INSEC Online

📅 २०८३ जेष्ठ २१

नेता आएर गए व्यथा गएन !

बाढीले बस्ने घर र खाने अन्न फलाउने खेत सबै बगाएपछि पनौती नपा–१२ रोशी बजारकी रिता केसी छिमेकीको घरमा बस्दै आउनु भएको छ । भएको घरबार, लत्ताकपडा अनि पकाएर खाने भाँडाकुँडा सबै बगाएपछि राज्यले केही गरिदिन्छ कि भन्ने आशामा बस्दै दिनगन्ती गरेको चार महिना भयो । राज्यले बासस्थान बनाइदिने भन्ने कुराले मनमा आश पालेर बसेका बाढीपहिरो पीडितको चार महिना त्यत्तिकै बितेको छ । असोज ११ र १२ गते आएको बाढी र पहिरोले अस्तव्यस्त काभ्रेपलाञ्चोक जिल्लाका नागरिक सरकारको बाटो हेरेर बसेका छन् । विपद् सामनाको लामो समय वितिसक्दा पनि पीडितहरूले न राहत पाए न त क्षतिको तथ्याङ्क नै सङ्कलन भइसकेको छ ।

 

पाँच रोपनी जग्गामा लहलह झुलेको धान सबै सखाप हुनेगरी नजिकै रहेको घरबारीसँगै बाढीले बगाएपछि अहिले उनीहरू छिमेकीको घरमा रात बिताउँदै छन् । ‘खोला बाढीले ल्याएर थुपारेको ढुङ्गा, दाउरा र काठ पन्छाएर भएपनि अन्न फलाउने खेत त बनाउनै पर्‍यो ।’-यत्रतत्र छरिएका काठ र दाउरा टिप्दै केसीले भन्नु भयो-‘आफ्नो भएको जग्गा नै यही हो, अरु विकल्प केही छैन ।’ बाढीपछि खाद्यान्न र जस्तापाता पाएको उहाँले बताउनु भयो । सरकारले छिट्टै बास बस्ने ठाउँको व्यवस्था गरिदिए बाढीले बगाएर खोलासँगै धमिलिएको मन केही मात्रामा सफा हुने केसीको भनाइ छ ।

 

बाढी–पहिरो प्रभावितले अझै राहत पाएका छैनन् । राहतका नाममा एक बोरा चामल बाहेक केही नपाएको बताउने स्थानीयलाई दैनिकी चलाउनै धौ–धौ छ । पीडितहरू छिमेकीको सहारामा बस्दै आएका छन् । कतिपय त भत्किएकै घरमा जोखिम मोलेर बस्न बाध्य छन् । बाढी र पहिरोमा परेका कतिपय विद्यालय अझै सञ्चालनमा आउन सकेका छैनन् । खानेपानीदेखि विद्युतका संरचना बगेका छन् । बाढीले ढलाएको घर हेर्दै खोलाको बगरमाथि त्रिपालमा सुकाएको धान सफा गर्दै रहनु भएकी रोशी गाउँपालिकाकी धनकुमारी तामाङले खाने र बस्ने स्थानको सुनिश्चितताको आशामा दिन बिताइ रहेको बताउनु भयो । खेती किसानी गरेर जीविका चलाउँदै आएका परिवारको आम्दानीको रुपमा रहेको फर्निचर उद्योगसमेत घरसँगै बाढीले बगाएपछि एक महिनादेखि घर न कामको जीवन बिताइरहेको उहाँले सुनाउनु भयो । पनौती नपा–२ र १२ को सीमा क्षेत्रमा मात्रै ११ ओटा खानी तथा क्रसर उद्योग छन् । अव्यवस्थित खानीका कारण पनि ठूलो विपद् निम्तिएको यहाँका जनप्रतिनिधिले स्वीकारेका छन् ।

 

सरकारले काभ्रेका धुलिखेल र बनेपा बाहेक ११ ओटा स्थानीय तहलाई ३ महिनाका लागि सङ्कटग्रस्त स्थानीय तहको सूचीमा राख्यो । सङ्कटग्रस्त सूचीको समय सकिँदा समेत विपद्बाट प्रभावित नागरिकको आवश्यकता पूरा गर्नेतर्फ काम अघि बढेको छैन । सोही गाउँका रवीन्द्र नगरकोटीले बाढीपहिरो गएको एक महिना बितिसक्दा पनि के कस्तो समस्या छ र खाने बस्नेको अवस्था के कस्तो छ भनेर स्थानीय सरकार एक पटक पनि सोध्न नआएको गुनासो गर्नु भयो । सबैचिज बगाएपछि बालबालिकाहरूको पढ्ने ठाउँ र बस्ने स्थानको सुनिश्चितता नभएर समस्यामा परेको उहाँले गुनासो गर्नु भयो ।

 

स्थानीय राजेन्द्र केसीले व्यक्तिको घरबारी र खेत सबै बगाएपछि बिचल्लीमा परेका नागरिकलाई सुरक्षित ठाउँमा आवासको व्यवस्थापन गर्न अपरिहार्य रहेको बताए । ‘विपद्पछि उद्धार र राहतसँगै बाटोघाटो त बन्यो, तर उहाँहरूलाई त्यसले खासै छोएको छैन ।’-उहाँले भन्नु भयो-‘सुरक्षित तरिकाले बस्ने आवास छैन । कमाई खाने ठाउँ छैन । राज्यले यहीको भूगोललाई छनौट गरेर एकीकृत आवासको व्यवस्थापन गर्न आवश्यक छ ।’

 

पनौतीका धन गुरुङ गाउँका युवाहरूलाई ज्यालामा लगाएर बाढीले थुपारेको गेग्रानहरू पन्छाउँदै भन्नु भयो-‘बल्ल मान्छेहरूलाई केही फुर्सद हुन थालेपछि पुरेको ठाउँलाई सफा गर्न थालेको हुँ ।’ दुई तले घर बगाएपछि शङ्कर तामाङ छिमेकीको घरमा बस्दै आउनु भएको छ । बस्ने घर बनाउन पैसा नै नभएको र खाने अन्नपात सङ्घसंस्थाले वितरण गरेकोबाट चलाइरहनु भएका उहाँ राज्यले सुरक्षित बस्ने ठाउँको व्यवस्थापन गरिदिने आशामा रहेको बताउनु हुन्छ । बस्ने घर नै नहुँदा बिजुली बत्ति, मोटरबाटो र खानेपानी कसरी उपभोग गर्ने ? ति सबैले नछोएको मनलाई सुरक्षित आवासले मात्रै छुनसक्ने भएकाले राज्यले अब त्यसमा ध्यान केन्द्रित गर्नुपर्नेमा उहाँले जोड दिनु भयो ।

 

पनौती नपा–१२ का वडाध्यक्ष जयराम केसीले यहाँका नागरिकको लागि बगरमा बाढीको र डाँडापाखामा पहिरोको डर भएकाले व्यवस्थित एवम् एकीकृत बस्ती विकासतर्फ नै सोच्दा उचित हुने बताउनुहुन्छ । यसमा सङ्घीय सरकारको सहयोगको अपेक्षामा रहेकाले नागरिकको आवास व्यवस्थापनमा ढिलाइ भइरहेको उहाँको भनाइ छ । पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी जनताको पहिलो आवश्यकता आवास भएकाले बस्ने ठाउँको व्यवस्थापन गर्न सकेको अवस्थामा बस्तुभाउ पालेर पुनः जीवनयापनलाई विस्तारै लयमा फर्काउन सकिने बताउनुहुन्छ ।

 

जिल्ला विपद् व्यवस्थापन समितिले बासस्थान निर्माण गर्ने विषयमा जोखिमयुक्त बस्तीको भौगोलिक अवस्था अध्ययन गरी राष्ट्रिय जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण र शहरी विकास तथा भवन कार्यालयलाई अनुरोध गरेको छ । विपद्पछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलगायतले बाढीपहिरो प्रभावित क्षेत्र पनौती नपा–१२ रोशी भूमिडाँडाको स्थलगत निरीक्षण गरेपनि यहाँको पीडितको अवस्था उस्तै रहेको छ । ‘नेता आएर गए व्यथा भने उस्तै रह्यो’-यहाँका स्थानीयले गुनासो गरे ।

अन्य

भिडियो