करिव दुई दशक अघि गाडिएका पुराना र जीर्ण काठे पोल प्रतिस्थापन नहुँदा दुर्घटनाको जोखिम बढेको छ । काठका पोल जीर्ण भएका कारण हावा चल्दा, पानी पर्दा र पोलमा चरा बस्दा तार सर्ट भएर जोखिम हुने गरेको छ । जसका कारण दुर्घटनाको जोखिम बढेको भन्दै नागरिक त्रसित बनेका छन् । त्रिवेणी गाउँपालिका–६, भुम्केज्युलाका छवि थापाको घर छेवैमा विजुलीको पोल छ । करिब २२ वर्षअघि बिजुली विस्तारको क्रममा काठको पोल गाडियो । जीर्ण पोल र लत्रिएका तारले गर्दा परालको टौवामा आगलागी भएको सुनाउँदै मानवीय क्षतिको जोखिम रहेको उहाँले बताउनु भयो । ‘बिजुलीको तार सर्ट भएर मङ्सिरमा परालको टौवामा आगलागी भयो, ७० मुरी धानको सबै पराल खरानी भयो, घर पनि त्यतीकै जोखिम छ । घरको छाना जस्तापाताको भएकाले केही सहज भयो, नत्र घरै सखाप हुने थियो’- उहाँले भन्नुभयो ।
भुम्केज्युलाकै बिपिन ओलीको घर अगाडि विजुलीको काठे पोल ढल्यो । काठको जीर्ण पोलमा बिजुली नभएको र घरको छानो टिनको भएकाले थप क्षति भएन । तर भोलीका दिनहरूमा जोखिम बढ्ने भन्दै काठका पोल हटाउनै पर्ने उहाँको माग छ । ‘त्यो बेला हल्का हावा चलिरहेको थियो, एक्कासी बिजुलीको पोल घरमा ढल्यो, मानवीय क्षती हुन पाएन् । काठका पोल त हटाउनै पर्छ, यसले ठुलै दुर्घटनाको जोखिम बढाएको छ’ – उहाँले भन्नुभयो । त्रिबेणीको भुम्केज्युला, मजाउखोला र दामिज्युलाखोला पारी गरेर करिब ८० ओटा काठका पोल छन् ।
अहिलेसम्म काठका पोल नहटाइँदा यहाँका नागरिक कुहिएका पोलबाट जोखिम मोलेर बिजुली उपयोग गर्न बाध्य छन् । जीर्ण काठका पोल हटाउन माग गर्दै विद्युत कार्यायलसम्म पुगे पनि कुनै सुनुवाइ नभएको स्थानीय ओजबहादुर खत्रीले बताउनु भयो । ‘हामी पटक–पटक बिद्युत कार्यालय पुगेका छौँ, हामीले हुन्छ भनेर आश्वासन मात्रै दिनुहुन्छ, तर पोल हटाउन काम भएको छैन्’ – उहाँले भन्नुभयो । यस क्षेत्रमा २०६२ सालमा काठका पोलबाट विद्युत विस्तार भएका थिए । तर पोल प्रतिस्थापन नहुँदा कुहिएका काठका पोल पटक–पटक भाँचिएर ढल्ले गरेका छन् ।
भाँचिएर बाँकी रहेका पोल फेरि गाडेर नागरिकले विद्युत उपयोग गरिरहेका छन् । त्रिबेणी गाउँपालिका–६ का वडाअध्यक्ष मनोज शाह जीर्ण काठका पोल परिवर्तन गर्न विद्युत कार्यालयमा आग्रह गर्दा पनि आश्वासन बाहेक केही नपाएको गुनासो गर्नुभयो । ‘हामी निर्वाचित भएको पनि अढाई बर्षभैसकेको छ, यो विचमा हामीले पनि धेरै पटक बिद्युतमा गुहार गरेका छौँ, तर काम भएको छैन्’ उहाँले भन्नुभयो । त्रिवेणी गाउँपालिका, छत्रेश्वरी गाउँपालिकाका केही बस्तीमा शङ्खमुल ग्रामीण विद्युतीकरण एवम् वितरण सामुदायिक संस्थाबाट विद्युतीकरणको काम भएको थियो । तर सामुदायिक संस्था खारेज भएसँगै पुराना काठका पोल परिर्वतनमा समस्या भएको छ । यस्तै शारदा नगरपालिकाका केही बस्तीमा पनि अझै बिजुलीका काठकै पोल छन् ।
वर्षौँदेखिका काठका पोल हटाउन बजेट आइसकेको र केही समयमै काम सुरु गरिने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सल्यानका प्रमुख दिनेश पौडेलले बताउनु भयो । ‘हामीले स्थलगत निरिक्षण गरिसकेका छौँ, हामीसँग वजेट नभएर काम हुन सकेको थिएन्, बजेटको माग गरेका छौँ, जिल्लाभरमा करिब पाँच सय काठका पोल भएको आँकलन छ, एकैपटक सबै पोल हटाउन सक्ने सम्भावना छैन, तर आवश्यकता र मागका आधारमा काठका पोल हटाउँछौँ । आउने असारसम्म जोखिममा रहेका धेरै पोल प्रतिस्थापन गर्छौ’ – उहाँले भन्नुभयो । उहाँका अनुसार सल्यानका ५४ हजार घरधुरीमध्ये करिब ३२ हजार घरधुरीमा बिजुली बलिसकेको छ । पोल हटाएर विद्युतीय दुर्घटनाको जोखिमबाट नागरिकलाई जोगाउन तत्काल काम गर्नुपर्ने सरोकारवाला निकायको माग छ ।