इस्मा गाउँपालिका–४ का केशव बहादुर मगरले आर्थिक अभावको कारण १६ वर्षीया छोरी कृष्णा मगरलाई गुमाउनुभयो । कृष्णाका हातखुट्टा एक्कासी नचल्ने भए । मगरले छोरीलाई बुटवल र काठमाडौँ धेरै पटक पुर्याउनुभयो । तर, उपचारको मेसो केही भएन । गाउँमा ज्याला मजदुरी गरेर परिवारको हातमुख जोर्नु भएका केशवले सकेको प्रयास गर्नुभयो । लामो समय कुनै अस्पतालले बिरामी पत्ता लगाउन सकेनन् ।
१० वर्षको उमेरबाट बिरामी भएपछि कैयौँ वर्ष छोरी कृष्णा र परिवारले दुख झेले । तर, केही समय अगाडि छोरी कृष्णाले संसार छोडिन् । गाउँको पाखो बारी बाहेक सम्पत्ति केही थिएन । छोरीसँगै दौडन पर्ने भएकाले काममा जाने फुर्सद हुन्थेन । छोरी बचाउने आशा खोजेका ऋणले गाउँमा बस्ने अवस्था नभएको केशवले गुनासो गर्नुभयो । ‘न छोरी रह्यो न सम्पत्ति । दैवले तड्पाउनु तड्पाएर लग्यो । अब गाउँभरी ऋण र गहभरी आँशु बाहेक केही रहेन’ – केशवले भन्नुभयो ।
इस्मा गाउँपालिका–२ रातडाँडाका २६ वर्षीय सागर रायमाझी दुबै मृगौला फेल अस्पतालमा तडपिएका वर्षदिन पुग्न थाले । सिराबहादुर र विष्णु रायमाझीका जेठो छोरा सागरको कमाईले परिवारको भरथेग चलेको थियो । तर, कमाउन परदेश पसेको छोरा दुवै मृगौला फेल भएर घर फर्किपछि परिवारमा सन्नाटा छाएको छ । उनको तत्कालै मृगौला प्रत्यारोपण गर्नुपर्नेछ । अहिलेसम्म पनि थुप्रै खर्च भइसक्यो । घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण मृगौला प्रत्यारोपण गर्ने उपाय नभएको बुबा सिरा बहादुर रायमाझीले बताउनु भयो । उहाँले डाइलासिसकै लाखौँ रकम सकिएपछि बुबाको मुख हेरेर तड्पिएरै वर्षदिन बिताएको गुनासो गर्नुभयो ।
छत्रकोट गाउँपालिका–१ हुँगाका ६७ वर्षीय भुवानन्द भण्डारीलाई घाँटीमा क्यान्सरले समातेको डेढ वर्षमा ज्यान गयो । कैयौ पटक विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवन पुर्याएर परिवारले उपचार गरे । रोग लागेपछि डेढ वर्ष भुवानन्द र परिवारले थुप्रै तनाव खेपे । करिव १४ लाख रुपियाँ उपचारमा सकियो । अन्त: ज्यान गुमाए । क्यान्सर रोगको उपचार निकै महङ्गो र उपचारका लागि प्रयाप्त अस्पताल नहुँदा गरिबहरूले अकालमै ज्यान गुमाउने अवस्था रहेको छोरा सागर भण्डारीले बताउनु भयो । ‘धेरैलाई अन्तिम अवस्थामा क्यान्सर पत्तो हुने रहेछ । घरमै राख्न भएन अस्पतालमा लाखौ खर्च हुन्छ । गम्भीर रोग लागेपछि गरिबको धन र ज्यान रहने रहेन्छ’ – उहाँले गुनासो गर्नुभयो ।
रेसुङ्गा नगरपालिका–२ का फुटवल खेलाडी समेत रहेका २८ वर्षीय बबित बुढाथोकी दुवै मृगौला फेल भएपछि जीवन–मरणको दोसाँधमा लडिरहेका छन् । बबितले पाँच महिनादेखि मृगौला रोगको सामना गरिरहेका छन् । एक्कासी खुट्टाहरू सुन्निएपछि गुल्मी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा बुढाथोकीलाई मृगौला फेल भएको समस्या देखा परेको थियो । त्यसपछि बुटवल र काठमाडौँमा स्वास्थ्य परीक्षण गर्दा सात/आठ लाख सकिएको दाजु विक्रम बुढाथोकीले बताउनु भयो । बुढाथोकीका अनुसार मृगौला ट्रान्सपलान्टका लागि परिवारबाट कसैको अनुकूल नभएको र परिवारको आर्थिक अवस्था राम्रो नभएका कारण उपचार अन्यौलमा रहेको बुढाथोकीले बताउनु भयो ।
रेसुङ्गा नगरपालिका–८ की ५६ वर्षीया पुतलीदेवि थापा पाँच वर्षदेखि मुटुको समस्याले पीडित थिइन् । केही समयपछि दुवै मृगौलाले काम गर्न छोडे । आर्थिक अभावको कारण मृगौला प्रत्यारोपण त के डाइलसिस समेत गर्न केही समय पहिले ज्यान गुमाइन् । त्यस्तै मुसिकोट नगरपालिका–६ कुर्घाका ७० वर्षीया रामु पौडेलले घाँटीको क्यान्सरबाट बर्षदिन तड्पिए । परिवारले चितवन र काठमाडौँ लगेर उपचार गरे । पौडेल आफैले निकै पीडा खेपे । उपचारको क्रममा परिवारको करिव आठ/नौ लाख खर्च भयो । तर, ज्यान बचाउन सम्भव भएन ।
जिल्लामा नसर्ने गम्भीर प्रकारका रोगहरूको सङ्ख्या वृद्धि हुँदै गएको छ । सरकारले यसको नियन्त्रणमा प्रयाप्त काम गर्न सकेको छैन । नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने अधिकारको सुनिश्चितता गरिएको भए पनि नागरिकले उपचारको लागि सबै सम्पत्ति र ज्यान पनि गुमाउने स्थिति रहेको छ । सङ्घ र प्रदेशले नसर्ने गम्भीर प्रकारका रोगहरूबाट पीडित व्यक्तहरूलाई विभिन्न किसिमको सहयोग गर्दै आएको छ । स्वास्थ्य कार्यालय गुल्मीका अनुसार सङ्घीय सरकारले विपन्न नागरिक उपचार कोष मार्फत सात किसिमका रोगबाट पीडितलाई दुई लाख रुपियाँ सहयोग गर्दै आएको छ । जसमा गुल्मीबाट मृगौला पीडित ५५, मुटुको रोगी १ सय २०, क्यान्सरका १ सय ७७, हेड इन्जुरीका एक र स्पाइनल इन्जुरीका ११ जना गरेर तीन सय ६४ जनाले सेवा लिएका छन् ।
गुल्मी अस्पताल तम्घासमा नसर्ने रोगको लागि पेनप्लस क्लीनिक सेवा सञ्चालन भएको छ । अस्पतालमा आउने गम्भीर तथा कडा नसर्ने रोगका बिरामीहरूका लागि क्लनीनिकबाट सेवा उपलब्ध हुनेछ । नेपाल सरकार र काठमाडौँ इन्टिच्युटड अफ चाइल्ड हेल्थ संस्थाले पेनप्सल परियोजनाले पाइलेटिङ्ग प्रोजेक्टका रूपमा काम गरिहरेका छन् । पेनप्लस क्लीनिकमा मेडिकल अधिकृत, हेल्थ असिस्टेन र स्टाफ नर्स मार्फत निःशुल्क रुपमा सेवा प्रवाहको व्यावस्था मिलाइएको परियोजनाको कार्यक्रम अधिकृत रेनुका थामीले जानकारी दिनुभयो । अस्पतालमा उपचारसंगै समुदाय स्तरमा सचेतना मार्फत नसर्ने रोगको समस्या न्यूनिकरण गर्न अहिले भइरहेका थामीले बताउनु भयो । परियोजनाले क्लीनिक सञ्चालनसँगै अति गरिब र विपन्न नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य बिमा गर्ने, बिमा रकम बाहेक ठूला रोगका बिरामीको शल्यक्रिया गर्नु परेमा सबै खर्च व्यहोरेर उपचार गर्ने व्यवस्था समेत रहेको परियोजनाको कार्यक्रम अधिकृत थामीले बताउनु भयो ।
रेसुङ्गा नगरपालिका–३ का देविराम खनाल डेढ वर्षदेखि मृगौला पीडित हुनुहुन्छ । अस्पताल र कोठा खोजेर सात महिना काठमाडौँमा डाइलासिस गर्नुभयो । मामा मृगौला दिन सहमत भए पनि लामो समयपछि अस्पतालले नमिल्ले बतायो । काठमाडौँको खर्च र पीडाले खनाल घर फर्किएर डाइलासिस गर्न पाल्पा जान थाल्नुभयो । रोगले थला परेको ज्यान र टाढाको गाडी यात्रा । उहाँले निकै मुस्किलले दुई महिना बिताएपछि तम्घासमै डाइलासिस सेवा सञ्चालन भयो । अहिले गुल्मी अस्पतालमा डाइलासिस गराउँन पाउँदा खनाललाई केही राहत भएको छ । ‘उपचारकै लागि धेरै सम्पत्ति बेचेँ । बाँच्ने कुरा भन्दा सम्पत्ति केही रहेनछ । घर नजिकै सेवा पाउँदा पीडाभित्र पनि राहतको महसुस गर्न पाएको छु’ – खनालले भन्नुभयो । गुल्मेलीलाई मृगौलाको डाइलासिस गर्न थुप्रै खर्च गरेर पाल्पा, बुटवल तथा काठमाडौँ पुग्नुपर्ने बाध्यतामा थियो । गत वर्ष पुस पहिलो साताबाट गुल्मी अस्पताल तम्घासमा मृगौलाको डाइलासिस सेवा सुरु गरेको छ ।
अस्पतालमा पाँच ओटा डाइलासिस मेसिन रहेका छन् । मेसिन सञ्चालनको लागि एक जना मेडिकल अधिकृतसहित तीन जना जनशक्तिको व्यावस्था गरिएको गुल्मी अस्पताल विकास समिति अध्यक्ष गोपाल पाण्डेयले बताउनु भयो । त्यो बाहेक आइसियु सेवा सञ्चालनको योजना रहेको र लामो सययदेखि मेसिनसहितको पुर्वाधार बने पनि जनशक्ति नहुँदा समस्या रहेको बताउनु भयो । रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले नागरिकले स्वास्थ्य सेवा पाउने अधिकारको लागि भारतीय दुताबासबाट डाइलोसिस मेसिन ल्याएको, अस्पतालमा डाक्टरहरूको सुविधामा सहजीकरण गर्ने र उपकरणहरूमा सहयोग गर्दै आएको बताउनु भयो । गाउँ–गाउँमा स्वास्थ्य सचेतना, अस्पतालहरूको व्यावस्थापन र सरकारले गम्भीर प्रकारका रोगमा सुविधाहरू दिनुपर्नेमा मेयर पन्थीले जोड दिनुभयो ।
गाउँगाउँमा नसर्ने रोगको समस्या बढ्दै गएपछि गुल्मीदरवार गाउँपालिकाले नीति तथा कार्यक्रममै नियन्त्रणको अभियान सुरु गरेको छ । यो अभियान सबै स्थानीय तहमा आवश्यक भए पनि हुन सकेको छैन । गुल्मीदरवारले सार्वजनिक गरेको स्वास्थ्यको वार्षिक समीक्षा प्रतिवेदनको आधारमा स्थानीय तहभित्र मृगौला रोगका ११, मुटुका १८, क्यान्सरका २५, उच्च रक्तचापका ७ सय ११, मधुमेहका १ सय ५७ र श्वास प्रश्वास र दमका १ सय १७ जना बिरामी रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी दिनुभयो ।
खानपान, बिपन्नता, चेतना र सर्भसुलभ स्वास्थ्य उपचार नभएका कारण नसर्ने रोगका कारण बिरामीहरू सम्पत्ति सकेर ज्यान समेत गुमाउन विवश छन् । गाउँ–गाउँमा नसर्ने रोगको समस्या विकराल बन्दै गएकाले सामुदायिक स्वास्थ्यको क्षेत्रलाई आगामी दिनमा प्रभावकारी बनाइने अर्यालले बताउनु भयो । गुल्मीदरवार गाउँपालिकाका-६ स्वास्थ्यचौकी, दुई सामुदायिक स्वास्थ्य इकाई र एक आधारभुत स्वास्थ्य केन्द्र रहेका छन् ।
गुल्मीदरवार गाउँपालिकामा १५ शैयाको आधारभुत अस्पताल निर्माण भएको छ । गुल्मी दरवार गाउँपालिकाले ८० वर्षभन्दा माथिका ४ सय ९ जना ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गरेको छ । नसर्ने रोगको नियन्त्रणको लागि पनि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयसेविका र शिक्षक विद्यार्थी अभियान मार्फत काम गर्ने गुल्मीदरवार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाले बताउनु भयो ।