदारी आवश्यक रहेको प्रतिक्रिया दिए ।