भोटेकोशी गाउपालिका—१, लिस्तीका २० वर्षीय दिनेश विश्वकर्माको हत्या घटनाको इन्सेकद्वारा ०८१ माघ २१ गते छानविन तथा स्थलगत अनुगमन गरेको छ ।
इन्सेक जिल्ला प्रतिनिधि र सामुदयिक विकास तथा वातावरण संरक्षण मञ्चका मानव अधिकार अधिकृत मधुसुधन सापकोटाको टोलीले दुई दिन लगाएर घटनाको स्थलगत अवलोकन गरी तथ्य सङ्कलन गरेको छ । घटना अध्ययनका लागि घटना स्थल पुगेर पीडितपक्ष, आरोपित पक्ष, प्रत्यक्षदर्शी, स्थानीय तथा प्रहरीसँगको कुराकानी र छलफल पश्चाल पीडितलाई भोटेकोशी गाउँपालिका—२ स्थित कोदारीका २२ वर्षीय उजेल बहादुर घतानी र सोही ठाउँका १९ वर्षीय राजकुमार सुनारले आफन्त दिदि बहिनीलाई एकान्तमा ल्याएर प्रेम गरेको आरोपमा भिरमा लखेटेर घाइते बनाएको अवस्थामा प्रहरीले फेला पारेको र उपचारको लागि स्वास्थ्य चौकी लैजाने क्रममा बाटोमा मृत्यु भएको पाइयो ।
घटना विवरण अनुसार पीडित तातोपानी धारा नुहाउन माघ १८ गते विहान घरबाट हिँडेकोमा तातोपानी धारा नजिक भिउटाउरमा पुग्दा उहाँकी प्रेमिका भोटेकोशी गाउँपालिका—२ की १८ वर्षीय देवकी घतानीसँग भेट भयो । विहान १० बजे भेट भएका दिनेश र देवकीबिच एक घण्टा वार्ता भएको थियो । वार्ता भइरहेकै अवस्थामा आरोपित उजेल बहादुर घतानी र राजकुमार सुनार माथिबाट आएर गालिगलौज गरी भाग्ने क्रममा पीडित भोटेकोशी गाउँपालिका—२, कोदारी स्थित भिउटावरको भिरभन्दा तल अरनिको पिज सडकमा पछारिएर घइते भएका थिए । घाइते पीडितको उपचारको लागि बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।
पीडित पक्षले आरोपितहरू देवकी घतानी, उजेल बहादुर घतानी र राजकुमार सुनार विरुद्ध ०८१ माघ २० गते इलाका प्रहरी कार्यालय, बाह्रविसेमा उजुरी दियो । शवको पोष्टमार्टम माघ २० गते बाह्रविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भयो । आरोपित तीन जनालाई प्रहरीले माघ १९ गते गिरफ्तार गरेकोमा माघ २० गते जिल्ला अदालतको आदेशले अनुसन्धान बढाएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर सुमेस पाण्डेले बताउनु भयो ।