माथिल्लो कर्णालीमा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको (जुम्ला, डोल्पा, मुगु, कालिकोट र हुम्ला) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस सेवा सुचारु नभएको र समयमै बाहिर लिन नसक्दा डोल्पा मुड्केचुलाका गाउँपालिका–७ का ४० वर्षीय धर्म विकको प्रतिष्ठानमै मुत्यु भएको छ । एक्कासी शरीर नचलेपछि धर्मलाई पुस २४ गते उपचारका लागि जुम्ला अस्पतालमा ल्याएको थियो । केही दिन उपचारपछि तत्काल उहाँलाई थप उपचार (डायलासिस) गर्नु पर्ने डाक्टरले सल्लाह दिएका थिए ।
जुम्लामा उपकरण भए पनि डायलासिस सेवा सञ्चालन नभएकोले अस्पतालले पुस २६ गते रेफर गर्यो । नेपालगञ्ज लिने तयारी हुँदै थियो । महङ्गो खर्च लाग्ने भयो, कसरी खर्च जुटाउने होला भन्ने मनमा डरकैबीच लिने तयारी भइरहेको थियो । पुस २७ गते बिहान ८ बजे उहाँले समयमै डायलासिस उपचार सेवा नपाएर मृत्यु भयो । मृगौलाका बिरामीलाई दुई हप्तासम्म डायलासिस गर्नुपर्ने र त्यसपछि मात्रै मृगौला प्रत्यारोपण गर्नुपर्छ । जुम्लामा डायलासिस नहुने भएपछि रेफर गरेका थियो । बिरामीलाई डायलासिसकै आवश्यता भएकोले समयमै नपाउँदा मृत्यु भएको छ ।
जुम्लामा डायलासिस सेवा नपाएपछि अस्पतालले पुस २६ गते रेफर गरे पनि २७ गते बिहान ८ बजेतिर मृत्यु भएको मृत्तक धर्मका दाइ टाउके विकले बताउनु भयो । उहाँले भन्नुभयो, ‘जुम्लामा डायलासिस सेवा सञ्चालन हुन नसकेको कुरा बल्ला थाहा पाएँ । डोल्पाबाट जुम्ला ल्याउनै २० रुपियाँ हजार खर्च भयो । उपचारमा पनि त्यतिकै पैसा खर्च भयो । हामीले उपचार पाउन सकेनौँ । तर अरु बिरामीले त्यो नियती भोग्नु नपरोस । छिटै सञ्चालनमा ल्याउन पहल गरिनु पर्छ ।’
धर्मकी पत्नी पुल्तीसरा विकले पति गुमाएर रित्तो घर फर्किनुको पिडालाई आँसु मार्फत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘यति धेरै ठूलो अस्पतालमा मृगौलाको उपचार हुने सेवा सञ्चालन नहुनु निकै दुखद हो । डायलासिस सेवा जुम्लामै हुनु भनेको साविक कर्णालीका नागरिकले राहत पाउनु हो । काठमाडौँं नेपालगञ्ज जाने दुःखबाट मुक्ति पानु हो । खर्च र समय जोगिनु हो यसमा सम्बन्धित निकायको ध्यान जावस यहि भन्न चाहान्छु ।’
नेपाल सरकारले ६ ओटा उपकरण उपलब्ध गराएर तत्कालीन स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले उद्घाटन गरेको एक वर्षभन्दा बढी भइसक्दा पनि डायलासिस सेवा नियमित सञ्चालन हुन सकेको छैन । तत्कालीन स्वास्थ्यमन्त्री बस्नेतले २०८० भदौ १४ गतेका दिन डायलासिस सेवा सुरु गरेका हुन् । जुम्लामा डायलासिस सेवा शुभारम्भ भएको १ वर्ष ४ महिना बित्यो । तर एकातिर उपकरण थन्किएका छन् भने अर्काेतिर नागरिकले सास्ती पाएका छन् ।
प्रतिष्ठानकै चिकित्सकका अनुसार वर्षमा २०/२५ जना डायलासिसका बिरामी जिल्लाबाहिर पठाउने गरिएको छ । तर प्रतिष्ठानमा डायलासिस उपकरण थन्किएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले डायलासिस सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ । पुरानो मेसिनले काम नगरेपछि नयाँ मेसिन ल्याएर डायलासिस सेवा सञ्चालनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको हो । डायलासिस सेवा शुभारम्भ गर्दा सङ्घीय सरकारले ६ मेसिन प्रतिष्ठानलाई उपलब्ध गराएको छ । जसमध्ये महत्त्वपूर्ण उपकरण हो । आरो मेसिनले डायलासिसका लागि (डिस्टीलरी वाटर) शुद्द पानी निकाल्छ ।
तर पुरानो आरो मेसिनले निकालेको पानी गुणस्तरीय नभएपछि डायलासिस सेवा रोकिएको प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर पुजन रोकायाले बताउनु भयो । डायलासिस सेवाका लागि आरो मेसिन मेरुदण्ड सरह हो । आरो मेसिनले स्पेशन पानी ननिकाले सम्म डायलासिस सेवा सञ्चालन हुन सक्दैन । उहाँले भन्नुभयो, ‘प्रतिष्ठानमा भएको पुरानो आरो मेसिनले चित्त बुझ्दो पानी निकाल्न सकेन् । ३/४ पटक परीक्षण गर्दा पनि स्पेशल पानी ननिस्कीएपछि सेवा रोकिएको थियो । अहिले नयाँ मेसिन खरिद गरेर ल्याउने तयारी छ । आशा गरौ चाडै डायलासिस सेवा संचालन हुने छ ।’
प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतले पुरानो आरो मेसिनले २/३ पटक परीक्षण गर्दा पनि नतिजा राम्रो आउँदा सेवा सञ्चालन हुन नसकेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मेसिन ३/४ दिनपछि जुम्ला पुग्छ । ८ देखि १० लाख लागतको मेसिन आउँदै छ । त्यसले प्रतिघण्टा १ हजार लिटर पानी निकाल्छ । आरो मेसिनले निकालेको पानी २४ घण्टा भित्र काठमाडौँं लिएर ल्याबमा परीक्षण गर्नु पर्छ । परीक्षण सफल भएको खण्डमा मात्रै जुम्लामा डायलासिस सेवा सुरु हुने छ ।’ केही सेवाहरू प्रक्रियाहरूकै कारण ढिलाई हुन पुगे पनि प्रभावकारी सेवा प्रवाहमा प्रतिष्ठान गम्भीर रहेको रजिष्टार महतको भनाइ छ ।