विदेह नगरपालिका-९ बैदेहीस्थित स्वास्थ्य चौकीका प्रमुख विदेह नगरपालिका-२ दुहबी निवासी ३१ वर्षीय ओम पण्डितमाथि ०८१ माघ ११ गते अपरिचित व्यक्तिहरूको समूहले कुटपिट गरेको छ ।
पीडितले शान्ति सुरक्षाको माग गर्दै माघ १३ गते जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता गराई सो पत्र जिल्ला प्रहरी कार्यालय धनुषामा पठाएको बताउनु भयो ।
प्रत्येक दिन झैँ माघ ११ गते पनि स्वास्थ्य चौकीबाट घर फर्कदै गर्दा बिमला नदी नजिक पुगेपछि भारतीय नम्बर भएको तीन ओटा मोटरसाइकलमा आएका ६ जना अपरिचित व्यक्तिहरूको समूहले बाटोमा घेरा हालि मरनासन्न हुने गरी कुटपिट गरेको पीडित मण्डलले बताउनु भयो ।
कुटपिटका कारण घाइते भएका पीडितको मुख र नाकबाट रगत आएको छ भने उनको दाहिने हातको हड्डी भाँचिएको छ । पीडितलाई उपचारको लागि सोही दिन जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको विदेह नगरपालिका-२ दुहबी वडा अध्यक्ष रामपुकार यादवले जानकारी दिनुभयो ।
यस घटनालाई जिल्ला प्रहरी कार्यालय, धनुषाले गम्भीरतापूर्वक लिएको र आरोपितहरूको खोजी कार्य भइरहेको इन्स्पेक्टर सागर कार्कीले बताउनु भयो ।