INSEC Online

📅 २०८३ जेष्ठ २१

एक वर्षदेखि विशेषज्ञ स्वास्थ्य सेवा ठप्प हुँदा बिरामीहरूलाई सास्ती

गौमुखी गाउँपालिकाले सञ्चालन गरेको विशेषज्ञ डाक्टर (एमविविएस) सहितको स्वास्थ्य सेवा एक वर्षदेखी ठप्प हुँदा सेवा लिन आउने बिरामीहरूलाई सास्ती भएको छ ।

०८० माघ महिना देखि डाक्टर नहुँदा गाउँपालिका क्षेत्रका विरामी मर्कामा परेको स्थानीय गौमुखी गाँउपालिका—५ का ३२ वर्षीय जनक बहादुर केसीले बताउनु भयो । ‘डाक्टर नहुँदा जनतालाई समस्या भएको छ । एक्सरे मेसिन, ल्याव सेवा, इसिजी मेसिन समेत अलपत्र परेका छन्’ – उहाँले भन्नुभयो । उहाँले डाक्टर सहितको सेवालाई निरन्तरता दिन र छिटो व्यवस्थापन गर्न गाउँपालिकालाई आग्रह गरेको बताउनु भयो ।

जिल्लाको दुर्गम पालिका भएकाले चिकित्सकको व्यवस्था भएमा नागरिकलाई सर्वसुलभ सेवा मिल्ने स्थानिय कृष्ण जैसीको भनाइ छ । उक्त सुविधाबाट छिमेकी गुल्मीको मदाने गाउँपालिकाको अग्लुङका नागरिक समेत लाभान्वित हुने उहाँले बताउनु भयो । विगतमा पालिकाका जनताले चिकित्सक सहितको स्वास्थ्य सेवा हुँदा सहजै स्वास्थ्य सेवा पाएको समेत उहाँले बताउनु भयो ।

सूरुमा स्वास्थ्य सेवा प्राप्त हुँदा स्थानीय नागरिकहरू खुसी भएको र अहिले सेवा बन्द हुर्दा आफूहरूले स्वाथ्य सेवा लिन गाडिमा करिव चार घण्टाको यातायात प्रयोग गरी जिल्ला अस्पताल बिजुवार जानु पर्ने बाध्यता सृजना हुर्दा आफूहरूलाई दुख कष्ट भएको गौमुखी गाउँपालिका—२ का ४० वर्षीय लिलामणी थापाले गुनासो गर्नुभयो ।

कोभिड–१९ शुरु भएपछि गाँउपालिकाले डाक्टरको व्यवस्था गरेको थियो । त्यतिबेला मासिक एक लाख २० हजार रुपियाँ तलव सुविधा दिएर डाक्टर राखिएको गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले बताउनुभयो । महालेखा परीक्षकबाट उक्त तलव सुविधा बढी भएको भन्दै प्रश्न आएकाले सरकारी तलव स्केलमा डाक्टर राख्ने निर्णय गरिएको अध्यक्ष गिरीको भनाइ छ । तर उक्त सेवा सुविधामा डाक्टर बस्न नमानेपछि सेवा रोकिएको उहाँले जानकारी दिनुभयो ।

‘स्विकृत दरबन्दी नभएको र बेरुजु देखिने भएपछि आन्तरीक आम्दानीबाट निरन्तरता दिन खोजेका थियौँ । दुई पटक विज्ञापन पनि गरेको हो तर कोहि पनि सम्पर्कमा आउनुभएन’ – उहाँले भन्नुभयो । डाक्टरको व्यवस्था हुँदा धेरै जनताले लाभ लिएकोले अहिलेपनि डाक्टर राख्न अधिकतम पहल भइरहेको बताउनु भयो ।

अन्य

भिडियो