INSEC Online

📅 २०८३ जेष्ठ २२

दुई वर्षदेखि २१ लाख रुपियाँभन्दा बढी रकम नपाएको भन्दै प्रशासनमा ज्ञापन

बेनी–दरवाङ सडक खण्डमा काम गरेका ३२ जना मजदुरहरुले दुई वर्षदेखि पारिश्रमिक नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय म्याग्दीमा ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल बिजुली, पेन्टर, प्लम्बर निर्माण मजदुर युनियन(क्युपेक) नेपाल म्याग्दीका कार्यवाहक अध्यक्ष जितबहादुर किसानको नेतृत्वमा गएको मजदुरहरुको टोलीले ०७९ चैत मसान्तसम्म काम गरेको २१ लाख ६४ हजार २ सय ६५ रुपियाँ नपाएको भन्दै ज्ञापनपत्र बुझाएका हुन् ।

बेनी दरवाङ सडक खण्डको मालिका र रघुगङ्गा गाउँपालिका क्षेत्रमा काम गरेका ३२ मजदुरहरुले उक्त रकम प्राप्त गर्न बाँकी रहेको भन्दै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललाई ज्ञापनपत्र बुझाएको बताएका छन् ।

चौरजहारी नगरपालिका–८ रुकुमका ३५ वर्षीय तुलाराम सार्की नेतृत्वमा काम गरेका ३२ जना मजदुरहरुले उक्त रकम नपाएको ज्ञापनपत्रमा उल्लेख छ । ०७९ मङ्सिर १५ गते सम्झौता गरेर चैत मसान्तसम्म काम गरेको १५ लाख ४ हजार ५ सय रुपियाँ रकम मजदुरले पाउन बाँकी रहेको छ ।

त्यस्तै ०७८ वैशाख २३ गतेको सम्झौता अनुसार काम गरेको ५ लाख १७ हजार ९ सय ३१ रुपियाँ र अर्को एउटा सम्झौता बमोजिमको १ लाख ४१ हजार ८ सय ३४ रुपियाँ गरी कुल २१ लाख ६४ हजार २ सय ६५ रुपियाँ पाउन बाँकी रहेको तुलाराम सार्कीको भनाइ छ ।

बिरुवा क्याराभान जेभीका प्रोपाइटर चन्द्र थकालीबाट लिएर मालिका गाउँपालिका–६ दुखुका श्रीप्रसाद रोकाले आफूहरुलाई पैसा दिन पर्ने भए पनि पाउन नसकिएको ज्ञापनमा उल्लेख छ । मालिका गाउँपालिकाका निवर्तमान प्रमुख समेत रहनुभएका रोकाले क्याराभानबाट लिएर दिन्छु भनेको भए पनि क्याराभानबाटै नपाएकोले नदिएको भन्ने गर्नुभएको मजदुरको भनाइ छ ।

क्युपेक नेपालका केन्द्रीय महासचिव राजेन्द्र बिष्ट, सचिव बलादेवी राई, म्याग्दी जिल्ला सचिव पुजा छन्त्याल लगायतको मजदुरहरुको टोलीले प्रशासनमा पुगेर ज्ञापनपत्र बुझाएको थियो ।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सम्बन्धित पक्षलाई सहजीकरणका लागि पत्र पठाइ सकेको जानकारी दिनु भयो । मजदुरले पारिश्रमिक नपाएको र कम्पनीले पनि आफूले दिनु पर्ने बाँकी रहेको भनेको हुनाले चाँडै सुल्झाउन निर्देशन दिएको उहाँले बताउनु भयो ।

अन्य

भिडियो