INSEC Online

📅 २०८३ जेष्ठ २१

टाउकोमा डोकाको व्यापारसँगै न्यायको लडाइँमा पदमकन्या !

मगुको खत्याड गाउँपालिका–५ धैनकोटकी ३६ वर्षीया पदमकन्या चौलागाईले जीवनमा धोकै धोका पाउनुभयो । परिवार र पतिको धोकाका कारण उहाँको जीवन सङ्घर्षरत छ । १२ वर्षकै उमेरमा विवाह गरेका पति तिर्थराज चौलागाईले ६ वर्ष अघि गाउँकै एक महिलासँग दोस्रो विवाह गरेर गाउँ नै छोडे । उनी ६ वर्षदेखि बाँकेको कोहलपुरमा बसिरहेका छन् । दुई छोराहरूलाई पालनपोषण गरेर घरमै बस्नुभएकी पदमकन्यालाई उहाँका सासु ससुराले ०८० साउन २९ गते कुटपिट गर्दै घर निकाला गरे । उहाँका पतिले समेत फोनमा घर छोडेर जान धम्की दिए ।

छोरासहित आत्महत्या गर्ने योजनाका साथ उहाँ दुई छोरालाई लिएर कर्णाली नदीमा पुग्नुभयो । उहाँलाई त्यहाँका स्थानीयले सम्झाएर फर्काए । छोराहरूलाई लिएर उहाँ आफ्नो माइती मुगुकै सोरु गाउँपालिका जानुभयो । त्यहाँ बसेर ज्याला मजदुरी गर्दै जीविका चलाइरहनुभएकी पदमकन्या र उहाँका माइतीलाई पति तिर्थराजले गालीगलौज र धम्की दिन थाले । त्यति मात्रै होइन माइतीसँगै झुट्टाआरोप लगाउन थालेपछि त्यहाँ पनि उहाँ सुखले बस्न सक्नुभएन । दुई छोरा काखमा च्यापेर उहाँ मुगुबाट वीरेन्द्रनगर सुर्खेत झर्नुभयो । सुरुमा दिदीको घरमा बस्नुभएकी उहाँलाई फेरि पति तिर्थराजले फोनबाट धम्की दिन थालेपछि छुट्टै कोठा लिएर बस्नुभयो । उहाँले कहिल्यै हार मान्नुभएन । पतिबाट धोका पाएपछि आफ्ना दुई छोराको भविष्य बनाउने योजनाका साथ डोके व्यापारलाई रोज्नुभयो । खाद्यान्न पसलबाट दाल, सिमी, मास, मसुरो र तिल खरिद गरेर वीरेन्द्रनगरका गल्ली गल्लीमा बेच्नुहुन्छ । पदमकन्याको दैनिक आम्दानी धेरै छैन । खरिद मुल्यमा २०÷२५ रुपियाँ नाफामा बिक्री गर्नुहुन्छ । त्यसबाट दैनिक ३ सयदेखि ५ सय रुपियाँसम्म नाफा कमाउनुहुन्छ ।

त्यसले नै जसोतसो मासिक दुई हजार कोठाभाडा, सरकारी स्कुलमा कक्षा ३ र २ मा पढ्ने छोराहरूको खर्च, खाजा खर्च र अन्य दैनिक आवश्यकता पूरा गर्नुपर्छ । उहाँ कहिलेकाहीँ साहूसँग उधारोमा सामान लिनुहुन्छ । उहाँको मेहनत देखेर सबैले उहाँलाई सम्मान गर्छन् । उहाँसँग ८ वर्षीय उपेन्द्र र ७ वर्षीय दिपेश बस्छन् । पतिले सुर्खेतमा बस्दा पनि फोनबाट ज्यान मार्ने धम्की दिएपछि अन्ततः पदमकन्या पति र घरपरिवारसँग न्यायको लडाइँ लड्न बाध्य हुनुभयो । तर आर्थिक अभाव भएपछि त्यसमा इन्सेकले साथ दियो । जिल्ला अदालतमा मुद्दा दायर गर्नका लागि सहयोग माग गर्दै इन्सेकमा पुस २५ गते निवेदन पदमकन्याले दिनुभएको थियो । पीडितको निवेदनको आधारमा मानव अधिकार सहायता कक्षको पुस २६ गते बसेको सचिवालय बैठकको निर्णय अनुसार नगद १२ हजार रुपियाँ आर्थिक सहयोग गरेको थियो । पीडितलाई न्यायिक प्रक्रियामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी र यात्रा खर्च लगायतका शीर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको इन्सेकका कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले बताउनु भयो ।

Photo29012025Surkhet1

पदमकन्या टाउकोमा टोकोको व्यापारसँगै न्यायको लडाइँमा होमिनुभएको छ । ०८१ पुस २८ गते पति तिर्थ र उनले दोस्रो विवाह गरेकी पत्नी मनदेवी विष्ट विरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पदमकन्याले बहुविवाहको जाहेरी दिनुभयो । प्रहरीले आरोपितलाई पुस २८ गते नेपालगञ्जबाट गिरफ्तार गरेर अनुसन्धान थालेको छ । पदमकन्याले अंश र खाना खर्चसहितको सम्बन्धविच्छेदका लागि समेत अदालतमा मुद्दा दिने तयारी थाल्नुभएको छ । पतिको अन्याय विरुद्ध न्याय मागिरहनुभएकी उहाँले छोराहरूलाई शिक्षाको उज्यालोतर्फ डोर्‍याउने यात्रालाई समेत निरन्तरता दिनुभएको छ । बिहानै उठेर उनी आफ्नो सामानको तयारी गर्नुहुन्छ, हातमा तराजु र ढक लिएर दिनभरी ग्राहक खोज्दै वीरेन्द्रनगर शहरभरी घुम्नुहुन्छ । यो व्यवसाय सजिलो छैन, तर उहाँको मेहनतले मात्र होइन, आत्मबलले पनि उहाँलाई अगाडि बढ्न प्रेरित गरेको छ ।

Photo29012025Surkhet2

‘मेरो एक मात्र सपना भनेको मलाई अन्याय गर्ने पतिलाई कानुनी कठघरामा उभ्याउने र छोराहरूलाई राम्रो शिक्षा दिनु हो । मैले त पढ्न पाइनँ, तर उनीहरूको भविष्य उज्यालो होस् भन्ने चाहन्छु । पतिले यतिसम्म पीडा दिँदापनि यी छोराहरुको मुख हेरेर बसेकी छु । एकदिन मेरोपनि दिन आउलान’ – उहाँले भन्नुभयो ।

शहरमा एक्लो महिला भएर उहाँलाई काम गर्न त्यति सजिलो छैन । कतिपयले उहाँलाई सहयोगको सट्टा तिरस्कार गर्छन् । तर, पदमकन्याले आफ्नो अठोट छोडेकी छैनन् । ‘जीवनले मलाई अनेकौँ परीक्षा लियो, सानैमा विवाह भयो । एक छोरा र एक छोरी गुमाएँ । पतिको धोका र परिवारको तिरस्कार पाएँ, तर म अझै हारेकी छैन । मेरो संघर्षलाई शक्ति बनाएकी छु । छोराहरुको लागि संघर्ष गरिरहेकी छु’ – पदमकन्याले भन्नुभयो ।

Photo29012025Surkhet

अन्य

भिडियो