केदारस्युँ गाउँपालिका–८ निवासी सामुदायिक रेडियो साइपाल एफएममा कार्यरत २३ वर्षीय पत्रकार गणेश धामीलाई ०८१ माघ १२ गते मार्ने धम्की दिएको आरोपमा केदारस्यूँ गाउँपालिका–१ का नबिनसिंह धामी विरुद्ध पीडितले माघ १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
केदारस्युँ गाउँपालिकाको झोता बजारमा आयोजना गरिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समाचार संकलन गर्न गएको समयमा आरोपित धामीले सुस्मीता नाम गरेको फेसबुक आइडीबाट म्यासेन्जरमा फोन गरी ज्यान मार्ने धम्की दिएपछि आरोपित विरुद्ध प्रहरीमा उजुरी दिएको पीडितले बताउनु भयो ।
आफूलाई मार्ने धम्की दिएको भन्दै आरोपित विरुद्ध पत्रकार धामीले माघ १३ गते उजुरी दिनुभएकोले आरोपितलाई गिरफ्तार गरी कानुनी प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय, बझाङका इन्स्पेक्टर किशोर जोशीले बताउनु भयो ।
सूचना संकलन गर्न गएमा श्रमजिवी पत्रकारलाई ज्यान मार्ने धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बझाङले गम्भीर ध्यानाकर्षण भएको भन्दै माघ १२ गते प्रेश विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेको छ ।
पत्रकार धामीलाई दिइएको धम्कीले उहाँको भौतिक सुरक्षामै चुनौती देखिएकोले निजको सुरक्षाको प्रबन्धन गर्न, ज्यान मार्ने धम्की दिनेलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन र सरकार र स्थानीय प्रशासनले स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने वातावरण तयार गर्न विज्ञप्तिमार्फत माग गरिएको छ ।
