INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्लामा आफन्तबाट हत्या र बलात्कारका घटना बढ्दै

गुल्मीमा आफन्तबाट हत्या र बलात्कारका घटना बढ्दै गएको छ । मालिका गाउँपालिका–८ का २९ बर्षीय डम्बर बहादुर घर्तिले मदिरा सेवन गरेर ६० बर्षीय बुबा लाल बहादुर घर्तिलाई ०८१ माघ ७ गते कुटपीट गरेर हत्या गरे । आरोपितलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले माघ ८ गते गिरफ्तार गरेर अनुसन्धान गरिरहेको छ ।

११ वर्षीया बालिकालाई ७९ वर्षीय हजुरबुबाले ०८१ वैशाख ११ गते बलात्कार गरे । पीडित पक्षले वैशाख ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले आरोपिलाई वैशाख १२ गते गिरफतार गरेर अनुसन्धानपछि अदालत पेश गरे । जिल्ला अदालत गुल्मीले जेठ १ गते आरोपितलाई पुर्पक्षका लागि जिल्ला कारागार गुल्मी चलान गरे । बालिकालाई इन्सेकले १० हजार सहयोग गर्‍यो ।

इस्मा गाउँपालिका–४ दोहलीकी ५० वर्षीया मिना दर्लामीलाई छिमेकी र आफन्त समेत रहेका ४५ वर्षीय मिन बहादुर अछामीले ०८१ मङ्सिर ३० गते हत्या गरे । अछामीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीको टोलीले पुस १ गते गिरफ्तार गरेर अनुसन्धानपछि अदालत पेश गरेकोमा पुस २६ गते पुर्पक्षका लागि थुनामा पठायो । सामान्य विवाद अपराधमा रुपान्तरण भयो ।

मालिका गाउँपालिका–८ का ४६ वर्षीय दधिराम लम्सालले आफन्तकै १६ वर्षीया बालिकालाई ०८१ भदौ १७ गते बलात्कार गरेको भन्दै प्रहरीले गिरफ्तार गर्‍यो । लम्साल जिल्ला अदालत गुल्मीको असोज ६ गतेको इजलासले पुर्पक्षका लागि थुनामा पठायो । त्यस्तै, १३ वर्षीया आफन्त बालिकालाई ०८१ असार ३१ गते बलात्कार गरेको भन्दै चन्द्रकोट गाउँपालिका–८ का ४७ वर्षीय टंकबहादुर कामीविरुद्ध पीडित पक्षले साउन १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दियो । आरोपितलाई प्रहरीले ०८१ साउन १ गते गिरफ्तार गरि अनुसन्धान गरेर अदालत पेश गरेकोमा साउन १८ गतेको इजलासले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठायो ।

यी जिल्लाका प्रतिनिधिमूलक घटना हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बलात्कार र हत्याका घटना नजिकका चिनेजानेका आफन्त र छिमेकीहरुबाट भएका छन् । जिल्ला प्रहरी कार्यालयका एसपी राजन भुजेलले कम घटनामा मात्रै बाहिरका मान्छेहरूको संलग्नता रहेको बताउनु भयो । उहाँले छोटो योजनामै कसुर गर्न सजिलो हुने भएकाले आफन्तहरूकै पेरिफेरीमा धेरै हुने बताउनु भयो ।

अधिकांश बलात्कार र हत्याका घटनामा मदिरा सेवन देखिएका नियन्त्रणमा सरकारको ध्यान पुग्नुपर्ने मालिका गाउँपालिका–८ का वडासदस्य सागर गिरीले जोड दिनुभयो । उहाँले मालिकामै दुई ठूला घटना मदिराकै कारण भएकाले आफूहरूले कम गुणस्तरका मदिरा बिक्री वितरण र सेवनमा कठाई गर्ने निर्णय गरेको बताउनु भयो ।

मालिका गाउँपालिकाले ०८१ माघ १२ गते बैठकले प्लास्टिक वोत्तलमा राखि विक्रि वितरण गर्दै आएको अत्यन्तै कम गुणस्तरको सोफि (बोलचालको भाषामा टुङकुला) रक्सीलाई विक्रि वितरणमा पूर्ण रुपमा बन्देज गर्ने र व्यवसायीहरूसँग भएको स्टकलाई सात दिनभित्र व्यवस्थापन गरिसक्नका लागि समय उपलब्ध गराउने निर्णय गरेको मालिका गाउँपालिकाको उपाध्यक्ष तथा न्यायिक समिति संयोजक उपेन्द्र अर्यालले बताउनु भयो ।

अन्य

भिडियो