INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्येष्ठ नागरिक र अपाङ्गताभएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण

वषौँदेखि नागरिकता पाउनबाट वञ्चित शारीरिक अपाङ्गता भएका, ज्येष्ठ नागरिक, बस्न र हिड्डुल गर्न नसक्ने, असक्त तथा असहाय व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय, दार्चुलाले घरमै पुगेर नेपाली नागरिकताको प्रमाण–पत्र र राष्ट्रिय परिचय–पत्र वितरण गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले स्थानीय तहसँगको समन्वयमा उनीहरुको घरघरमै पुगेर एकसाथ नेपाली नागरिकताको प्रमाण–पत्र र राष्ट्रिय परिचय–पत्र वितरण गरेको हो । जिल्ला प्रशासन कार्यालयले वैशाखयता मात्रै १९ जनालाई नागरिकता र २२ जनालाई राष्ट्रिय परिचय–पत्र वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले बताउन’ भयो ।

photo20250203darchula (1)

शैल्यशिखर नगरपालिका वडा नम्बर ४ र ५ मा मात्रै १५ जनालाई नागरिकता र २१ जनालाई राष्ट्रिय परिचय–पत्र वितरण गरिएको छ ।

शैल्यशिखर नगरपालिकाको समन्वयमा जिल्ला प्रशासन कार्यालयले पूर्ण रूपमा शारीरिक अपाङ्गता भएका, ज्येष्ठ नागरिक र अशक्तहरुलाई नागरिकता र राष्ट्रिय परिचय–पत्र घरघरै पुगेर उपलब्ध गराएको सहायक प्रमुख जिल्ला अधिकारी साउदले बताउनु भयो ।

नेपालको संविधानले व्यवस्था गरे अनुरूप कोही पनि नागरिक नागरिकताबाट वञ्चित नहुन भनेर स्थानीय तहको समन्वयमा घरदैलो सेवा प्रवाह गर्दै आएको उहाँको भनाइ छ ।

photo20250203darchula (3)

शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष जनक डाँगाले आफूहरुको मागअनुसार जिल्ला प्रशासन कार्यालयले गाउँमै पुगेर असहाय, अशक्त तथा अपाङ्गता भएकाहरुलाई नागरिकता र राष्ट्रिय परिचय–पत्र उपलब्ध गराएको बताउनु भयो ।

उहाँले भन्नुभयो– ‘शारीरिक रूपमा पूर्ण अपाङ्गता भएकाहरू प्रशासनसम्म पुग्न नसक्दा नागरिकताबाट वञ्चित हुनु परेको थियो । अब उहाँहरूले एकैपटक नेपाली नागरिकताको प्रमाण–पत्र र राष्ट्रिय परिचय–पत्र पाउनुभएको छ । वर्षौदेखि नागरिकता नहुँदा विभिन्न सेवा लिनबाट वञ्चित भएकाहरुले राहत पाएका छन् ।’

photo20250203darchula (4)

नागरिकता पाएपछि अपाङ्गता भएका, अशक्त, ज्येष्ठ नागरिक खुःसी भएका छन् । स्थानीय गोरे डाँगाले भन्नुभयो, वर्षाैदेखि नागरिकता नपाएर बसेका थियौँ । बुढेसकालमा भए पनि नागरिकता पाइएकोमा खुःसीछौँ । जिल्ला प्रशासन कार्यालयले अघिल्लो वर्ष नौ जनालाई घरमै पुगेर नागरिता वितरण गरेको थियो ।

नेपालको संविधानको भाग २ धारा १० देखि धारा १५ सम्म नागरिकतासम्बन्धी व्यवस्था उल्लेख गरिएको छ । धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नेपाली नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भनिएको छ ।

photo20250203darchula (5)

 

अन्य

भिडियो