INSEC Online

📅 २०८३ जेष्ठ २१

अन्धविश्वासका कारण सुत्केरीहरु पोषिलो खानबाट वञ्चित !

जिल्लामा अन्धविश्वास कायमै रहेका कारण सुत्करीहरु पोषिलो खानबाट वञ्चित हुदैआएका छन् ।सुत्केरीलाई घरमा पालेको गाईभैंसीको दूध दिँदा गाईभैंसीलाई रोग लाग्ने रुढीवादी परम्परा र अन्धविश्वासका कारण सुत्केरीहरु गाईभैंसीको दूध दही लगायतका पोषिला खानेकुरा खानबाट वञ्चित गरिएको पाइएको छ ।

जिल्ला सदरमुकाम अमरगढी नगरपालिकामै सुत्केरीले पोषणयुक्त खानेकुरा अन्तर्गत दूध दही नपाउने गरेको  अमरगढी नगरपालिका–२ की निरुता कुँवरले गुनासो गर्नु भयो ।

उहाँले भन्नुभयो, ‘सुत्केरी भएको ११ दिनसम्म गाई भैंसी बिग्रिन्छ भनेर घरपरिवारका मान्छेले दुधदही खान दिएनन् । अन्धविश्वास कायमै रहेका कारण पोषिलो खानेकुरा नपाउँदा सुत्केरी र जन्मेको शिशु कुपोषणको सिकार बन्नु पर्ने अवस्था छ ।’

भागेश्वर गाउँपालिका–१ की यमुना गिरीले पोषणयुक्त खानेकुरा मात्र नभई सुत्केरीलाई सुरक्षित आवासबाट समेत वञ्चित गरिने गरिएको गुनासो गर्नु भयो ।

उहाँले भन्नुभयो, ‘सुत्केरीलाई घरको तल्लो तलामा रहेको गोठमा राखिन्छ । कतिपय ठाउँमा त गाईभैंसीको गोठमा समेत राख्ने गरेको पाइन्छ । माथिल्लो तलामा राखे देउता रिसाउँछन् भन्ने परम्परागत मान्यता र अन्धविश्वास कायमै छ ।’

महिलाका लागि अत्यावश्यक पोषणयुक्त खानेकुरा उनीहरुले नपाएको घटाल स्वास्थ्य चौकीकी स्वयम् सेविका पार्वती भण्डारीले बताउनु भयो । ‘गाउँतिर त धेरै छ तर यही नगरपालिका भित्र समेत सुत्केरीलाई गाइभैंसीको दूध दिइँदैन,’ उहाँले भन्नुभयो, ‘बरु उनीहरुले दूध बजारमा लगेर बेच्छन् तर गाई बिग्रिन्छ भनेर सुत्केरी बुहारी–छोरीलाई दूध खुवाउँदैनन् ।’

‘सुत्केरीलाई पोषणयुक्त खानेकुरा खुवाउनु पर्छ भनेर सम्झाइबुझाइ गरेर पठाउने गरिएको भए पनि  घरमा गएर परिवारका सदस्यहरुलेले पोषणयुक्त खानेकुराबाट सुत्केरीलाई वञ्चित गराउने गरेको बिरखम्ब स्वास्थ्य चौकीमा कार्यरत अनमि शान्ति जोशीले बताउनु भयो ।

सुत्केरीलाई पोषणयुक्त खानेकुराबाट वञ्चित गर्दा बालबालिकामा कुपोषण र आमाहरुमा बिभिन्न स्वास्थ्य समस्याहरु देखिने गरेको अजयमेरु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश पालले बताउनु भयो । सुत्केरी समयमा झन् बढी मात्रामा पोषिलो खानेकुरा आवश्यक पर्ने उहाँको भनाइ छ ।

आलिताल गाउँपालिकाकी उपाध्यक्ष मैनाकुमारी रावलले पालिकामा जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहको र जनचेतनाका कारण केहीमात्रामा भए पनि न्यूनीकरण भएको भए पनि परम्परागत गलत मूल्यमान्यता र अन्धविश्वास पूर्ण रुपमा हट्न नसकेको बताउनु भयो ।

अन्य

भिडियो