INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला अस्पतालको भवन अलपत्र हुँदा सेवाग्राही मर्कामा

जिल्ला अस्पताल सल्यानको नयाँ भवन निर्माण कार्य हुँदा सेवाग्राही मर्कामा परेका छन् । अस्पताल परिसरमा दुई ओटा भवन निर्माणको कार्य पछिल्लो १० महिनादेखी रोकिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । देशभरका जिल्ला अस्पतालले थप सेवा विस्तारलाई प्राथमिकता दिएको बेला ०४१ सालमा स्थापना भएको जिल्ला अस्पताल सल्यान भने अझै १५ शैयामा सिमित छ । नागरिकलाई थप विशेषज्ञ सेवा दिने उद्देश्य सहित निर्माणाधिन अस्पतालका दुई ओटा भवन अलपत्र छन् ।

Photo29012025Salyan

भवन निर्माणको काम अन्तिम चरणमा पुग्नै लाग्दा अलपत्र परेपछि विशेषज्ञ सेवा पाउने आशामा रहेका नागरिक निरास बनेका छन् । आफन्तको उपचारका लागि जिल्ला अस्पताल पुग्नुभएका शारदा नगरपालिका–४ साहुटोलका अनिल सिंहले अस्पतालकै भवन अलपत्र पर्दा दुःख लागेको बताउनु भयो । छिट्टै जिल्ला अस्पतालमा विशेषज्ञ सेवा पाउने आस गर्नुभएका उहाँ भन्नुहुन्छ ‘हामीले जिल्ला अस्पतालबाटै विशेषज्ञ सेवा पाउँछौँ भन्ने लागेको थियो, तर अलपत्र भवन देखेपछि दुःख लागेको छ ।’

जिल्ला अस्पतालकै भवन अलपत्र परेकोमा स्थानीय अनिल भण्डारीले आक्रोश पोख्नुभयो । ‘करोडौँ रुपियाँ खर्च गरेर अस्पताल भवन निर्माण गर्न थालिएको हो, यो भवन निर्माण भएमा आमनागरिकलाई सहज हुने थियो, जिल्ला अस्पतालको स्तरोन्नति नहुदा उपचारकै लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको छ । यसले बिरामीलाई थप सास्ती भएको छ, आर्थिक भार बढेको छ, विपन्न परिवार बढी प्रभावित भएका छन् । अस्पताल भवन निर्माण गरेर जिल्लामै बिशेषज्ञ सेवा पाउनुपर्छ भन्ने हाम्रो माग हो’ – उहाँले भन्नुभयो ।

जिल्ला अस्पताल सल्यानमा अहिले दैनिक १ सय २० बढी बिरामी उपचारका लागि आउँछन् । बिरामीको चाप धेरै भएपनि १५ शैयाको अस्पतालमा ३५ बेड थपेर ५० शैयाबाट सेवा प्रवाह भइरहेको छ । सम्बन्धित निकायले बेलैमा ध्यान नदिँदा अस्पतालको भवन अलपत्र परेको नागरिक अगुवा सनतकुमार शर्माले बताउनु भयो । ‘निर्माण कम्पनी, अस्पताल प्रशासन, अस्पताल विकास समिति, तीनै तहका सरकार यसमा जिम्मेवार बन्नुपर्छ, अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा भौतिक संरचना निर्माण कार्य अलपत्र पार्नु राम्रो होइन्’ – उहाँले भन्नुभयो ।

जिल्ला अस्पताललाई ५० शैयामा विस्तार गर्न सङ्घीय सरकारको १८ करोड बजेटमा २०७८ वैशाखमा आरोग्य सुवेदी जेभी कम्पनीसँग ठेक्का सम्झौता भयो । विभिन्न कारण जनाउँदै निर्माण कम्पनीले सम्झौता गरेको एक वर्षपछि निर्माण सुरु गर्‍यो । अहिले भवन निर्माणको काम अलपत्र परेको छ । गत चैतमा भवनको म्याद सकिएको भए पनि भवनलाई कसरी सम्पन्न गर्ने भन्ने बारेमा ठोस योजना छैन् । दुई ओटा भवनको करिब ६० प्रतिशत काम सकिएको छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जुनकुमार बुढा मगरले भवनको बाँकी रहेको काम कहिलेबाट सुरु हुन्छ भन्ने अझै निश्चित नभएको बताउनु भयो । ‘ठेकेदारले काम गरिरहेकै थियो, सात महिनामा करिब ६० प्रतिशत काम गरेकै हो, २०८० चैतमा म्याद सकियो, म्याद थपका लागि चाहिने कागजात निर्माण कम्पनीले बेलैमा बुझाएन्, त्यही भएर त्यति बेला म्याद थप हुन सकेन्,’उहाँले भन्नुभयो, ‘अहिले समय निकै घर्किसकेको छ, अब यताबाट हामीले गर्नसक्ने पहुँचको कुरा भएन । निर्माण व्यावसायिकको १४ औं संस्करण मन्त्रीपरिषदबाट पास भएपछि मात्रै म्याद थप हुने भएकोले त्यही निर्णयलाई पर्खेर बसेका छौँ ।’

जिल्ला अस्पतालमा पर्याप्त संरचना नहुदा थपस्तरीय सेवा प्रवाह गर्न समस्या भैरहेको छ । समयमै भवन निर्माण भए डायलासिस, भेन्टिलेटर सहितका विशेषज्ञ सेवा प्रवाह गर्न सहज हुने डाक्टर बुढा मगरको भनाई छ । ‘अहिले सिमित संरचनामा सेवा प्रवाह गरिरहेका छौँ । इमर्जेन्सी, ल्याव, वार्ड सबैमा विभिन्न सेवा थप गरेका छौँ, बिरामीको चाप पनि बढेको छ । सेवा थप विस्तार गरौँ भन्दा पनि संरचना अभावका कारण खुम्चिएर बस्नुपर्ने अवस्था छ’ – उहाँले भन्नुभयो ।

यसैवर्ष देखि डायलासिसको सेवा सुचारु गर्ने योजना भए पनि भवनकै कारण नसकिएको उहाँले बताउनु भयो । ‘भवन अभावकै कारण डायलासिसको काम यसै वर्षबाट सुरु गर्न नसक्ने अवस्था आयो, अस्पतालमा पाँच ओटा भेन्टिलेटर छन्, कम्तिमा तीन ओटा भेन्टिलेटर राखेर एचडियु सेवा सुचारु गर्ने योजना थियो, तर भवन अभावकै कारण गर्न सकिएन्, अस्पताललाई निकै मर्का परेको छ’ – उहाँले भन्नुभयो । जिल्ला अस्पतालमा सल्यान सहित रुकुम र रोल्पाका विरामी पनि उपचारका लागि आउने गर्छन् ।

अन्य

भिडियो